बाजुरामा ७ बजेबाट मतगणना गरिने

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा बसेको बैठकले मतपेटिका मतगणनास्थलमा पुगेपछि बेलुकी ७ बजेबाट मतगणना गर्ने गरी सहमति गरेको हो ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Counting of votes in Bajura will begin at 7 pm.

बाजुरा — बाजुराका १ सय १८ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रको मतपेटिका जिल्लामा आइपुगेपछि शुक्रबार बसेको सर्वदलीय बैठकले बेलुकी ७ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा बसेको बैठकले मतपेटिका गणनास्थलमा पुगेपछि बेलुकी ७ बजेबाट मतगणना गर्ने गरी सहमति गरेको हो । 

हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा चार मतदान केन्द्रका नेपाली सेनाको हेलिकप्टरमा मतपेटिका ल्याइएको भएपनि हिमाली गाउँपालिका १२ मा रहेको ठूलाकोट आधारभूत विद्यालय कोट मतदान केन्द्रको मतपेटिका दिउँसो ३ बजे मात्र मतगणनास्थलमा पुगेकाले बेलुकी ७ बजेबाट बत गणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिएका छन् । 

बिहीबार सम्पन्न भएको मतदानपछि दुर्गम तथा सडक पहुँच नपुगेका मतदान केन्द्रमा ढिलो गरी मतपेटिका पुगेकाले आज बेलुकीबाट मतगणना गर्ने गरी सहमती भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । 

यहाँका ७७ मतदान स्थलको १ सय १८ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र  थिए । 
यहाँका ८७ हजार ८६१ मतदाता मध्ये ४५ हजार ३९० मत खसेको थियो । कुल मतदातासंख्याको ५१ दशमलव ६६ प्रतिशत हो । एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार रहेका छन् ।

कान्तिपुर

Link copied successfully