पराजयपछि महेश बस्नेतले भने- जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्छु

निर्वाचनपछि जारी गरेको वक्तव्यमा बस्नेतले यसपटकको परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने विश्वासका साथ त्यसलाई सम्मान गर्ने बताएका हुन्।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

After the defeat, Mahesh Basnet said - I respectfully accept the people's decision.

भक्तपुर — भक्तपुर–२ को निर्वाचन परिणामपछि नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

निर्वाचनपछि जारी गरेको वक्तव्यमा बस्नेतले यसपटकको परिणाम आफ्नो पक्षमा नआए पनि लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने विश्वासका साथ त्यसलाई सम्मान गर्ने बताएका हुन्।

उनले उक्त निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

बस्नेतले सूर्य चिन्हमा मतदान गरी आफूमाथि विश्वास गर्ने सम्पूर्ण मतदाता, साथै चुनावी अभियानमा दिनरात खटिने पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै नहार्ने बताएका छन्। अब आफूहरूको भूमिका रचनात्मक प्रतिपक्षको हुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने बताएका छन्।

बस्नेतले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताको सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कान्तिपुर

Link copied successfully