मौन अवधि सुरु, सबैखाले प्रचार बन्द

निर्वाचनलाई प्रभाव पार्ने गरी उम्मेदवार र दलहरूले मत माग्नेदेखि प्रचार, सामाजिक सञ्जालमा पोस्ट, भाषण, भेला, छलफल, समीक्षालगायत कुनै पनि गतिविधि गर्न नपाउने 

फाल्गुन १९, २०८२

दुर्गा दुलाल

Silence period begins, all forms of propaganda cease

काठमाडौँ — प्रतिनिधिसभा सदस्य छान्न बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम हुने मौन अवधिमा प्रचार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । 

मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी क्रियाकलाप गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरेको भेटिए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । ‘निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ,’ उनले भने । 

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।मतदानको समयमा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोऊन् भनेर मतदानको ४८ घण्टाअघिदेखि मौन अवधि लागू गरिएको हो । मौन अवधि सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दल वा उम्मेदवारलाई मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचारप्रसार सामग्रीसमेत हटाउन लगाउनेछ । आयोगले तोकेको कार्यतालिकाअनुसार ६ माघमा उम्मेदवारी दर्ता गराएका दलहरूले ४ फागुनदेखि प्रचारप्रसार गरी मत माग्दै आएका थिए ।  

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।

निर्वाचन आचारसंहिताको दफा १७ मा ‘मतदान हुने दिनको अघिल्ला अठचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण’ भन्दै मौन अवधिबारे उल्लेख गरिएको छ । यसमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले तोकिएका आचरण पालन गर्नुपर्ने भनिएको छ । उक्त दफामा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, मतदान हुने दिनको ४८ घण्टाअघि नै मतदानस्थलको तीन सय मिटर वरपर राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने भनिएको छ । 

त्यस्तै कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने उल्लेख छ । नेपालमा मतदानको दिन सुरु हुनुअघिका ४८ घण्टा मौन अवधि लागू गर्ने गरिए पनि कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्ने अभ्यास छ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तिपूर्ण वातावरणमा निर्वाचन व्यवस्थापन गर्न सहज बनाउँछ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाताका लागि लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्यांकन गर्ने गरिन्छ । 

पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भयरहित वातावरणमा प्रभावकारी ढंगले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्ने निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिको अभ्यास हुने गरेको बताउँछन् । 

आयोगको निर्देशन 

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वयन सुनिश्चित गर्न आचारसंहिता अनुगमनको जिम्मेवारी पाएका निकायहरूलाई आयोगले निर्देशन दिएको छ । आयोगले मौन अवधिमा आर्थिक चलखेल हुन सक्ने र मतदातालाई प्रभावित पार्ने गतिविधि हुन सक्ने भन्दै जिल्लास्तरमा अनुगमनको अधिकार पाएका सहायक प्रमुख जिल्ला अधिकारी/कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन दिएको हो । 

Silence period begins, all forms of propaganda cease

‘निर्वाचन आचारसंहितामा उल्लेखित मतदान हुने दिनको अघिल्ला अठचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल (१८ फागुन राति १२ बजेदेखि २१ फागुन) सम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्नु’ आयोगको निर्देशनमा भनिएको छ । 

आचारसंहिताको दफा १८ मा ‘मतदानको दिन पालना गर्नुपर्ने आचरण’ परिपालनाको सम्बन्धमा अनुगमन गरी उक्त व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफ्नो जिल्लाभित्र सूक्ष्म अनुगमन गर्न र आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा अनुगमनकर्ताको अधिकारको प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउन आयोगले भनेको छ । 

प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिताबमोजिम गर्न नहुने भनी तोकिएका कार्य नगर्न/नगराउन दलहरूलाई पनि निर्वाचन आयोगले अनुरोध गरेको छ । 

बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् । प्रत्यक्षतर्फ ३०१७ पुरुष, ३८८ महिला र १ अन्य गरी ३४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १३६३ पुरुष र १७७२ महिला गरी ३१३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २०० अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । यस्तै १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, एक हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।

निर्वाचनमा २ लाख १५ हजार कर्मचारी खटिँदै छन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल ४ करोड २२ लाख ५१ हजार २०० मतपत्र छापेको छ । यस पटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन् । 

निर्वाचनलाई ऐतिहासिक बनाउन प्रधानमन्त्री कार्कीको आह्वान 

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सरिक भइदिन सबै मतदातालाई आग्रह गरेकी छन् । मौन अवधि सुरु हुनुअघि सोमबार अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै उनले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई निर्वाचनमा सहभागी हुन आग्रह गरेकी हुन् । 

Silence period begins, all forms of propaganda cease

‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ कार्कीले भनिन्, ‘तसर्थ २१ फागुन (बिहीबार) का दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु ।’

उनले कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु पहिलो कर्तव्य भएको र विधिको शासन स्थापित गर्दै संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सरकार सफल भएको दाबी गरिन् । उनले यो उपलब्धि सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको बताइन् । 

उनले निर्वाचनको संघारमा सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध पनि गरिन् । ‘शान्ति नै नेपालको असली पहिचान भएको हो, चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनु हुँदैन,’ उनले भनेकी छन् । 

निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिकाबमोजिम सबै तयारी पूरा गरेको भन्दै उनले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले २३ र २४ भदौको जेन–जी आन्दोलनपछि आफूले सरकारको नेतृत्व लिएको उल्लेख गर्दै मुलुकलाई निर्वाचनको मुखसम्म पुर्‍याउन पाएकामा सन्तोष व्यक्त गरिन् । ‘आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौं, विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौं,’ कार्कीले भनिन्, ‘यो उपलब्धि सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो ।’ उनले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको टिप्पणी गरिन् ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully