जसले यति ठूलो उत्सवमा पनि मत खसाल्न पाएनन्

पेसा, व्यवसाय वा अध्ययनको सिलसिलामा देशका विभिन्न स्थानबाट काठमाडौं आएर बस्नेको ठूलै जमात छ । कोही रोजगारको खोजीमा त कोही सन्तानको उज्ज्वल भविष्यका लागि आएका छन् । तर आर्थिक अभावकै कारण कतिपय मतदानका लागि गाउा जान नसक्ने बताउँछन् । मत हाल्न नपाउने नागरिक के भन्छन् ? चुनावप्रति उनीहरूको धारणा के छ ? कान्तिपुरले केही प्रतिनिधि पात्रसाग कुराकानी गरेको छ ।

फाल्गुन २०, २०८२

आरती पौडेल

Those who couldn't even cast their votes at such a big celebration

काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन संघारमा छ । मौन अवधि चलिरहेको छ । मतदातासमक्ष सकारात्मक परिवर्तन गर्ने आश्वासनसहित उम्मेदवारहरूले आफ्ना औपचारिक चुनावी गतिविधिलाई बिट मारिसकेका छन् । विभिन्न दलका र स्वतन्त्र उम्मेदवारका चुनावी घोषणा र वाचा सुनिसकेका मतदाता यो शून्य समयमा आफ्नो अमूल्य मतदानको सदुपयोग होस् भन्ने उद्देश्यले सक्षम र गतिलालाई जिताएर संसद् पुर्‍याउन चाहन्छन् । 

पेसा, व्यवसाय वा अध्ययनको सिलसिलामा देशका विभिन्न स्थानबाट काठमाडौं आएर बस्नेको ठूलै जमात छ । कोही रोजगारको खोजीमा त कोही सन्तानको उज्ज्वल भविष्यका लागि आएका छन् । जसरी हरेक मानिसका संघर्ष कथा फरक–फरक छन्, त्यसरी नै उनीहरूका उद्देश्य पनि । काठमाडौंमा विभिन्न पेसा व्यवसाय गरेर बसेका केही नागरिक मतदान गर्न गइसकेका छन् । केही अझै जाने सोचमा छन् । केही भने आर्थिक अभावकै कारण मतदानका लागि गाउँ नजाने सोचमा रहेको बताउँछन् ।

नागरिक के चाहन्छन् । चुनावप्रति उनीहरूको धारणा के छ ? उनीहरूले चाहेको देश कस्तो हो ? कान्तिपुरले केही प्रतिनिधि पात्रसँग यसबारेमा कुराकानी गरेको छ । काठमाडौंको महँगीमा जेनतेन गुजारा चलाइरहेका अमन चौधरी (२०) काठमाडौं, टोखाको ग्रिल हाउसमा काम गर्दै गरेको अवस्थामा भेटिए । सर्लाही, जगतपुरका उनी यहाँ ५ वर्षदेखि काम गर्दै आएका छन् । अमन ९ कक्षामा पढ्दै गर्दा उनका बुबा वैदेशिक रोजगारका लागि साउदी अरब गएका थिए ।

Those who couldn't even cast their votes at such a big celebration

ऋण काढेर गाउँमा घर बनाएका अमनको परिवारलाई नेपाल आउने अघिल्लो दिन बुबाको मृत्यु भएपछि बज्रपात पर्‍यो । त्यसपछि बहिनी र आमाको सहारा नै अमन भए । घर बनाउँदाको ऋणले थिच्दै लग्यो । धेरै पढेर उज्ज्वल भविष्यको कल्पना गरिरहेका अमनले बाध्यतावश पढाइ छोडेर कामको खोजीमा काठमाडौं आए । ‘साथीहरू हातमा किताब, कलम बोकेर पढिरहेका बेला मेरा हातले फलाम समात्नुपर्‍यो,’ अमन दुखेसो पोख्छन् । अमन अहिले मासिक २९ हजार रुपैयाँ कमाउँछन् । त्यसैले बस्ने खाने र बहिनीलाई कक्षा ११ मा पढाइरहेका छन् । आफूले नपढेकाले बहिनीलाई चाहेजति पढाउने अमनको इच्छा छ । 

यतिबेला चुनावी माहोल देख्दा अमनलाई घर जान त मन छ । तर घर जाँदा–आउँदा हुने खर्चले नै उनी अत्तालिए । ‘परिवारमा कमाउने मैले मात्र हो । गाउँ जाँदा–आउँदा खर्च लाग्छ । भोट हालेर आउने बेलासम्म २/४ दिन भए पनि काम गरिन्छ भन्ने पनि भएको छ । के गर्ने दोधारमा छु,’ उनले भने । अमनले अहिलेसम्म एक पटक मात्र भोट हालेका छन् । ‘फेसबुक खोल्यो कि चुनावका बारेमा मात्र समाचार, भिडियो आउँछन् । चासो त लाग्छ नै,’ अमन सबै राजनीतिका बारेमा कुरा गरेको देख्दा, 

पढ्दा आफूलाई पनि राजनीति गर्ने इच्छा भएको मुस्कुराउँदै सुनाउँछन् । जुनै पार्टीले जिते पनि देश विकास होस् भन्ने उनको चाहना छ । परिवार पाल्न काठमाडौंमा संघर्षरत अर्की पात्र हुन् दुर्गा सुनार (५२) । टोखामा मकै पोल्दै गरेको अवस्थामा भेटिएकी उनी दिनभर ठेलामा मकै, बदाम र पानी बेचेर गुजारा चलाइरहेकी छन् । नुवाकोट शिवपुरीकी दुर्गा काठमाडौं आएको २१ वर्ष भयो । केही वर्ष अघिदेखि मात्रै उनले मकै पोल्न थालेकी हुन् । श्रीमान्को फर्निचर पसल छ । २ छोरामध्ये एक मलेसिया छन् भने अर्की छोरी बहराइन छिन् । ‘नेपालमै काम पाएको भए कामकै लागि सन्तानलाई विदेश पठाउन मन थिएन,’ दुर्गा सुनाउँछिन् ।

देशको अवस्था र नेताका कुरा सुन्दा दुर्गालाई भोट हाल्न जान त्यति उत्साह छैन । ‘जसलाई भोट दिए पनि आफ्नो दुःख कहीँ जाँदैन । हामीले भोट दिएर गएका कहाँ–कहाँ पुग्छन्, हामी जहाँ को त्यहीँ,’ उनले भनिन्, ‘बजार महँगीले केही कुरा छोइसक्नु छैन । त्यही फर्निचर भएको ठाउँको त मासिक ३५ हजार तिर्नुपर्छ । अरू कुरा छोडौं, यही मकैको घोगा किन्दा कति महँगो छ । नेताले महँगी घटाउने भए पो त भोट दिनु !’ कामै छाडेर खर्च गरीगरी भोट हाल्न नजाने उनी बताउँछिन् । भन्छिन्, ‘मलाई चुनावको खासै चाख पनि लाउँदैन । गाउँ जाने–आउने पैसाले त बरु मकै किनेर पोल्यो भने कमाइ हुन्छ । के गर्नु पेट त पाल्नै पर्‍यो ।’

Those who couldn't even cast their votes at such a big celebration

चुनाव आए पनि फूलमाया तामाङ (४५) लाई त्यसको रौनकले खासै छोएको छैन । रायो, चम्सुर, बेथेलगायतका साग तीनकुने सुविधानगर जाने बाटो छेउमा फिँजाएर बेच्न बसेकी उनको घर सिन्धुलीको रातमाटे गाउँ हो । १५ वर्षअघि काठमाडौं छिरेकी उनी दुवाकोटमा बस्छिन् । भाडाको जग्गामा टहरा बनाएर बसेकी छन् । हरेक दिन भक्तपुरबाट साग किनेर तीनकुने बेच्न ल्याउँछिन् । 

फूलमायाका २१ वर्षीय छोरा पसलमा काम गर्छन् । छोरी ८ कक्षामा पढ्दै छिन् । साग बेचेर थोरै भए पनि घरखर्चका लागि राहत हुने उनी बताउँछिन् । इच्छा भए पनि चुनावमा भोट हाल्न नजाने उनी बताउँछिन् । ‘घर जाँदा र आउँदा ३ हजार जति लाग्छ । त्यति कमाउन कति दिन लाग्छ, त्यति पैसाले त मेरो एउटा काम फत्ते हुन्छ,’ उनले भनिन् । पहिलेजस्तो कमाइ नभएकाले अहिले गाउँ जान पनि आँट नआएको उनी बताउँछिन् । ‘आफूसँग प्रशस्त पैसा भएको भए केही नसोची गइदिन्थें । के गर्नु, कमाइ खासै छैन,’ उनले भनिन् ।

सिन्धुपाल्चोककी लीलामाया श्रेष्ठ गत मंसिरदेखि टोखा भूतखेल पार्क छेउछाउ डालोमा राखेर बदाम/पानी बेच्दै आएकी छन् । तर त्यही पनि अब बेच्न नपाइने सुनेर उनी खिन्न छिन् । ‘यहाँको व्यवस्थापन समितिले अब बेच्न पाइँदैन भन्नुभएको छ,’ उनले भनिन् । २१ वर्षअघि काठमाडौं आएकी लीलामायाले सुरुवातमा कृषि क्षेत्रमा काम गर्थिन् । श्रीमान् ज्यामी काम गर्छन् । तर लीलामायाको स्वास्थ्यमा समस्या आएपछि बदाम बेच्न थालेकी रहिछन् । दैनिक ४/५ सय कमाइरहेकी उनलाई यतिबेला अब के गर्ने भन्ने चिन्ताले सताइरहेको छ । ‘थोरै भए पनि घरखर्चमा राहत भएको थियो । कोठामा बस्नुभन्दा त्यहाँ समय पनि सजिलै जान्थ्यो । अब के गर्ने होला भन्ने कुराले नै पीर परेको छ,’ उनले भनिन् ।

Those who couldn't even cast their votes at such a big celebration 

यतिबेला देश चुनावमय भएको थाहा छ उनलाई । तर स्वास्थ्यमा समस्या भएकाले गाउँ नजाने बताउँछिन् । ‘भोट हाल्न जान त हुन्थ्यो तर अलि बिरामी पनि छु । गाडीमा हिँड्नै हुँदैन, निकै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘दिनभरि दुःख गरेर बेलुका खाने हामीजस्तालाई चुनाव आए पनि के ? नआए पनि के ?’ तैपनि जसको सरकार आए पनि देशमा शान्ति छाओस् भन्ने प्रार्थना गरेको उनी बताउँछिन् ।

टोखामा कपडा व्यवसाय गरेर बसिरहेकी शशिकला बुढाथोकी (३२) सर्लाही हरिवनकी हुन् । उनी पनि कामै छोडेर भोट हाल्न गाउँ जान नसक्ने बताउँछिन् । पहिलेजस्तो व्यापार नभएर पनि चिन्तित उनी महँगीले थप पीडा दिएको सुनाउँछिन् । ‘पहिला कपडा पसल निकै राम्रो चल्थ्यो । आजकल महँगी पनि छ । त्यही भएर पहिलाको जस्तो व्यापार छैन,’ उनी भन्छिन्, ‘पेसा व्यवसाय भएपछि लगानी गरेको हुन्छ । चुनाव भनेर चटक्कै आफ्नो काम छोडेर जाने कुरा पनि भएन ।’ अहिलेसम्म भोट हाल्न जाने मेसो नमिलेको बताउने उनी गाउँबाट पनि भोट हाल्नका लागि धेरैले फोन गरेर बोलाएको सुनाउँछिन् । 

शशिकलालाई पहिले राजनीतिबारे खासै चासो थिएन । तर आजकल सामाजिक सञ्जालमा देखिने समाचारका साथै चुनावसम्बन्धी भिडियोले कौतुहलता जागेको रहेछ । ‘फेसबुक, टिकटक, इन्स्टाग्राम जे खोल्यो त्यहीमा चुनावको समाचार, भिडियो आउँछन् । आजकल चुनावप्रति निकै रुचि लाग्न थालेको छ,’ उनी भन्छिन् ।

पढेर पनि भनेअनुसार काम नपाएका बर्दियाका शेरसिंह सिजापति (२८) लाई चुनावताका निकै रिस उठ्छ । हेल्थ असिस्टेन्ट उनी केही समय प्यूठानमा काम गरेपछि विगत ९ महिनादेखि काठमाडौं, बसुन्धारा बस्दै आएका छन् । तर केही काम नपाएपछि उनी कहिलेकाहीँ पठाओ चलाउँछन् । 

Those who couldn't even cast their votes at such a big celebration

चुनाव आए पनि उनी गाउँ नजाने सोचमा रहेको बताउँछन् । ‘भोट हाल्न त जाने सोच थियो तर पैसाले रोकेको छ । पैसाको जोहो भए त बाइक लिएर जाने थिएँ,’ ९ महिनादेखि काठमाडौं आएर पनि जागिर नपाएका उनी रुष्ट सुनिन्छन्, ‘पढेर पनि जागिर खोज्दा पाइँदैन । अनि कसलाई भोट हालेर के पो हुने हो र ?,’ साथी, सहकर्मी विदेशिएको देख्दा उनको मन दुख्दो रहेछ । ‘तर हामीजस्ता युवा पढेर पनि यहाँ बेरोजगार बस्नुपरेको देख्दा पनि दुःख लाग्छ । अब देशमै रोजगार सिर्जना होस् भन्ने चाहना छ,’ उनी चुनावपछि बन्ने सरकारले बेरोजगारी अन्त्य र युवाका मुद्दालाई सम्बोधन गरोस् भन्ने चाहन्छन् ।

उदयपुर कटारी घर भएका दिलीप माझी पठाओ चलाउँदै गरेको अवस्थामा भेटिए । उनी केही समय अगाडिसम्म कोरियन भाषा प्रशिक्षण लिँदै थिए । सोचेअनुरूप नतिजा नआएपछि अहिले पठाओ मात्र चलाउने गरेको बताए । उनलाई चुनावमा घर जान मन लागे पनि नजाने निर्णयमा पुगेको सुनाए । ‘जान त मन छ नि । मलाई त चुनाव चाडपर्वजस्तै रमाइलो लाग्छ । तर जाँदा–आउँदा आफ्नै खर्च हुने हो, त्यसैले मन भएर पनि पैसाले गर्दा रोक्कियो,’ उनले भने । चुनावमा जान नपाए पनि राम्रोले जितून् भन्ने उनी चाहन्छन् । जुन पार्टीको 

बहुमत आए पनि २३ वर्षका माझी आफूजस्ता युवा सबैले देशमै रोजगार पाउनुपर्छ भन्ने चाहन्छन् । भन्छन्, ‘हामीले आफ्नै देशमा भविष्य देख्न सक्ने वातावरण बनोस् । परिवार पाल्न, आफ्ना इच्छा पूरा गर्न अर्काको देश जाने सपना देख्न बाध्य हुन नपरोस् ।’ 

त्यसरी नै नुवाकोट शिवपुरी–३ घर भएकी सुनिता लामा (५५) टोखा–१ मा रहेको किराना पसलमा व्यस्त देखिन्थिन् । चुनाव नजिकिँदै गर्दा खुसी लागे पनि भोट हाल्न भने नजाने सुनाइन् । भन्छिन्, ‘व्यवसाय गरेर बसेकी छु । आफ्नो काम छोडेर हिँडेपछि खर्च भइहाल्छ । यतिबेला व्यापार पनि खासै छैन । त्यसैले यो पालि भोट हाल्न जान मन लागेन । ऋण नै खोजेर जान सकिएन ।’ धेरै पटक धेरैलाई भोट दिइसकेकी उनी चुनावी माहोल रमाइलो लाग्ने गरेको सुनाउँछिन् । व्यापार मन्दी भएको र गाउँ हिँडेपछि झन् खर्च थपिने भएकाले पनि चुनावमा चाहेर पनि घर जान नसकिएको सुनाइन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully