पूर्णबहादुरको विरासत जोगाउँदै भाई विष्णुबहादुरको संसदीय यात्रा

पहिलोपल्ट संसदीय निर्वाचनमा भाग लिएका विष्णुबहादुर कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका साइला भाइ हुन् ।

फाल्गुन २३, २०८२

कृष्णप्रसाद गौतम

Bhai Bishnu Bahadur's parliamentary journey preserving Purna Bahadur's legacy

सुर्खेत — सुर्खेत–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । उनी २६ हजार ८ सय ९७ मत ल्याएर विजयी भएका हुन् । एमालेका ध्रुव शाहीले १८ हजार ८ सय ९० मत प्राप्त गरे ।

उनले पहिलोपल्ट संसदीय निर्वाचनमा भाग लिएका हुन् । उनी कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका साइला भाइ हुन् । पूर्णबहादुरले यही क्षेत्रबाट २०४८ सालदेखि निर्वाचन जित्दै ५ पल्ट सांसद बने । उनी २०७४ सालमा यही क्षेत्रबाट पराजित भए भने एकपल्ट समानुपातिक सांसद बने ।   

कांग्रेस जिल्ला उपसभापति रहेका खड्का २०३६ सालमा बहुदलको पक्षमा उभिएर राजनीति सुरु गरेका थिए । ‘त्यसबेला देशमा बहुदल चाहिन्छ भन्दै राँके जुलुस, भित्तेलेखन गर्ने र बहुदलको पक्षमा पर्चा पम्पलेट छपाएर वितरण गर्नेलगायत काम वीरेन्द्रनगरमा मेरै नेतृत्वमा भएको थियो,’ उनले भने, ‘२०४६ सालको जनआन्दोलनमा पनि यहाँको नेतृत्व मैले नै लिएको थिए, त्यसक्रममा पहिलो पटक ११ दिन र दोस्रो पटक २६ दिन हिरासतमा बस्नुपर्‍यो ।’ नेपाली कांग्रेसको १० औं महाधिवेशनमा उनी साविकको वीरेन्द्रनगर नगरपालिका–८ को वडासभापतिमा निर्वाचित भए भने १४ औं महाधिवेशनमा प्रतिनिधिसमेत जितेका थिए । 

२०४२ सालमा सुर्खेतको वीरेन्द्रनगरमा माया मेडिकल हल नामक व्यवसाय सुरु गरेका खड्काले अहिले माया नर्सिङ होम सञ्चालन गरिरहेका छन् । २०५० सालमा मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना गरेका खड्का अहिले मध्यपश्चिम यातायात प्रालिको अध्यक्षसमेत छन् । उनले ३२ वर्षदेखि यो संस्थाको नेतृत्व गर्दै आइरहेका छन् भने यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय उपाध्यक्षसमेत भइसकेका छन् । वीरेन्द्रनगरमा उनको माया आयल स्टोरसमेत सञ्चालनमा छ । उनी २०२४ साल कात्तिक ६ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ इत्राममा जन्मिएका हुन् । उनले एसएलसीसम्मको पढाइ पूरा गरेका छन् ।    

आफूले नेतृत्व गरेका व्यवसायमार्फत कम्तीमा एक हजार युवालाई रोजगारी दिएको, मध्यपश्चिम विश्वविद्यालय स्थापनादेखि शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा यसअघि पनि योगदान पुर्‍याएको उनको भनाइ छ ।

नवनिर्वाचित सांसद खड्काले जनताप्रति बफादार रही नेपालको संविधानको पालना गरी कर्णाली प्रदेशलाई समृद्ध बनाउने आफ्नो योजना रहेको बताए । ‘राजनीति, व्यवसाय र समाजसेवालाई सँगसँगै लिएर यो अवस्थासम्म पुगेको हु, मलाई यहाँका समस्याबारे अवगत छ, ती समस्यालाई समेटेर कानुन निर्माण गर्ने र विकासमा प्रतिवद्ध छु,’ उनले भने, ‘निर्वाचनको बेला मतदातासँग गरेका वाचालाई योजनावद्धरुपमा पूरा गर्ने मेरो योजना छ ।’ 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully