पोखरेलले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘आश्चर्यजनक’ विजय अभियानप्रति पनि शुभकामना व्यक्त गर्दै आगामी दिनमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
काठमाडौँ — एमाले नेता ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका सस्मित पोखरेल लगायत अन्य क्षेत्रबाट विजयी तथा विजयउन्मुख उम्मेदवारहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
पोखरेलले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘आश्चर्यजनक’ विजय अभियानप्रति पनि शुभकामना व्यक्त गर्दै आगामी दिनमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
उनले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता र अखण्डताको रक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए । साथै सुशासन कायम गर्दै नेपाली जनताको हितमा सेवा प्रवाहमा ध्यान केन्द्रित गर्नुपर्ने उनले फेसबुक मा लेखेका छन् ।
पोखरेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेको भन्दै सरकार, निर्वाचन आयोग, सुरक्षा संयन्त्र, राजनीतिक दल, सञ्चार क्षेत्र तथा आम मतदातालाई धन्यवाद दिएका छन् । उनले यो निर्वाचनले केही समयअघि ‘लिक’ बाट बाहिरिएको लोकतान्त्रिक र संवैधानिक प्रक्रियालाई पुनः सही मार्गमा ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै प्रतिकूल र भ्रमपूर्ण राजनीतिक परिस्थितिका बीच पनि ‘सूर्य’ चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति उनले हार्दिक आभार प्रकट गरेका छन् । उनले देश र जनताको चाहना तथा आवश्यकतामा कुनै पनि प्रकारको आँच नपुगोस् भन्ने कामना गर्दै सबैमा शुभकामना व्यक्त गरेका छन्।
