भोटखोला गाउँपालिकास्थित थुदाम मतदान केन्द्रमा ६३ मतदाता रहे पनि १३ मत मात्रै खसेको छ ।
संखुवासभा — संखुवासभास्थित भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका मौसमका कारण सदरमुकाम ल्याउन नसक्दा मतगणनामा ढिलाइ भएको छ । उक्त केन्द्रमा १३ मत मात्रै खसेको छ । त्यहाँ ६३ मतदाता थिए ।
सेनाको हेलिकोप्टरले भौगोलिक रूपमा विकट मानिएका भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका ल्याउने प्रयास गरे पनि थुदाममा पानी परिरहेकाले ल्याउन सकिएको छैन । सेनाको हेलिकोप्टर मतदान केन्द्रमा अवतरण हुन नसकेको खाँदबारीमा रहेको इन्द्रदल गुल्मले जनाएको छ ।
भोटखोला गाउँपालिकाको रिदाक र किमाथांका तथा सिलिचोङ गाउँपालिका-५ को काम्पेक र गौथलाको मतपेटिका ल्याइएको डीएसपी कुमारप्रसाद मैनालीले बताए । कुल १ सय २४ मतदान केन्द्रको पैदल मार्गबाट मतपेटिका गणनास्थलमा ल्याइसकिएको छ । जिल्लामा एक अस्थायीसहित १६५ मतदान केन्द्र छन् ।
