‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका दुई महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेनै पराजित भएका छन्।
काठमाडौँ — ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका दुई महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेनै पराजित भएका छन्।
विशेष महाधिवेशनाट महामन्त्री भएका यी युवा नेताहरु मध्ये काठमाडौं– ५ बाट पौडेल र मोरङ–४ बाट घिमिरे ठूलो मतान्तरका साथ पराजित भएका हुन् ।
महामन्त्री घिमिरेलाई रास्वपाका सन्तोष राजवंशीले २८ हजार १५ मतान्तरमा पराजित गरेका हुन्। राजवंशीले ४० हजार ८ सय ३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८ सय १८ मत मात्रै पाएका थिए।
घिमिरे नेविसंघका पूर्वअध्यक्ष समेत हुन्। गत पुस २७–३० मा भृकुटी मण्डपमा भएको विशेष महाधिवेशनाबट उनी महामन्त्री चुनिएका थिए। निर्वाचन अगाडि पार्टीको नीति र नेतृत्व बदल्नुपर्ने मुद्दाको अगुवाई गरेका घिमिरे प्रतितिनिधिसभा निर्वाचनमा पहिलोपल्ट पराजित भएका हुन्। प्रदेश निर्वाचनमा भने यसअघि एकपटक पराजित भएका थिए ।
तनहुँ निवासी अर्का महामन्त्री पौडेल ०७९ को निर्वाचनमा निर्वाचित भएकै काठमाडौं–५ बाट यसपटक पराजित भएका छन्। पूर्वस्वास्थ्य मन्त्री समेत रहेका पौडेल पनि रास्वपा उम्मेदवारबाटै पराजित भएका हुन्। उनलाई रास्वपाका उम्मेदवार सस्मित पोखरेलले २९ हजार ५ सय ७८ मतान्तरमा पराजित गरेका हुन् ।
पोखरेलले ३० हजार ७सय ३७ मत ल्याउँदा पौडेलले ९ हजार १ सय ५९ मत ल्याएका छन्। उनी पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । तर, पार्टी परिवर्तनको पक्षमा लागेका उनी विशेष महाधिवेशनाट महामन्त्री चयन भएका हुन्।
कांग्रेसका अर्का नेता शेखर कोइराला पनि यसपटक ठूलो मतान्तरका साथ पराजित भएका छन्। कोइराला मोरङ ६ बाट ४२ हजार ६ सय ६३ मतान्तरसहित रास्वपाकी रुबिना आचार्यसंग पराजित भएका हुन्। आचार्यले ५५ हजार ५ सय १३ मत ल्याउदा कोइरालाले १२ हजार ८ सय ५० मत ल्याएका छन् ।
कोइराला विशेष महाधिवेशनको विपक्षीमा रहेका नेता हुन् । उनी यसअघि त्यसै निर्वाचन क्षेत्रबाट निवाृचित भएका थिए।
कांग्रेसका अर्का पूर्व पदाधिकारी बिमलेन्द्र निधिलाई धनुषा– ४ बाट रास्वपाका मनीष झाले पराजित गरेका छन्।
उनलाई झाले २७ हजार १ सय ५० मतान्तरमा पराजित गरेका हुन्। झाले ४३ हजार १ सय ४२ मत ल्याउँदा निधिले १५ हजार ९ सय ९२ मत ल्याएका थिए।
