सप्तरी-४ मा कांग्रेसको विरासत तोड्दै रास्वपाका सीताराम साह निर्वाचित  

सीतारामले ३६ हजार ४ सय १२ मत ल्याएका छन् । साहका प्रतिस्पर्धी २०७० देखि लगातार तीनपटक जितेका कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत मात्र ल्याउन सके ।

फाल्गुन २३, २०८२

विद्यानन्द राम

Breaking the legacy of the Congress, Sitaram Sah of the Rashtriya Swayamsevak Sangh (RSS) was elected in Saptari-4.

राजविराज — सप्तरी–४ मा रास्वपाका सीताराम साह शनिबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३६ हजार ४ सय १२ मत ल्याएका छन् । साहका प्रतिस्पर्धी २०७० देखि लगातार तीनपटक जितेका कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत मात्र ल्याउन सके ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी वाँबी सिंहले १० हजार २ सय ८० मत ल्याइन् । नेपाली कम्युनिस्ट पार्टीकी रुबीकुमारी कर्णले १ हजार ७ सय ९ मत ल्याउँदा नेकपा एमालेबाट गंगाप्रसाद चौधरीले १ हजार १ सय ७७ र जनमत पार्टीका जितेन्द्रकुमार साहले ९ सय ९५ मत ल्याएका छन् ।

२०४१ मा सरकारी सेवामा प्रवेश गरेका निर्वाचित साह भू–संरक्षण अधिकृतबाट राजीनामा दिएर २०७४ मा कांग्रेसबाट सप्तरी–४(१) मा प्रदेशसभा सदस्य लडेका थिए । नेविसंघबाट विद्यार्थी राजनीतिमा लागेका उनी निजामति कर्मचारी यूनियनका बरिष्ठ सल्लाहकार हुँदै कांग्रेसका क्षेत्रीय सभापति पनि रहे । प्रदेशसभा सदस्यमा उनले ११ हजार ३ सय ९५ मत ल्याएका थिए ।

२०७९ मा पुनः कांग्रेसबाटै खडक नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका थिए । नगर प्रमुख लड्दा साह ३ हजार ४ सय ३६ मत ल्याएर तेस्रो स्थानमा थिए । उनी पछिल्लो पटक कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका थिए । खडक नगरपालिका–७ का साहका दुई छोरा र श्रीमति छन् ।

कुल १ लाख ९ हजार ५ सय ६६ मतदाता रहेको यहाँ ३९ हजार ७४ महिला र ३२ हजार ९ सय १२ पुरुष गरी ७१ हजार ९ सय ८६ जनाले मत खसाएका थिए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully