बैतडीमा ३, बारामा २, रूपन्देही, धनुषा, महोत्तरी, नवलपरासी, मकवानपुर र कञ्चनपुरमा १–१ जना निर्वाचन प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँ — विभिन्न जिल्लामा निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी गरी १५ जनाको मृत्यु भएको छ । बैतडीमा ३, बारामा २, रूपन्देही, धनुषा, महोत्तरी, नवलपरासी, मकवानपुर र कञ्चनपुरमा १–१ जना निर्वाचन प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रामेछाप र सर्लाहीमा १–१ जना मतदान अधिकृतको मृत्यु भएको छ । मुस्ताङमा १ जना निर्वाचन अधिकृत र रामेछापमा १ प्रहरीको मृत्यु भएको छ ।
१८ फागुनमा रामेछापमा मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक परशुराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछाप नगरपालिका शीतलदेवी मावि सिरुबारी र वडा कार्यालय भवन साँघुटारका लागि निर्वाचन सामग्री लैजाँदै गर्दा गाडी दुर्घटना भएर उनीहरूको मृत्यु भएको हो । मृतक घिमिरे निमावि द्वितीय श्रेणीका शिक्षक थिए । सप्तरी रूपनी गाउँपालिका–१ का यादव जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत थिए ।
मतपत्र, मतपेटिकासहित निर्वाचन सामग्री लिएर गएको ना ७ ख ६७६८ नम्बरको गाडी सडकमा मोड नपुगी ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा ७ जना घाइते भएका थिए । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । निर्वाचनमा खटाइएका कर्मचारी दुर्घटनामा परेपछि दुवै मतदान केन्द्रमा अन्य कर्मचारी र निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले बताए ।
सर्लाहीमा पनि एक मतदान अधिकृतको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । १९ फागुनमा मतदान केन्द्रमा बेहोस भएर लडेका रघुनाथ महतोको मृत्यु भएको हो । महतो सर्लाही–२ स्थित पर्सा गाउँपालिका–४, जिंगडवामा रहेको आधारभूत विद्यालय जिंगडवा मतदान केन्द्रमा खटिएका थिए । स्वास्थ्यकर्मी महतोलाई उपचारका लागि मलंगवा अस्पताल लगिएकोमा चिकित्सकले मृतक घोषणा गरेका थिए । हृदयाघातबाट उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
१९ फागुनमा कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार रानालाई पुनर्बास नगरपालिका–९ सीताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटाइएको थियो । राति खाना पकाउने क्रममा बेहोस भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको पाइएको प्रवक्ता शाहीले बताए ।
त्यस्तै मुस्ताङमा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जनाए । भन्सार कार्यालय कोरोला नाकाका कर्मचारी सुनिल घतानेको मृत्यु भएको उनले जानकारी दिए । घताने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ को जनप्रिय आधारभूत विद्यालय झोङमा निर्वाचनका लागि खटिएका थिए । १८ फागुनमा थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
मकवानपुरमा सवारी दुर्घटनामा परी १८ फागुनमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरमा कार्यरत निर्वाचन प्रहरी पवन साहको मृत्यु भएको थियो । उनलाई १४ फागुनमा हेटौंडा उपमहानगरपालिका–८ कर्रा पुलनजिक पिकअप गाडीले ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार रौतहट फतुवा विजयपुर नगरपालिका–७ घर भएका साहको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।
बैतडीमा एक महिनाको अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु भएको छ । २१ माघमा बैतडीमा भीरबाट लडेर दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको थियो । निर्वाचन प्रहरी चन्द सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भीरबाट लडेर मृत्यु भएको हो ।
१२ फागुनमा मेलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्रप्रसाद भट्टको मृत्यु भएको थियो । राति साढे १० बजेतिर घरमै अचेत अवस्थामा उनी फेला परेका थिए । ड्युटी सकेर घर फर्किएका उनी घरमै एक्कासि बेहोस भएर अचेत भएका थिए । उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत्यु घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी सुरज सिंहले मृतक भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा निर्वाचन प्रहरीमा खटिएका थिए ।
८ फागुनमा दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि ज्यान गएको थियो । खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल दुर्घटनामा परी रूपन्देहीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको थियो । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोनहियाका २५ वर्षीय बाबुराम यादवको २१ माघमा ज्यान गएको प्रहरीले जनाएको छ । बुटवल–भैरहवा सडक खण्डको कोटिहवामा यादवले चलाएको मोटरसाइकल सडक किनारको डिभाइडरमा ठोक्किएको थियो । म्यादी प्रहरीको नियुक्ति बुझेर दुई दिन तालिमसमेत उनले लिएका थिए ।
प्रहरीका अनुसार बारामा एक जना महिला र एक जना पुरुष निर्वाचन प्रहरीको मृत्यु भएको छ । धनुषा र नवलपरासीमा पनि १/१ जना निर्वाचन प्रहरीको मृत्यु भएको प्रहरीको तथ्यांक छ । निर्वाचन सुरक्षाका लागि ४० दिनको अस्थायी सेवामा निर्वाचन प्रहरी भर्ना भएका थिए ।
