मुख्य निर्वाचन अधिकृत चुरामन खड्का भन्छन्, '४४ वटा मतदान केन्द्रको मतगणना सक्यौं । बढीमा दुई घण्टा भित्र अन्तिम मत परिणाम आउँछ ।’
काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर १ मा ८ हजार मत गन्न बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने (दर्शना) विजयी नजिक पुगेकी छन् । काठमाडौं क्षेत्र नम्बर १ लाई सुरुवातदेखि नै चासोका रुपमा हेरिँदै आएको छ ।
अब १३ वटा मतदान केन्द्रको मात्र मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए । ‘४४ वटा मतदान केन्द्रको मतगणना सकिसकेको छ,’ उनले भने, ‘चाँडै सम्पन्न गर्ने तयारीमा छौं, बढीमा दुई घण्टा भित्र अन्तिम मत परिणाम आउँछ ।’
अहिलेसम्म २३ हजार २ सय २७ मतगणना गरी सकिएकोमा रास्वपाकी दर्शनाले १२ हजार ८ सय ४२ मत पाएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ५ हजार २ सय १६ मत पाएका छन् ।
