रञ्जुलाई बधाई दिँदै रवीन्द्रले भने- 'रूपान्तरणप्रतिको दृढता सदा कायम रहोस्'

काठमाडौं-१ बाट रास्वपाकी रञ्जु दर्शनाले जित हासिल गरेपछि सोही क्षेत्रबाट पराजित मिश्रले बधाई दिएका हुन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Congratulating Ranju, Rabindra said, ”May your determination towards transformation always remain intact.”

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रञ्जु दर्शनालाई सोही निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले बधाई दिएका छन् । 

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शनाले १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन् । यो क्षेत्रबाट कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याएका भने राप्रपाका मिश्र ३ हजार ९ सय ७२ मत प्राप्त गरे ।

यो निर्वाचन क्षेत्रबाट राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्र लगातार तेस्रोपटक पराजित भएका हुन् । यो क्षेत्रमा एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए ।

रञ्जु दर्शनाले जित हासिल गरेपछि मिश्रले बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सम्भवत: मैले १०/११ वर्षअघि तपाईंको यही फोटो भएको लेख सेयर गर्दै, तपाईंको प्रशंसा र तपाईंप्रति आशा व्यक्त गरेको थिएँ । आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु । भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस् ।'

मिश्र विवेकशील साझा पार्टीको प्रमुख हुँदा रञ्जु सोही पार्टीमा संलग्न थिइन् । 

कान्तिपुर

Link copied successfully