हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिनेमा ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणनास्थलमा पुन्याउने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौँ — निर्वाचन आयोगले दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने बताएको छ । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि मतगणना कार्य तत्काल सुरू हुने बताए ।
हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिनेमा ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणनास्थलमा पुन्याउने लक्ष्य रहेको उनले बताए ।
संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणनास्थलमा पुऱ्याइने उनले बताए ।
प्रतिनिधिमूलक लोकतन्त्रको यस उत्सवमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवम् सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकोमा उनले मतदातालाई धन्यवाद दिए ।
