शनिबार अपरान्ह सार्वजनिक परिणाम अनुसार स्वाँरले नेकपा नेता भीम रावललाई ५ सय २६ मतान्तरले पराजित गरेका हुन् ।
अछाम — अछाम–१ मा २६ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । पूर्व एमाले तथा वर्तमान नेकपा नेता भीम रावलको गढ भत्काउँदै कांग्रेसका भरतकुमार स्वाँरले जित दिलाएका हुन् । शनिबार अपरान्ह सार्वजनिक परिणाम अनुसार स्वाँरले ५ सय २६ मतान्तरले रावललाई पराजित गरेका हुन् ।
स्वाँरले १० हजार ७ सय ५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपाका रावलले १० हजार २ सय ३३ मत प्राप्त गरेका हुन् । जिल्लाका पाका नेता स्वाँरको जितसँगै अछाम–१ मा २६ वर्षपछि कांग्रेसले प्रतिनिधिसभा सदस्यमा पुनरागमन गरेको हो ।
विद्यार्थीकालबाटै स्वाँरको राजनीतिक यात्रा सुरु भएको हो । उनी लामो समयदेखि कांग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् । अछाममा कांग्रेस संगठन मजबुत बनाउन उनले विभिन्न समयमा महत्वपूर्ण भूमिका खेल्दै आएको कांग्रेस नेताहरु बताउँछन् । उनी पार्टीका पूर्वजिल्ला सभापति हुन् । पार्टीभित्र संगठन निर्माण, कार्यकर्ता परिचालन र स्थानीय मुद्दा उठाउने नेताका रूपमा उनलाई चिनिन्छ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी अछाम–१ बाट उम्मेदवार थिए । त्यतिबेला उनी तत्कालीन एमाले नेता रावलसंग पराजित भएका थिए । यसपटक स्वाँरले पुराना प्रतिस्पर्धी रावललाई पराजित गर्दै संसदीय यात्रा थालेका हुन् ।
विजयी भएपछि स्वाँरले अछामी जनताको जीवनस्तर उकास्ने र वर्षौंर्देखि अलपत्र परेका ठूला योजनालाई सञ्चालनमा ल्याउने आफ्नो प्राथमिकता रहने बताएका छन् । जिल्लामा सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै अछामको विकासलाई गति दिन जनतासँग गरेको वाचा पूरा गर्ने उनले बताए । स्थानीय स्तरमा स्वाँरलाई समन्वयकारी र विकासमुखी नेतृत्वका रूपमा हेरिन्छ ।
