नेकपाले उठाएका १६४ उम्मेदवारमध्ये अधिकांशले हारेका छन् तर दाहाल कुनै जोखिमबिना नै सुरक्षित रहे ।
काठमाडौँ — दस वर्षे सशस्त्र युद्धका ‘सुप्रिम’ कमान्डर थिए, तत्कालीन माओवादी अध्यक्ष हाल नेकपा संयोजक पुष्पकमल दाहाल । सशस्त्र युद्धको आधार क्षेत्र थियो, रुकुम, रोल्पा । २०६४ को निर्वाचनदेखि माओवादीले जित्दै आएको रुकुम, रोल्पा र कालीकोटले नेकपालाई जोगाएको छ ।
नेकपाले उठाएका १६४ उम्मेदवारमध्ये अधिकांशले हारेका छन् तर दाहाल कुनै जोखिमबिना नै सुरक्षित रहे । रोल्पा, काठमाडौं, सिरहा, चितवन, गोरखा हुँदै उम्मेदवार हुन पुगेका दाहाल रुकुम पूर्व सहजै चुनाव जिते । ०७९ को निर्वाचनमा उनले गोरखा २ बाट चुनाव जितेका थिए । नेकपाले जितको रुकुम, कालीकोट, रोल्पा यसअघि माओवादीले जित्दिै आएको छ ।
चुनाव जितेपछि आफू मात्र पूर्वप्रधानमन्त्रीले चुनाव जितेको भन्दै अभिभावकको भूमिका खेल्ने दाबी गरे । तर नेकपा सहसंयोजक माधवकुमार नेपाल रौतहट १ बाट पराजित भएका छन् । त्यस्तै नेता नारायणकाजी श्रेष्ठ सर्लाही ३, भीम रावल अछाम १ पनि पराजित भएका छन् ।
माओवादी लडाकुका डिभिजन कमान्डर महेन्द्रबहादुर शाहीले कालीकोटबाट जितेका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनले जितेका थिए ।
शनिबार बेलुकासम्म नेकपाका उम्मेदवारहरु रोल्पाबाट वर्षमान पुन, डोल्पाबाट धनबहादुर बुढा, सिन्धुपाल्चोक २ बाट युवराज दुलाल, सल्यानबाट रमेशकुमार मल्ल र रुकुम पश्चिम गोपाल शर्माले अग्रता लिएका छन् ।
पूर्व अर्थमन्त्रीसमेत रहेका वर्षमान पुनले ठूलो मतान्तरले अग्रता लिएका छन् । उनले रोल्पाबाट जित्ने करिब निश्चित छ । उनी माओवादी लडाकुका डेपुटी कमान्डर थिए ।
रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेशकुमार मल्ल पनि अघि छन् ।
राजनीतिक विचार र सिद्धान्तभन्दा लोकप्रिय नाराका कारण पुराना दलले हार ब्यहोर्नुपरेको नेता वर्षमान पुनको भनाइ छ ।
‘लहर एकतिर आयो । हामीले लहर ल्याउन सकेनौ । हाम्रो बलियो आधार भएका क्षेत्रमा जित्यौ । एउटा पपुलिजमको हावा चल्यो’ उनले भने ।
