बिना गुरूङले ३७ हजार ७ सय ५० मत प्राप्त गर्दा कांग्रेसका मनोज गुरूङले १२ हजार ७ सय ८० मत प्राप्त गरे ।
पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरूङ निर्वाचित भएकी छन् । उनले निकटतम् प्रतिस्पर्धी कांग्रेसका मनोज गुरूङलाई फराकिलो मतान्तरले हराउँदै निर्वाचित भएकी हुन् ।
कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामा ६५ हजार ४ सय ७ (६०.८१ प्रतिशत) मत खसेको थियो । बिना गुरूङले ३७ हजार ७ सय ५० मत प्राप्त गर्दा कांग्रेसका मनोज गुरूङले १२ हजार ७ सय ८० मत प्राप्त गरे । ०७९ मा उक्त क्षेत्रमा निर्वाचित एमालेका दामोदर पौडेल वैरागी यसपल्ट तेस्रो भए । उनले ७ हजार ९ सय ६ मत मात्रै प्राप्त गरे ।
निर्वाचित गुरूङ पोखरामा रहेर विभिन्न सामाजिक संघसंस्था र व्यवसायमा आबद्ध छिन् । उनी रास्वपाकी गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुन् । रास्वपाबाट गण्डकीमा उनी एक मात्र महिला उम्मेदवार थिइन् ।
कास्की ३ मा ३० हजार ९ सय ९ पुरुष, ३४ हजार ४ सय ९७ महिला र १ अन्य मतदाताले मतदान गरे । २ हजार ७ सय ५८ मत बदर भयो । यहाँ १६ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए ।
