अर्को चुनावका बेला विदेशिन नपरोस् र स्वदेशमै रोजगारी, गुणस्तरीय शिक्षा र व्यवसाय गर्ने वातावरण बनोस् भन्ने उनीहरूको कामना छ ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहलले पूरै मुलुक उत्सवमय बनेको छ । आममतदाता बिहीबार हुने मतदानमा सहभागी हुन आतुर छन् । तर, केही मतदाता भने मतदानकै पूर्वसन्ध्यामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘डिपार्टर’ लाइनमा छन् । वैदेशिक रोजगारी, उच्च शिक्षा तथा अन्य प्रयोजनका लागि नेपाल छाड्नुपर्ने बाध्यताले उनीहरूले मतदान गर्न नपाउने भएका हुन् ।
नागरिकले विरलै पाउने यो अवसर गुमेकामा दुःखी हुँदाहुँदै पनि उनीहरू निर्वाचनमार्फत मुलुकमा शान्ति, स्थायित्व र आर्थिक समृद्धि ल्याउने नेतृत्व आउनेमा विश्वस्त छन् । अर्को चुनावका बेला विदेशिन नपरोस् र स्वदेशमै रोजगारी, गुणस्तरीय शिक्षा र व्यवसाय गर्ने वातावरण बनोस् भन्ने उनीहरूको कामना छ ।
तिनैमध्येका एक हुन् कुलदेव पुरी । ठूलो सुटकेस र रातो भिर्ने झोला छेउमा राखेर विमानस्थलको टर्मिनल परिसरमा भेटिएका वीरगन्ज निवासी पुरी मलेसिया जान लागेका हुन् । २७ वर्षका पुरी ३ वर्ष मलेसियामा काम गरेर दुई महिनाको बिदामा घर आएका थिए । उनी बुधबार साँझ ९ बजेको उडानबाट मलेसिया जान लागेका थिए । चुनावको अघिल्लो दिन विदेशिनुपर्दा दुःख लागेको उनले बताए । कम्पनीले नै टिकट काटिदिएकाले अघिल्लो दिन नै देश छाड्न बाध्य भएको उनले बताए । उनी जुन पार्टीले जिते पनि देशमा विकास हुनुपर्ने बताउँछन् । उनले भने, ‘जोसुकैले जितोस् तर हामीलाई नेपालमै जागिर मिलोस् । आमाबुबासँगै बस्न पाइयोस् ।’
नेपालगन्जका राधेश्याम पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै भेटिए । २२ वर्षीय राधेश्याम पनि वैदेशिक रोजगारीका लागि जाँदै थिए । दुई वर्षपछि बिदामा एक महिनाका लागि घर आएका राधेश्याम देशमै जागिर नपाएका कारण विदेश गएको बताउँछन् । ‘नेपालमै काम खोजेको थिएँ । जति खोज्दा पनि भनेको जस्तो काम पाइनँ,’ उनले भने, ‘बाध्यताले गएको हो । अर्काको देशमा खुसीले काम गर्न जान कसलाई मन हुन्छ र ?’
राधेश्याम आफूले भोट हाल्न नपाए पनि राम्रो उम्मेदवारले जितोस् भन्ने चाहन्छन् । ‘महँगी घटोस् र हरेक व्यक्तिले देशमै केही गर्न सक्ने वातावरण बनोस्, त्यति भए पुग्छ,’ उनले भने ।
विमानस्थलमै भेटिएका ताप्लेजुङ–३ का २४ वर्षीय छवि विश्वकर्मा पनि सुटकेस र मादल छेउमै राखेर साथीसँग फोटो खिचिरहेका थिए । उनी रोजगारीको सिलसिलामा २० वर्षकै उमेरमा मलेसिया गएका थिए । चार वर्ष मलेसियामा काम गरेर दुई महिनाको छुट्टीमा घर आएका छवि बुधबार फर्किंदै थिए । उनले पनि मतदानको पूर्वसन्ध्यामा विदेश जानुपर्दा दुःख लागेको सुनाए । ‘साथीहरू चुनाव लागेर रमाइलो गर्दैगर्दा आफू भने विदेश जानुपर्यो, मन त दुखेको छ नि,’ उनले भने, ‘फेरि परिवार पनि पाल्नै पर्यो । चुनाव भनेर रोकिने कुरा पनि भएन ।’
११ कक्षा पढ्दै गर्दा विदेश पुगेका छवि पढेपछि युवाहरूले आफ्नै देशमा जागिर पाऊन् भन्ने
चाहन्छन् । उनले भने, ‘आगामी दिनमा सबैले आफ्नै देशमा जागिर, व्यवसाय गर्न पाऊन् । बाध्यताले विदेश जान नपरोस् ।’
उच्च शिक्षा हासिल गर्न विदेश जानेहरू पनि चुनावले देशमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने चाहन्छन् । चुनावमा राम्राले जित्ने र युवाले देशमै रोजगारी
पाउने वातावरण बन्नेमा उनीहरू आशावादी देखिन्छन् । त्यसैमध्येकी एक हुन् नवलपुर कावासेती–३ की १९ वर्षीया अरुणा सुवेदी । राष्ट्रिय झन्डा काँधमा राखेर परिवारसँग फोटो खिच्दै गरेकी उनी उच्च शिक्षाका लागि दक्षिण कोरिया जान लागेकी हुन् । उनले भनिन्, ‘भविष्य
उज्ज्वल होस् भनेर विदेश जान लागेकी हुँ । कम उमेरमै विदेशिनुपर्दा नरमाइलो लागेको छ ।’ मतदानको अघिल्लो दिन विदेशिन पर्दा दुःख लाग्नु स्वाभाविक भएको
उनले सुनाइन् । ‘पहिलो पटक मतदान गर्दै थिएँ । त्यही पनि दिन पाइनँ,’ उनले भनिन्, ‘ज्यान विदेशमा भए
पनि मन आफ्नै देशमा हुन्छ ।’ उनले उच्च शिक्षा
साथै रोजगारका लागि आगामी दिनमा कोही पनि विदेश जान नपरोस् भन्ने चाहेको सुनाइन् ।
छोरीलाई विदेश पठाउन आएकी उनकी आमा भगवती सुवेदीले सन्तानले देश छोडेर विदेश रोज्दा निकै दुःख लागेको सुनाइन् । आँसु पुछ्दै उनले भनिन्, ‘छोरी सानै छिन् । जति सम्झाउँदा पनि विदेश जाने भनेपछि पठाउन लागेका हौं ।’ तीन महिना अगाडि छोरालाई पनि उच्च शिक्षाका लागि विदेश पठाएको उनले सुनाइन् । उनले भनिन्, ‘विदेश नजाओ भनेर कति सम्झाएँ तर यहाँ बस्ने वातावरण नै भएन भन्छन् ।’
तिलोत्तमा–१० का २० वर्षीय पुरन चौधरी पनि उच्च शिक्षाका लागि दक्षिण कोरिया जान लागेका हुन् । छोरालाई विदेश पठाउन उनकी आमा पनि काठमाडौं आएकी छन् । पुरनको छेउमै बसेकी आमा छोरोलाई अर्काको देश पठाउनुपर्दा दुःखी मुद्रामा देखिन्थिन् । पुरन पनि मतदानको अघिल्लो दिन विदेश जानुपरेकामा दुःखी देखिन्थे । उनी भन्छन्, ‘भोट दिन त मन थियो नि । उता पढाइ सुरु भइसक्यो । टिकट पनि यही बेलाको छ । परिस्थिति हेर्दा चुनावभन्दा ठूलो आफ्नो भविष्य हो जस्तो लाग्यो ।’ उनी बुधबार बेलुकाको उडानबाट कोरिया जाँदै थिए ।
