धमलाको प्रचारशैली चर्चामा रहेको थियो
काठमाडौँ — पूर्वपत्रकार ऋषि धमला रौतहट-४ मा निकै पछाडि परेका छन् । प्राइम टीभीका सञ्चालकसमेत रहेका धमला आम जनता पार्टीका उम्मेदवार हुन् । अहिलेसम्म रौतहट-४ मा धमलाले १० मत मात्र पाएका छन् । अहिलेसम्म ५ हजार ९२ मत गनिएको छ ।
रौतहट-४ मा रास्वपाका गणेश पौडेल २ हजार २ सय ५ मतसहित अग्रस्थानमा रहेका छन् । त्यस्तै कांग्रेसका देवप्रसाद तिमल्सेना ६ सय ९२ मतसहित दोस्रो स्थानमा रहँदा नेकपाका रामकुमार भट्टराई ६ सय ३६ मतसहित तेस्रो स्थामा रहेका छन् ।
धमलाको प्रचारशैली चर्चामा रहेको थियो । रौतहट–४ मा उनले जेरी बनाउने, उखु काट्ने, उखु बोक्ने, ट्याक्टर चलाउने, साइकल चलाउने, आफ्नो घाँटीमा भएको माला निकालेर कार्यकर्तालाई लगाइिदने, कतै सिकर्मीको सिको गर्दै काठ काट्ने, चटपट पसल पुगेर चटपट बनाउने, कतै आफ्ना मतदातालाई अँगालो हालेर रुने त कतै बिरामीलाई उपचारको लागि खर्च जुटाउन मद्दत गर्न आग्रह गर्ने जस्ता अनेकथरी क्रियाकलाप गरेका थिए ।
