सबै मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सुरू
रोल्पा — बिहीबार तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन रोल्पाका सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा करिब ४७ प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयले सबै केन्द्रको मतदान सकिएको र खसेको अन्तिम मतको गणना बाँकी रहेको जनाएको छ। दिउँसो ४ बजेसम्म ४४.६८ प्रतिशत मत खसेको थियो। ४ बजेदेखि ५ बजेसम्म खसेको मत संख्याबारे अपडेट हुन बाँकी छ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले खसेको मतको अन्तिम परिणाम आउन बाँकी रहेको र केही समय पछि जानकारी प्राप्त हुने बताए । उनले सबै मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सुरू भएको बताए । 'मतदान सकिएपछि सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोलीले मतपेटिका सुरक्षित रूपमा लिबाङस्थित मुख्य निर्वाचन कार्यालयमा ल्याउने व्यवस्था मिलाएका छौं,' उनले भने।
यसैबीच मतपेटिका लिवाङमा ल्याइसकेपछि गणना गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले बताए । मत गणना स्थल लिवाङस्थित घरेलुु तथा साना उद्योग कार्यालयमा व्यवस्थापन गरिएको छ।
