मतगणना : दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्

२०७४ सालकाे स्थानीय तहकाे चुनावमा भतरतपुर महानगरकाे मतगणाना हुँदा मतपत्र च्यातेकाे घटनाबाट पाठ सिकेर आयोगले हरेक पटक नयाँ-नयाँ सुधार गर्दै आएको छ।

फाल्गुन २०, २०८२

दुर्गा दुलाल

Vote counting: Party representatives can see, but not touch

काठमाडौँ — जब निर्वाचन आउँछ, मतपत्र च्यातिएको घटनाले चर्चा पाउँछन्। त्यस्ता घटनाले देशव्यापी चर्चा पाएसंगै निर्वाचन आयोगलाई पाठ पनि सिकाएको छ।

२०७४ सालकाे स्थानीय तहकाे चुनावमा भतरतपुर महानगरकाे मतगणाना हुँदा मतपत्र च्यातेकाे घटनाबाट पाठ सिकेर आयोगले  हरेक पटक नयाँ-नयाँ सुधार गर्दै आएको छ। कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिगतका सबै घटनाहरुबाट सिकेर आयोगले निर्वाचन प्रणाली र अभ्यासमा सुधार गरेको दाबी गरे।

२१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभाका लागि पनि मतदानस्थलसंगै गणनास्थल पनि निर्माण गरिएको छ जसलाई तारजालीले घेरेर सुरक्षितस्थल बनाएको उनको तर्क छ। मतगणना गर्ने र उम्मेदवारका प्रतिनिधि बस्ने ठाउँ छुट्टै बनाइएको छ। उनीहरूले मतगणना हेर्न पाउँछन् तर गन्नेको छेउमा पुग्न भने पाउदैनन्।  

मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने ठाउँ छाडेर तारजालीसहितको फलामको बार राखिएको छ । प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी जालीसहितको फलामको बार बनाइएको निर्वाचन आयोगले जनाएको छ।
Vote counting: Party representatives can see, but not touch

हरेक मतगणनास्थलमा कम्तिमा  आठवटा सिसी क्यामरा जडान गरिएको छ । ठूलो मतगणनास्थलमा अझै धेरै पनि हुनसक्ने निर्वाचन आयोगको भनाइ छ।

भरतपुरमा मतपत्र च्यातिएको घटनाबाट पाठ सिक्दै निर्वाचन आयोगले यसपटक देशभरका मतगणनास्थलमा सीसी क्यामरा अनिवार्य गरिएको र त्यसलाई मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन आयोगले सम्म केही क्षेत्रको हेर्नसक्ने बनाइएको छ।

निर्वाचन आयोगका अनुसार मतगणना हरेक जिल्लाको निर्वाचन कार्यालयमा हुने छ। २१ गते मतदान सकिए लगत्तै मतपेटिका संकलन हुन्छ अनि जिल्ला निर्वाचन कार्यालयमा जम्मा गरिन्छ । तर काठमाडौंका १० निर्वाचन क्षेत्रमा भने  निर्वाचन क्षेत्रमै मतगणना गर्ने तयारी गरेको छ।

जिल्ला निर्वाचन कार्यालयमा जम्मा गरिएको मत पेटिकालाई गणना गर्नुअघि सवै राजनीतिक दलको सर्वदलीय बैठक बस्छ ।  बैठकमा मत गणनादेखि बदर र सदरसम्मको लागि नियम निर्धारण गर्दछ ।

निर्वाचन कानुन, विगतको अभ्यासदेखि आइपर्ने समस्यासम्मका बारेमा  निर्णय हुन्छ । त्यसपछिमात्र मतगणना सुरु हुन्छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले पहिला प्रत्यक्षतर्फको मतगणना हुने अनि समानुपातिक तर्फ गणना गरिने बताएका छन् ।

भण्डारीले प्रत्यक्ष तर्फ गणना थालेको २४ घन्टाभित्रै नतिजा दिने दाबी गरेका छन् ।  निर्वाचन आयोगले एक साताभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने देखिन्छ ।  

काठमाडौंमा  १० वटै निर्वाचन क्षेत्रमा मतगणनास्थल निर्माण
निर्वाचन आयोगले काठमाडाैंका १० वटै निर्वाचन क्षेत्रमा मतदान पछि मतगणना गर्ने व्यवस्था मिलाएको छ।

मतदान सकिएपछि निर्वाचन क्षेत्रमै मतगणना हुनेछ । सम्बन्धित क्षेत्र जहाँ हो त्यहीँ मतगणना हुने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

उनले काठमाडौंमा सहज भएको र प्रतनिधि क्षेत्रको हुने भएकाले अपनत्व पनि हुने तथा नतिजा पनि छिटो आउने भएकाले निर्वाचन क्षेत्रमै मतगणनाको व्यवस्था मिलाइएको उनले दाबी गरे । मतगणनास्थलमा तारबार र सीसी क्यामेरा राखिएको र तारजाली गरिएको उनले बताए ।

मतदान सकिएपछि १ घण्टामा मतपेटिका संकलन हुने र सोही दिन सर्वदलीय बैठक बसेर मत गणना सुरु हुने उनले बताए । कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा चुस्त राखिएको भट्टराईले बताए ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५० उम्मेदवार चुनावी मैदानमा छन् । क्षेत्र नम्बर १ मा २९, २ मा २८, ३ मा २२, ४ मा २८, ५ मा २५, ६ मा २०, ७ मा २७, ८ मा २२, ९ मा २४ र १० मा २५ गरी २५० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Vote counting: Party representatives can see, but not touch

माघ ६ गते मनोनयको दिन १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दिएका थिए । यीमध्ये ४ जनाले फिर्ता लिएका हुन् । राजनीतिक दलसहित स्वतन्त्र रुपमा पनि उम्मेदबारी दर्ता भएका छन् ।

काठमाडौंमा मतदान सकिएपछि १ घण्टामा मतपेटिका संकलन गर्ने आयोगको तयारी छ।  कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बिहानदेखि बेलुका ५ बजेसम्म मतदानका लागि लाइन बस्न पाइने र सात बजेपछि मतदानस्थल बन्द हुने बताए । त्यसपछि मतपेटिका संकलन गरेर मतगणनास्थलमा जम्मा गरेर गणनाको थालनी हुने बताए ।

उनले आयोगले २४ घन्टाभित्र मत परिणाम सार्वजनिक गर्ने तयारी गरेकाले सोही अनुसार मतगणनाको तयारी पनि भएको दाबी गरे । काठमाडाैंमा कम्तीमा मतदान सकिएको दुई घन्टामा सोही दिन सर्वदलीय बैठक बसेर मत गणना सुरु हुने बताए ।

क्षेत्र नम्बर १ मा ४८ हजार ४८९ मतदाता छन् । जहाँ २२ वटा मतदानस्थल र ५७ वटा केन्द्र तोकिएको छ ।  क्षेत्र नम्बर २ मा ८ हजार ७० मतदाता छन् । जहाँ ४० मतदानस्थल १०० वटा केन्द्र  छन् ।

६४ हजार ४७९ मतदाता रहेको क्षेत्र नम्बर ३ मा २९ मतदानस्थल र ७२ मतदान केन्द्र तोकिएको छ ।क्षेत्र नम्बर ४ मा ७६ हजार १४१ मतदाता हुँदा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् ।

क्षेत्र नम्बर ५ मा ७८ हजार ११४ मतदात छन् भने ३१ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएको छ ।क्षेत्र नम्बर ६ मा ६७ हजार ७५९ मतदाता रहँदा ३२ मतदानस्थल ७९ केन्द्र छन् ।

६७ हजार ४११ मतदाता रहेको क्षेत्र नम्बर ७ मा २९ मतदानस्थल र ७८ केन्द्र तोकिएको छ ।क्षेत्र नम्बर ८ मा ५७ हजार ८११ मतदाता छन् । जहाँ २३ मतदानस्थल र ६५ मतदान केन्द्र छन् ।

त्यस्तै, क्षेत्र नम्बर ९ मा ७८ हजार ४९५ मतदाता छन् । सो क्षेत्रमा ३४ मतदानस्थल र ९० मतदान केन्द्र तोकिएको छ । क्षेत्र नम्बर १० मा ३ हजार ३०१ मतदाता छन् । जहाँ ४७ वटा मतदानस्थल र ९ मतदान केन्द्र छन् ।

कसरी जानकारी पाइन्छ मतपरिणाम
निर्वाचन आयोगले करिब एक साताभित्र सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने भित्रि तयारी गरेको छ। कार्यवाहक प्रमुख आयुक्तले २४ घन्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दावी गरेपनि प्रत्यक्ष तर्फ तीनदेखि चार दिन लाग्ने र त्यसको तीन दिनपछि समानुपातिक तर्फकाे मतगणना सक्ने निर्वाचन आयोगको योजना छ ।

काठमाडौंसहित सुगम स्थानहरुमा सोही दिन मतपेटिका संकलन गरी सर्वदलीय बैठकको सहमतिमा मतगणना सुरु गरिएने र सम्भव नभए २२ गते बिहानै देखि मतगणना सुरु हुने आयोगले जनाएको छ।

Vote counting: Party representatives can see, but not touchनिर्वाचन आयोगले हिमाली र टाढाबाट ढुवानी गरेर मतपत्र ल्याउनुपर्ने स्थानहरुमा केही ढिलाई हुने नत्र अरु क्षेत्रमा ढिलाई नगरी मतगणना शुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

आयोगले मत परिणाम तत्काल जानकारी दिनका लागि आयोगले मतगणना स्थलमै मतपरिणाम निर्वाचन आयोगको बेवसाइटमा उपलब्ध गराउने तयारी गरेको छ। 

त्यस्तै मतगणना जारी रहेको क्षेत्रमा पनि माइकिङ गर्ने तथा सञ्चार माध्यमलाई समय समयमा उपलब्ध गराउने व्यवस्था जिल्ला निर्वाचन कार्यालयले मिलाएको आयोगले जनाएको छ।

त्यसका लागि एक एक जना अधिकृतलाई मतगणना स्थलमा निर्वाचन परिणाम अपलोड गर्नका लागि तालिम दिएर युजर र पासपोर्ट दिइएको छ। उनीहरुले मतगणनास्थलबाटै परिणाम अपलोड गर्छन्।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully