अर्घाखाँचीमा नयाँ उम्मेदवारलाई पुरानाको चुनौती

कांग्रेसका विष्णुप्रसाद खनाल, एमालेका पीताम्बर भुसाल र नेकपाका रामबहादुर चौहान जिल्लामा नयाँ अनुहार हुन् । रास्वपाले भने ०७४ को निर्वाचनमा प्रदेशसभा १ (१) मा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका र ०७९ मा प्रतिनिधिसभा सदस्यमा रास्वपाका तर्फबाट प्रतिस्पर्धा गरेका हरिप्रसाद भुसाललाई पुनः दोहोर्‍याएको छ ।

फाल्गुन १८, २०८२

वीरेन्द्र केसी

New candidates face challenge from old ones in Arghakhanchi

What you should know

अर्घाखाँची — विसं २०४८ देखि ०७९ सम्म कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले आलोपालो जस्तै गरी जित्दै आएका थिए । फागुन २१ मा हुने निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पुराना दललाई चुनौती बनेको छ । कांग्रेस र कम्युनिस्ट विरासत फर्काउने र जोगाउने दाउमा छन् भने रास्वपाले पछिल्लो जनलहरको मतले जित्न सकिने आशमा छ । 

यतिबेला १२ दल र तीन स्वतन्त्र गरी १५ जना उम्मेदवार गाउँ–गाउँमा मतदाता फकाउन दौडधुपमा छन् । तर, प्रतिस्पर्धामा कांग्रेसका विष्णुप्रसाद खनाल, एमालेका पीताम्बर भुसाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामबहादुर चौहान र रास्वपाका हरिप्रसाद भुसाल रहेका छन् । 

हरिप्रसादबाहेक तीनै जना उम्मेदवार मालारानी गाउँपालिकाभित्रका हुन् । तीनै जना फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि मालारानीका मतदाता कसलाई भोट दिने भन्नेमा अलमलमा छन् । धेरैले भोट तीन जनालाई बाँडेरै दिनेमा छलफल चलाएका छन् । ३७ वर्षीय हरिप्रसाद ०७९ मा पनि रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धी थिए । ०७४ को निर्वाचनमा प्रदेशसभा १ (१) मा विवेकशील साझा पार्टीबाट उम्मेदवार थिए । चौहान, खनाल र पीताम्बर नयाँ अनुहार हुन् । 

चुनावको सन्दर्भमा अर्घाखाँचीमा भन्ने गरिन्थ्यो– जता टोपबहादुर उतै जित । यसपटक टोपबहादुर रायमाझी उम्मेदवार छैनन् । उनी भुटानी शरणार्थी प्रकरणमा तीन वर्षदेखि काठमाडौंस्थित डिल्लीबजार कारागारमा थुनामा छन् । लगातार चारपटक चुनाव जितेर पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भएका उनी ०६४, ०७० र ०७४ मा तत्कालीन माओवादीबाट निर्वाचित भए । ०७९ मा एमालेबाट निर्वाचित भएका थिए । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा टोपबहादुर बिनाको चुनाव कस्तो होला भन्ने मतदाताको चासो रहेको छ । 

पुराना दलले ०७९ को समानुपातिक मत परिणामलाई अहिलेको जितको आधार मानेका छन् । त्यतिबेला एमालेले ३७ हजार ४ सय ५०, कांग्रेसले २६ हजार ८ सय ६५, रास्वपाले ८ हजार ९ सय ५१, माओवादीले ७ हजार ३ सय ४२, राष्ट्रिय जनमोर्चाले ५ हजार ३ सय २७ र नेकपा एसले १ हजार ६७ मत ल्याएका थिए । रास्वपाका उम्मेदवार हरिले प्रत्यक्षमा ३ हजार २ सय मत पाएका थिए । नयाँ लहरले अर्घाखाँचीमा पनि युवा मतदाता आकर्षित हुनु र सदस्यता लिएर संगठनमा जोडिएकाले यसपालि चुनाव भारी मतले जित्ने रास्वपा नेतृ सीता पुराजुलीको दाबी छ । 

चौहान, भुसाल र खनाल विद्यार्थी कालदेखि नै जिल्लामा बसेर पार्टी राजनीति र सामाजिक क्षेत्रमा काम गर्दै आएका बलिया उम्मेदवार हुन् । जेन–जी आन्दोलनपछि एमालेमाथि लागेको आरोप, पार्टीभित्रको असन्तुष्टि र युवा, महिला कार्यकर्ता नै रास्वपातिर मोडिन खोज्नुले पनि पीताम्बर भुसाललाई जितको चुनौती बनेको छ । विगतमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग भए पनि रास्वपाको लहरले अन्योल बनेको छ । यसका बाबजुद पीताम्बरलाई संसदको ढोका खोलाउन सक्ने आधार पनि छन् । पहिलो आधार गत निर्वाचनमा जिल्लामा पहिलो जनमत, दोस्रो, लुम्बिनी प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार र तेस्रो ६ वटा स्थानीय तहमा बलियो पटक हुनु पनि हो । आफ्नो व्यक्तिगत छवि पनि जितका आधार मान्दै पीताम्बर ढुक्क जस्तै छन् । 

विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रमा नयाँ नेतृत्व आएपछि खनाल पहिलो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । दोस्रो विशेष महाधिवेशनबाट उपसभापति बनेकी पुष्पा भुसाल गौतमले छाडेपछि खनालको हातमा टिकट आएको हो । स्थायी सरकारी जागिर छाडेर ०५४ सालदेखि सक्रिय राजनीतिमा रहेका खनालले चुनाव जित्ने आधार पनि छन् । 

कांग्रेसभित्र गगन थापा नेतृत्वमा आएपछिको उत्साह, कार्यकर्ता र मतदातासँगको निकटता, जेन–जी आन्दोलनपछि एमालेमा देखिएको प्रहारसँगै रास्वपामा एमाले कार्यकर्ता जोडिनु, नेकपाको कमजोर धरातल, जिल्लामा नेतादेखि गाउँका कार्यकर्तामा भएको एकता र आफ्नो व्यक्तिगत छविलाई खनालले जित्ने बलियो आधार ठानेका छन् । 

कांग्रेसले अर्घाखाँचीमा ०४८ र ०५१ मा तत्कालीन दुवै निर्वाचन क्षेत्र, ०६४ मा क्षेत्र २ बाहेक अरू चुनाव जितेको छैन । ०५६ मा एमाले र राष्ट्रिय जनमोर्चाको तालमेलमा कांग्रेस पराजित भएको थियो । 

एमालेका टोपबहादुर जेलमा हुनु, चेतनारायण आचार्य लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा रहनुले पनि परिस्थिति सहज भएको कांग्रेसको भनाइ छ । 

केही समय जिल्लामा पत्रकारिता, मानवअधिकारकर्मीका रूपमा काम गरेका खनाललाई यसपालि कम्युनिस्टको जितमा ‘ब्रेक’ लगाएर विरासत फर्काउने मौका रहेको कांग्रेस कार्यकर्ता बताउँछन् । उनलाई जितका यी आधार रहे पनि कांग्रेस उम्मेदवार विगत चुनावमा निरन्तर हार, स्थानीय तहमा बलियो पटक नहुनु, कांग्रेस सन्धिखर्क सभापति बाबुराम भुसालसहित केही स्थानीय नेता कार्यकर्ता पार्टी छाडेर रास्वपातिर लाग्नु र बलियो एमालेको संगठनका कारण पनि जितमा चुनौती छ । 

राजनीतिसँगै विभिन्न संघसंस्थामा आबद्ध रहेर काम गरेका नेकपाका उम्मेदवार चौहानलाई कांग्रेस, एमाले र रास्वपाको लहर तथा जिल्लामा अघिल्लो चुनावी मतपरिणाम अनुसार चौथो संगठन भएकाले जितमा चुनौती छ । यद्यपि जेन–जी आन्दोलनमा कांग्रेस, एमालेप्रतिको नकारात्मक सन्देश र आफ्नो व्यक्तिगत छविका कारण जित निकाल्न सकिने आशमा चौहान छन् । रास्वपाले कांग्रेस, एमालेको धेरै मत काट्ने र लोकप्रिय मतबाट परिणाम आफ्नो पोल्टामा पर्न सक्ने आशामा चौहान छन् । 

बिना संगठन ०७९ मा रास्वपाका हरिप्रसादले प्रत्यक्षमा ३ हजार २ सय र समानुपातिका ८ हजार ९ सय ५१ मत ल्याएका थिए । अहिले ६ पालिका र ६१ वडामा पार्टी संगठनको संरचना बनेको छ । पछिल्लो रास्वपाप्रतिको जनलहर र आफ्नो व्यक्तिगत छविका कारण जितमा हरिप्रसाद ढुक्कजस्तै छन् । कांग्रेस, एमाले र नेकपाका गाउँस्तरीय कार्यकर्ता, वैदेशिक रोजगारीमा रहेकाहरूले आफनो परिवारलाई घण्टीमा भोट हाल्न भनेको तथा युवा नयाँतिर आकर्षित हुनु जस्ता विषयलाई रास्वपाले आफ्नो जितको आधार ठानेको छ ।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully