मतदानपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन गराउन सरकार र आयोगले देखाएको सक्रियता र प्रतिकूलताबीच पनि निर्वाचन प्रक्रियालाई अघि बढाउन सफल भएकोमा दुवै निकायप्रति आभार व्यक्त गरेका हुन् ।
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । मतदानपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचन गराउन सरकार र आयोगले देखाएको सक्रियता र प्रतिकूलताबीच पनि निर्वाचन प्रक्रियालाई अघि बढाउन सफल भएकोमा दुवै निकायप्रति आभार व्यक्त गरेका हुन् ।
उनले भने, 'निर्वाचनलाई समयमै सम्पन्न गर्न निर्वाचन आयोग र सरकारले खेलेको भूमिकाका लागि हामी हार्दिक आभार प्रकट गर्छौं ।' विभिन्न प्रतिकूलताका बाबजुद सबै राजनीतिक दलहरूले उत्साहका साथ निर्वाचनमा भाग लिएको उल्लेख गर्दै थापाले यसले नेपालका राजनीतिक दल र नागरिकको लोकतन्त्रप्रतिको उच्च प्रतिबद्धतालाई उजागर गरेको जिकिर गरे ।
थापाले मतदान प्रक्रिया संविधानलाई सही मार्गमा फर्काउने महत्त्वपूर्ण कडी भएको बताएका छन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले निर्वाचन मुलुकको राजनीतिक स्थिरताका लागि अनिवार्य रहेको बताए ।
भाद्र २३ र २४ गतेका घटनाक्रमले संविधान ‘लिक’ बाहिर जाने हो कि भन्ने संशय र अनिश्चितता थपेको उल्लेख गर्दै थापाले भने, 'संविधान लिक बाहिर गइसकेपछि लामो समयसम्म अनिश्चितता हुन्छ कि भन्ने हामी सबैलाई भय र आशंका थियो । त्यसैले, यो निर्वाचन संविधानलाई पुनः ट्र्याकमा ल्याउनका लागि अनिवार्य थियो ।'
निर्वाचन हुने-नहुने भन्ने संशयका बीच देशैभर शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सुरु हुनु सुखद पक्ष रहेको उनले बताए । मतदानमा देखिएको नागरिकको उत्साहले निर्वाचन निर्बाध सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
