मौसम खराबीका कारण आज हेलिकप्टर उडान हुन नसक्दा मतपेटिका ढुवानी रोकिएको हो । अब शनिबार मात्र मतपेटिका ढुवानी हुने प्रहरीले जनाएको छ ।
गोरखा — उत्तरी गोरखाका १४ वटा मतदान केन्द्रको मतपेतिका संकलन हुन नसक्दा गोरखा–१ मा मतगणना आज नहुने भएको छ ।
भौगोलिक विकटताका कारण चुननुब्रीको २३ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्ने तयारी गरिएको थियो । तर शुक्रबार दिनभर दुई उडानमा ९ केन्द्रको मात्र मतपेटिका ढुवानी भएको छ । १४ केन्द्रको मतपेटिका मतगणना स्थल ल्याउन सकिएको छैन ।
चुमनुब्री–३ सिर्दिवासको बौद्धहिमाली आधारभूत विद्यालय न्याक, बुद्ध मावि फिलिम, पाङसिङ आधारभूत विद्यालय पाङसिङ, फिलिम आधारभुत विद्यालय पाती र सिदुङ आधारभूत विद्यालय सरस्युङ केन्द्रको मतपेटिका गणना स्थल ल्यान बाँकी छ । त्यस्तै चुमनुब्री–४ को हिमचुली आधारभूत विद्यालय छाक, प्रोक आधारभूत विद्यालय प्रोक, क्वाक आवि क्वाक, क्राक आधारभूत विद्यालय क्राक, गुम्बा हिमाली आधारभूत विद्यालय धुम्मत, गाविस भवन स्यो, सामुदायिक भवन ल्हो, स्वास्थ्य चौकी नामरुङ लार्केबजार केन्द्रको मतपेटिका संकलन हुन बाँकी छ ।
मौसम खराबीका कारण हेलिकप्टर उडान हुन नसक्दा मतपेटिका ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । बाँकी रहेका मतपेटिका शनिबार हेलिकप्टरमार्फत ढुवानी गरिने छ । गोरखा–१ को मतगणना स्थल जिल्ला समन्वय समितिको हलमा तोकिएको छ ।
