मधेशका ७, कोशीका ३, बागमतीका २ र लुम्बिनीको १ निर्वाचन क्षेत्रमा १० हजारभन्दा बढी मतदाता थपिएका छन्
काठमाडौँ — बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा करिब ९ लाख मतदाता थपिएका छन् । निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता सूचीअनुसार १३ निर्वाचन क्षेत्रमा १० हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनभन्दा यस पटक १० हजारभन्दा बढी मत थपिएका निर्वाचन क्षेत्रमा सर्वाधिक मधेश प्रदेशका सात, त्यसपछि कोशी, बागमती र लुम्बिनीका क्रमशः तीन, दुई र एक निर्वाचन क्षेत्र छन् । यी १३ निर्वाचन क्षेत्र पर्ने ९ वटा जिल्ला सबै तराई–मधेशका हुन् । यो सूचीमा झापा (१ र २), धनुषा (३ र ४) र चितवन (२ र ३) का दुई/दुई वटा निर्वाचन क्षेत्र परेका छन् ।
सबैभन्दा बढी साढे १३ हजार मतदाता झापा–२ मा थपिएका छन् । जहाँ एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरे, कांग्रेसबाट पूर्वसांसद सरिता प्रसाईं, नेकपाबाट संविधानसभा सदस्य धर्माशिला चापागाईं तथा रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर र राप्रपाबाट अधिवक्ता भद्रप्रसाद नेपाल उम्मेदवार छन् । ०७९ को चुनावमा झापा–२ मा एक लाख ३४ हजार मतदाता रहेकामा साढे २८ हजार मतसहित विजयी एमालेका घिमिरेले स्वतन्त्र उम्मेदवार नेपाललाई करिब दुई हजार दुई सय मतान्तरले हराएका थिए । यो निर्वाचन क्षेत्रमा यस पटक एक लाख ४७ हजार मतदाता छन् ।
त्यस्तै, दोस्रो धेरै बढी मतदाता थपिएका निर्वाचन क्षेत्र हो, चितवन–२ । जहाँ अघिल्लो निर्वाचनमा भन्दा यस पटक करिब १३ हजार मतदाता थपिएका छन् । यस पटक यो निर्वाचन क्षेत्रमा रास्वपा सभापति रवि लामिछाने कांग्रेसकी मीनाकुमारी खरेल, एमालेका अस्मिन घिमिरे र नेकपाका प्रताप गुरुङ प्रतिस्पर्धामा छन् । ०७९ मा एक लाख २४ हजार मतदातामध्ये ४९ हजार बढी मत ल्याएर लामिछाने विजयी भएका थिए । उनले कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार मतान्तरले पराजित गरेका थिए । सर्वोच्च अदालतले नागरिकता विवादमा लामिछानेलाई पदमुक्त गरेपछि भएको उपनिर्वाचनमा पनि लामिछाने नै विजयी भएका थिए । अहिले यहाँको मतदाता संख्या एक लाख ३७ हजार पुगेको छ ।
त्यस्तै धनुषा–३ मा पनि करिब १२ हजार मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा एक लाख १४ हजार मतदाता रहेकामा अहिले करिब एक लाख २६ हजार छन् । ०७९ मा ३३ हजार भोटसहित विजयी एमालेकी जुलीकुमारी महतोले लोसपाका अनिलकुमार झालाई करिब १० हजार मतान्तरले पराजित गरेकी थिइन् ।
अहिले उक्त निर्वाचन क्षेत्रबाट एमालेकी महतोसहित कांग्रेसका विमलेन्द्र निधि, नेकपाका रामललित मण्डल र रास्वपाका मनीष झा प्रतिस्पर्धामा छन् । निधि र झा दुवै यसअघि समानुपातिक सूचीमा थिए ।
१० हजारभन्दा बढी मतदाता थपिएका निर्वाचन क्षेत्रमा लुम्बिनी प्रदेशबाट एकमात्र निर्वाचन क्षेत्र परेको छ– बाँके–२ । बाँके–२ बाट अघिल्लो निर्वाचनमा राप्रपाका धवलशमशेर जबरा साढे २९ हजार मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका इस्तियाक राई ५ हजार मतले पछि परेका थिए । त्यतिबेला बाँके–२ मा ९७ हजार मतदाता थिए । अहिले मतदाता थपिएर एक लाख ८ हजार पुगेका छन् । निवर्तमान सांसद जबरा निर्वाचनको दौडमै छैनन् भने यसअघि जसपाका उम्मेदवार राई एमालेबाट उम्मेदवार छन् । कांग्रेसबाट सुधांशु कोइराला, नेकपाबाट दीपेन्द्र बिष्ट र रास्वाबाट विवेककुमार श्रेष्ठ उम्मेदवार छन् ।
