चुनाव हारेपछि निशा अधिकारीको प्रतिक्रिया, ‘यो अन्त्य होइन, नयाँ अध्यायको सुरुवात’

काठमाडौं–५ का सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्दै लोकतन्त्रमा चुनाव केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई विचार, एजेण्डा र विश्वासको अभ्यास भएको बताएकी छन्।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Nisha Adhikari's reaction after losing the election, 'This is not the end, but the beginning of a new chapter'

काठमाडौँ — काठमाडौँ–५ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार उनले ३० हजार ७ सय ३७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ५९ मत प्राप्त गरेका छन्।

यस निर्वाचनमा गतिशील लोकतान्त्रिक पार्टीकी संघीय समिति सदस्य तथा महिला विभाग प्रमुख निशा अधिकारीले ९१ मत प्राप्त गर्दै नवौँ स्थान हासिल गरेकी छन्। उल्लेखनीय छ कि बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतद्वारा स्थापना गरिएको गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौँमा प्रतिस्पर्धा गर्ने अधिकारी एक मात्र उम्मेदवार थिइन्।

नतिजापछि सार्वजनिक वक्तव्यमार्फत अधिकारीले काठमाडौं–५ का सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्दै लोकतन्त्रमा चुनाव केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई विचार, एजेण्डा र विश्वासको अभ्यास भएको बताएकी छन्।

उनले चुनावी अभियानमा साथ दिने, सुझाव दिने र आलोचना गरेर अझ राम्रो बनाउन प्रेरित गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरिन्। साथै उनले विजयी पोखरेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। उनले जनताले दिएको जिम्मेवारी पोखरेलले क्षेत्र र देशको हितमा प्रयोग गर्ने विश्वास व्यक्त गरिन्।

अधिकारीले चुनावको नतिजा जे भए पनि आफ्नो प्रतिबद्धता परिवर्तन नभएको उल्लेख गर्दै नागरिकसँगको घरदैलो संवाद र नीति–एजेण्डामा आधारित राजनीति निर्माणको प्रयास निरन्तर जारी रहने बताइन्।

उनले प्रतिनिधि सभाभित्र बलियो प्रतिपक्ष कमजोर हुने सम्भावना देखिएको उल्लेख गर्दै यस्तो अवस्थामा नागरिकको आवाज जोगाउन सडकबाट बलियो लोकतान्त्रिक प्रतिपक्षको भूमिका अझ महत्वपूर्ण हुने धारणा राखिन्।

अधिकारीले चुनावको परिणामले महिलालाई नेतृत्वबाट निरुत्साहित गर्नु नहुने पनि बताइन्। ‘काठमाडौँ–५ बाट एकदिन महिला प्रतिनिधि संसद्मा पुग्ने सपना अझै जीवित छ,’ उनले फेसबुक मार्फत भनिन्, ‘त्यो सपना पूरा गर्न म निरन्तर प्रयास गर्नेछु र अझ धेरै महिलालाई राजनीतिमा अघि ल्याउन काम गर्नेछु।’

उनले राजनीति आफ्नो लागि पद प्राप्तिको यात्रा नभई सेवा, मूल्य र जिम्मेवारीको यात्रा भएको उल्लेख गर्दै आफ्नो राजनीतिक यात्रा अझ जारी रहने भनेकी छन् ।

कान्तिपुर

Link copied successfully