पुराना दलले खाएको धक्का र रास्वपाले पाएको जनादेश

पुराना दलकाे सत्ता-खेलका कारण आम मानिसमा निराशा र आक्रोश पैदा भएको थियो । त्यसबाट उकुसमुकुस मतदाताले यो निर्वाचनमा ‘ब्यालेट’ विद्रोह गरेका छन् ।

फाल्गुन २२, २०८२

गंगा बीसी

The setback suffered by the old parties and the mandate received by the Rashtriya Swayamsevak Sangh (RSS).

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपामाथि ‘खतराको घण्टी’ बज्ने स्पष्ट संकेत प्रारम्भिक मतगणनाले देखाएको छ । ०७९ को आम निर्वाचनमा चौथो स्थानमा रहेको रास्वपा अहिलेको प्रारम्भिक नतिजा हेर्दा पहिलो पार्टी बन्ने निश्चितजस्तै छ ।

काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहको ‘इन्ट्री’ सँगै सुरु भएको ‘घण्टी’ को लहरले रास्वपा मुलुकको सबभन्दा ठूलो पार्टी बन्दै छ । जेन-जी आन्दोलनअघि सरकारको रहेका कांग्रेस-एमालेले यो निर्वाचनमा सबभन्दा ठूलो धक्का खाएका छन् । विघटित संसदमा ८९ सहित पहिलो भएको कांग्रेस र ७८ सहित दोस्रो दल एमालेले जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिको ठूलो मूल्य चुकाउने अवस्थामा पुगेका छन् ।

त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । तत्कालीन माओवादी र एकीकृत समाजवादी (हाल नेकपा) प्रतिपक्षमा थिए । प्रतिपक्षको हैसियतले कांग्रेस-एमाले गठबन्धनलाई खबरदार गरे पनि नजर भने सत्तातिरै थियो । गठबन्धन सरकारलाई करिब दुई तिहाइको दम्भ थियो ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेस रुपान्तरण भएको थियो । लामो समयदेखि पार्टीमा नेतृत्व हस्तान्तरणको मुद्दा उठेको थियो । थापाको नेतृत्वमा निर्वाचनमा होमिएको कांग्रेस लामो समय सत्ताको अभ्यासका रहेका कारण मतदाताले रुचाएनन् ।

त्यस्तै भदौ तेस्रो साता एमाले महाधिवेशनले केपी ओलीलाई अध्यक्षमा चयन गरेको थियो । जेन-जी आन्दोलन हुनुमा जिम्मेवार रहेको ओली सरकारका कारण मतदातामा आक्रोश मतमा रुपान्तरण हुँदा एमालेलाई ठूलो धक्का लाग्ने देखिएको छ ।

जेन- जी आन्दोलनलाई समर्थन गरे पनि नेकपाको पक्षमा जनमत देखिएको छैन । नेकपा चौथो दल हुने संघर्षमा देखिन्छ । 

२०७२ मा संविधान जारी भएपछि आलोपालो सरकारको नेतृत्व गरेका कांग्रेस, एमाले र नेकपाले जनअपेक्षा अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण, सरकारी सेवा, रोजगारी सृजना गर्न सकेनन् । सत्ताको खेलका कारण आम मानिसमा निराशा र आक्रोश पैदा भएको थियो ।

त्यही निराशा र आक्रोशलाई उनीहरुले आशा खोज्दै यो प्रतिनिधिसभा निर्वाचनमा ‘ब्यालेट’ विद्रोह गरेका छन् । मतदाताले आशा खोज्दै रास्वाका वरिष्ठ नेता ‘बालेन’ लाई जनादेशमार्फत मुलुकको नेतृत्वमा पुर्‍याउने गरी रास्वपालाई रोजेका छन् । निर्वाचनको पूर्ण परिणाम आएलगत्तै रास्वपाको परीक्षा सुरु हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-१ बाट विजय सुरुवात गरेको छ । प्रारम्भिक मतगणना अनुसार रास्वपाले कांग्रेस, एमाले र नेकपा रास्वपाभन्दा निकै पछि छाडेर अघि बढेको छ ।

पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष ओलीका लागि झापा-५ को मतगणनाले जोखिम देखाएको छ । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निकै पछि पारेका छन् ।

त्यस्तै रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उछिनेर धेरै अघि बढिसकेका छन् । दाङ-२ मा महासचिव शंकर पोखरेललाई जोखिम छ । 

काठमाडौं-५ मा एमाले नेता ईश्वर पोखरेल तेस्रो स्थानमा छन् । रास्वपाका सस्मित पोखरेले निकै नै अघि छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेल पनि सस्मितभन्दा धेरै पछि छन् । त्यस्तै काठमाडौं-४ मा रास्वपाका पुकार बम एमाले सचिव राजन भट्टराईभन्दा निकै अघि छन् । बमलाई कांग्रेसका सचिन तिमल्सेनाले पछ्याइरहेका छन्। 

सर्लाही-४ मा कांग्रेस सभापति गगन थापालाई जित्न उत्तिकै कठिन छ । रास्वपाको तीव्र लहरका कारण थापासहित वरिष्ठ नेताहरु जोखिममा परेका हुन् । मोरङ- ४ मा कांग्रेसका अर्का महामन्त्री गुरुराज घिमिरे तेस्रो स्थानमा छन् । त्यहाँ पनि रास्वपाका सन्तोष राजवंशी धेरै अघि छन् । कांग्रेस नेता शेखर कोइराला पनि मोरङ ६ मा निकै पछि छन् । त्यहाँ पनि रास्वपाकी उम्मेदवार रविना आचार्य धेरै अघि छन् ।

उम्मेदवार भएका एमाले पदाधिकारीहरुमा सचिव भानुभक्त ढकाल झिनो मतले अघि छन् । एमाले महासचिव शंकर पोखरेललाई दाङ- २ मा जित्ने सम्भावना न्यून छ ।

यसअघि पहिलो र दोस्रो भएका कांग्रेस र एमाले दोस्रो र तेस्रो स्थानमा झर्नेछन् । तर संसद्को प्रतिनिधित्वका हिसाबले निकै सानो आकारमा हुने जारी मतगणनाले संकेत गरेको छ ।

रुकुम पूर्वबाट उम्मेदवार भएका नेपाली कम्युनिस्ट पार्टी संयोजक पुष्पकमल दाहाल भने अरु उम्मेदवारभन्दा निकै अघि छन् । माओवादीको आधार क्षेत्रमा रास्वपाको प्रभाव न्यून हुँदा उनलाई जित निकाल्न कठिन छैन । नेपाली राजनीतिका चतुर खेलाडी दाहाल ‘हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू’ पर्ने नीतिअनुसार रुकुम पूर्व पुगेका थिए । 

अर्को, माओवादीको राम्रो प्रभाव रहेको कालीकोटमा पनि नेकपाको अग्रता छ । महेन्द्रबहादुर शाही कांग्रेसका हर्षबहादुर बमभन्दा अघि छन् । त्यहाँ रास्वपाका प्रकाश न्यौपाने पाँचौ स्थानमा छन् । 

नेकपाले माओवादी प्रभाव रहेको रुकुम पश्चिम, रोल्पा र सल्यानमा जित निकाल्ने सम्भावना रहेको दाबी गरेको छ । ०७९ को आम निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी यसपटक चौथो स्थानमा हुनेछ ।

प्रारम्भिक मत गणनाको रुझानअनुसार संयोजक दाहालसँग संसद्‍मा ‘म्याजिक नम्बर’ त नहुने देखिएकाे छ । संसद्‍मा उनको उपस्थिति भने हुने देखिएको छ । 

रास्वपाको लहरले राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेश केन्द्रित दल जनता समाजवादी नेपाल, जनमतलाई पनि प्रभाव पार्ने देखिएको छ । 

‘जति ठूलो जित, त्यति धेरै संयमता जरुरी’
लामो र संघर्षपूर्ण इतिहास बोकेका कांग्रेस, एमाले र नेकपा सानाे आकारमा खुम्चिएपछि संसद्‍मा उनीहरुको भूमिका महत्वपूर्ण हुने छ । रास्वपा संसद्काे ठूलो र सरकारको नेतृत्व गरेको दलका हैसियतले प्रतिपक्ष दलहरुलाई गर्ने व्यवहार र राष्ट्रिय मुद्दामा कसरी सहकार्य गर्छ भन्ने महत्वपूर्ण विषय भएको राजनीतिशास्त्रीले बताएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले रास्वपाले आफूले पाएको जनादेशको उच्चतम कदर गर्दै संयमताका साथ मुलुक सञ्चालन गर्ने परीक्षा सुरु भएको बताए । ‘अहिलेसम्मको मतगणना अनुसार रास्वपाले पहिलो जनमत पाएर ठूलो दल हुने देखिएको छ । ठूलो दलका हैसियतले सरकारको नेतृत्व गर्नेछ,’ उनले भने, ‘लोकतन्त्रमा जति ठूलो जित, त्यति संयमता अपनाएर विपक्षी दलसँग काम गर्नुपर्ने हुन्छ । अब रास्वपाको परीक्षा सुरु भएको छ ।’

राष्ट्रिय सभामा रास्वाको प्रतिनिधित्व नभएको अवस्थामा विपक्षीहरु कांग्रेस, एमाले र नेकपालाई विश्वासमा लिएर राष्ट्रिय मुद्दामा विवेक र बुद्धिमतापूर्वक काम गर्नुपर्ने पोखरेलको भनाइ छ । ‘आफूले पाएको जनादेशको सही सदुपयोग गर्न रास्वपाले कति विवेक पुर्‍याउँछ, त्यसका आधारमा उसको सफलता देखिनेछ,’ उनले भने, ‘अब रास्वपाले जनचाहना अनुसार काम गर्न सामूहिक बुद्धिमता आवश्यक पर्नेछ ।’

गंगा

Link copied successfully