तराई र पहाडी जिल्लामा प्रत्येक चुनावमा उम्मेदवारले पनि ‘हिल स्टेसन’का नारा अगाडि बढाउँछन् । तर, निर्वाचन सकिएपछि यस्ता नारा खेर जाने गरेको मतदाता गुनासो छ।
What you should know
पाल्पा — सदरमुकाम तानसेन तराईबाट नजिकको पहाडी सहर हो । भिरालोमा अडिएको सहरबाट पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवल ४० किलोमिटर दूरीमा छ । यहाँबाट रूपन्देहीको बेलहिया नाका ६५ किलोमिटरमात्र टाढा छ ।
बेलहिया हुँदै मुलुक भित्रिने पर्यटक सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा भएर पर्यटकीय नगर पोखरा पुग्छन् । सिद्धार्थ राजमार्ग हुँदै बार्हैमास पर्यटक ओहोरदोहोर गरे पनि पाल्पाका गन्तव्य घुमेर फर्किने कमै हुन्छन् । भारतीय र तेस्रो मुलुकका पर्यटक आकर्षिक गर्ने पूर्वाधार र प्याकेज कार्यक्रमको कमीले गर्दा उनीहरू यहाँ टिक्दैनन ।
पर्यटन व्यवसायीले पाल्पा, गुल्मी र अर्घाखाँचीलाई ‘हिल स्टेसन’का रूपमा विकास गर्न माग गर्दै आएका छन् । उनीहरूको मागबमोजिम सरकारी निकाय र राजनीतिक दलले पनि तराईबाट नजिकका पहाडी गन्तव्यलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने बताउँदै आएका छन् । वर्षमा अधिकांश महिना तराईका जिल्लामा गर्मी हुन्छ । तराईका जिल्लाबाट एक/डेढ घण्टाको यात्रापछि बार्है महिना चिसो हुने पहाडी गन्तव्यमा पुग्न सकिन्छ । गर्मीमा नेपालमात्र नभएर भारतको उत्तर प्रदेशका नागरिकलाई समेत आकर्षित गर्न ‘हिल स्टेसन’को अवधारणा अघि सारिएको हो ।
तराई र पहाडी जिल्लामा प्रत्येक चुनावमा उम्मेदवारले पनि ‘हिल स्टेसन’का नारा अगाडि बढाउँछन् । तर, निर्वाचन सकिएपछि यस्ता नारा खेर जाने गरेको मतदाता गुनासो छ। ‘सबै उम्मेदवारका घोषणापत्र, प्रतिबद्धतापत्र, प्रतिज्ञा, संकल्पपत्र पढेँ,’ तानसेनका चित्रवलीराम सुवालले भने, ‘सबैले पाल्पाको पर्यटनलाई जोड दिएका छन् ।’ तर, तानसेनको पर्यटन विकास निर्वाचनमा राजनीतिक नारा मात्र बनिरहेको उनले सुनाए । यसपटक पनि मनोनयन दर्तादेखि पालिका, वडासम्मका कार्यकर्ता तथा मतदाता भेटघाटमा प्रायः सबै दलका उम्मेदवार ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र तानसेनको विकास गर्ने पुरानै वाचा दोहोर्याइरहेको उनले बताए ।
पर्यटन विकास चुनावी नारा बने पनि पूर्वाधार निर्माणमा ध्यान नदिएको उनले बताए । विगतमा गरिएका वाचा स्मरण गर्दै तानसेनका स्थानीय जीवन पाण्डेयले प्रतिबद्धता अनुसार काम भए/नभएको समीक्षा हुन नसकेको बताए । उनका अनुसार तानसेन पुरानो सहर हो । पर्यटकीय सम्भावना बोकेको सहरमा अहिले पर्यटन व्यवसायीले निर्धक्क लगानी पनि बढाइरहेका छन् । ‘तर, पर्यटकीय पूर्वाधार विविधता छैन,’ उनले भने, ‘अव्यवस्थित बजार, साँघुरा सडक, फितलो फोहोर व्यवस्थापन, अव्यवस्थित बसपार्क, अपेक्षित फाइदा लिन नसकेको टुँडिखेलले उम्मेदवारलाई गिज्याइरहेको पाएको छु ।’
यहाँस्थित श्रीनगरडाँडा, रानीमहल, रुरुक्षेत्र, भगवती तथा अमरनारायण मन्दिर परिसर विकासको पर्खाइमा छन् । उनका अनुसार पर्यटकीय पूर्वाधार विकास, ऐतिहासिक सहरको पहिचान दिलाउने, तानसेन मात्र नभई समग्र पाल्पाको विकास गर्ने भन्दै उम्मेदवारले मत मागिरहेका छन् ।
‘सेनवंशी राजा र राणाका पालामा बसेको सहर भए पनि तानसेन पछाडि परेको छ,’ तानसेन–६ की सविना बज्राचार्यले भनिन्, ‘आर्थिक लाभ र आफन्तलाई फाइदा पुर्याउन मात्र राजनीति गर्ने प्रवृत्ति हाबी देखिएको छ । जिल्लाका गन्तव्यको विकास प्रचार गर्ने हो भने पर्यटकको लर्को लाग्थ्यो ।’ बढ्दो जनघनत्वसँगै गुरुयोजना बनाएर विकास निर्माणका काम गर्नुपर्ने उनको भनाइ छ । 
तानसेनका धार्मिक स्थल, नगरको बाटो सहज बनाउने, रानीमहल पुग्ने सडक स्तरोन्नति र श्रीनगरमा पर्यटकीय पूर्वाधारका काम गर्ने सुझबुझयुक्त जनप्रतिनिधि आवश्यक रहेको त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक महेन्द्र पन्थीले बताए । ‘मुख्य कुरा सोचको अभावजस्तो लाग्छ,’ उनले भने, ‘उम्मेदवार हुने, फोस्रा नारा लगाउने अनि जितेर गएपछि कार्यकर्ताको पछि लाग्ने भएपछि सामाजिक विकास हुन सक्दैन । घोषणापत्रमा लेख्ने भन्दा व्यवहारमा कार्यन्वयन गर्नका लागि इच्छाशक्ति पनि हुनुपर्छ ।’
तानसेन बसपार्क वर्षौदेखि अलपत्र छ । अमरनारायण मन्दिर परिसरमा ऋणमा बनेको संरचना नष्ट भएका छन् । टुँडिखेलबाट पर्याप्त लाभ लिन सकिएको छैन । ‘श्रीनगर डाँडामा स्थानीयले सरसफाइ गर्नुपर्ने अवस्था छ,’ पन्थीले भने, ‘रानीमहलमा पुगेर एक घण्टा अडिने पूर्वाधार छैनन् । रिडी क्षेत्र .ऋषिकेशवको अवस्था उस्तै छ ।’ रामपुर, रम्भापानी, बल्ढेङगढी, रैनादेवी, जलेश्वरधाम लगायत दर्जनौं पर्यटकीय क्षेत्रमा पुग्न स्तरीय सडक निर्माण भएको छैन । पूर्वाधार तयारी अवस्थामा छैनन् ।
उम्मेदवारका महत्त्वाकांक्षी योजना
यसपटक पनि जिल्लाका उम्मेदवारले पहाडमा पूर्वाधार विकास गरेर ‘पर्यटकीय हब’ बनाउने प्रतिबद्धता दोहोर्याइरहेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पाल्पा–२ का उम्मेदवार सोमप्रसाद पाण्डेयले जिल्लाको विकासका लागि ‘पर्यटनको हब’को मुद्दा उठाएका छन् । आफ्नो २५ बुँदे चुनावी प्रतिबद्धता पत्रमा पहिलो प्राथमिकतामा पर्यटकीय क्षेत्रको विकास उल्लेख गरेका हुन् । त्यसपछि कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र रोजगारी, सुशासनका बुँदा उल्लेख गरेका छन् । जिल्लालाई पर्यटकीय हबका रूपमा विकास गर्ने पाण्डेको मात्र होइन, जिल्लास्थित मुख्य चार राजनीतिक दलका उम्मेदवारको प्रतिबद्धता रहेको छ । ‘तानसेनलाई ऐतिहासिक सहरका रूपमा विकास गरी नयाँ र पुराना घरको मौलिकपन कायम राख्नेछौं,’ पाण्डेयले भने, ‘टेलिया र भक्तपुरे इँटाजस्ता परम्परागत सामग्रीको प्रयोग गरी पर्यटकीय सहर बनाउने योजना रहेको छ ।’ तानसेनलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्ने योजना उनले अघि सारेका छन् । सिद्धबाबादेखि राम्दीघाटसम्म एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने विषय समेटेका छन् ।
मगरबहुल जिल्लामा मगर संस्कृतिलाई विश्वमा चिनाउन राष्ट्रिय स्तरको ‘मगर संग्रहालय’ र ‘मगर गाउँ’ स्थापना गर्ने पाण्डेयले बताए । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको तानसेन र आसपास क्षेत्रलाई लुम्बिनीसँग जोड्न श्रीनगरमा नेपालकै ठूलो बुद्ध मूर्ति स्थापना गर्नेसमेत योजना रहेको छ । ‘विभिन्न विहारको जिर्णोद्धार गरी आकर्षक तीर्थस्थल बनाउने योजना छन्््,’ पाण्डेयले भने, ‘माडीमा माण्डव्य आश्रम तथा बुडुवा र माण्डव्य ताल र रुरु क्षेत्रमा ऋषिकेश मोक्षधाम सरोवर निर्माण गर्ने, तथा नेपाल–अङ्ग्रेज युद्धको विजयगाथा झल्काउने ‘एङ्ग्लो–नेपाल वार गार्डेन’ र ‘युनिफिकेसन ट्रेल’ निर्माणका लागि एकीकृत गुरुयोजना तयार गर्नेछु ।’
तानसेनलाई ‘इभेन्ट टुरिजम’ को केन्ऽ बनाउन ३ हजार ५ सय सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको स्मार्ट सभाहल निर्माण गर्ने बताए । बल्ढेङगढीलाई राष्ट्रिय पार्कका रूपमा विकास गर्ने र नेवारी संस्कृति झल्काउन तानसेनमा ‘नेवाः छेँ’ सहित’ ‘टक्सार लिभिङ म्युजियम’ बनाउने योजना रहेको छ । नेकपाबाट पाल्पा १ का उम्मेदवार हुमबहादुर सुनारीले पाल्पाको पर्यटन विकास, यसका पूर्वाधार र रोजगारीसंग जोडेर काम गर्ने प्रमुख प्राथमिकतामा परेको छ ।
पाल्पा–२ का एमाले उम्मेदवार ठाकुरप्रसाद गैरेले पनि पाल्पा सभ्यता, पर्यटन र अर्थतन्त्रलाई जोड दिएका छन् । गैरेले सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा जिल्लालाई ‘पर्यटनको केन्द्र’ का रूपमा विकास गरिने उल्लेख छ । पर्यटकीय क्षेत्र बनाउन आवश्यक पूर्वाधार निर्माण गरेर रोजगारीको प्रमुख स्रोतको रूपमा विकास गर्ने उल्लेख गरेका छन् । ‘तानसेनमा रहेका सांस्कृतिक डबली, पार्क (उद्यान) बाटिका, तालतलैया, सांस्कृति, ऐतिहासिक, धार्मिक, पुरतात्विक धरोहरलाई पर्यटकीय केन्द्रको रूपमा विकास र निर्माण गरिनेछ,’ उनले भने, ‘कोकलछाप भगवतीटोल नजिकै फलाम खानी उत्खनन गरेर कर्णेल उजीरसिंह थापाले हातहतियार मर्मत र निर्माण गरिएको ठाउँमा उजिरसिंह पार्क निर्माण गरिनेछ ।’ पाल्पा–१ का एमाले उम्मेदवार नारायणप्रसाद आचार्यको मुख्य जोड पर्यटन तथा सांस्कृतिक विकासलाई नै रहेको छ । आफ्नो क्षेत्रमा रहेको रामपुर बजार र कालिगण्डकी तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधारमा उनले जोड दिएका छन् ।
पाल्पा–२ का कांग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठले कला, संस्कृति र सम्पदा संरक्षणको आधार पर्यटन विकास भएको बताए । पर्यटन उद्यमका माध्यमबाट नागरिकलाई स्वरोजगार बनाउने एजेण्डा उनले अघि सारेका छन् । पाल्पा–१ का कांग्रेस उम्मेदवार सन्दीप रानाले ‘आन्तरिक तथा बाह्य पर्यटकको नजरमा पूर्व र पश्चिम पाल्पालाई हिल स्टेसनका रूपमा विकसित जिल्लालाई पर्यटन हव बनाउन तत्कालीन र दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वय गराउन जोड दिइने’ बताएका छन् ।
दुवै क्षेत्रका कांग्रेस उम्मेदवारको संयुक्त घोषणापत्रमा रानीमहल क्षेत्रलाई जलाशययुक्त रानीताल र तालपोखरा (रामपुर) लाई समेत जलाशययुक्त ताल बनाई जिल्लाको गौरवको आयोजना बनाउने उल्लेख छ । रिडी, उत्तरवाहिनी, रानीमहल, राम्दी, केलादीघाट कालीगण्डकी क्षेत्रमा जल परिवहनको सम्भाव्यताको अध्ययन गर्ने उल्लेख छ । ऐतिहासिक पुरातात्विक पाटीपौवा, मठमन्दिर, बौद्ध विहार, मस्जिद, चर्च, तालपोखरी, खोला झरना तथा धार्मिक स्थलको संरक्षणगरि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना कांग्रेसको छ । पाल्पा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्त, पाल्पा २ का उम्मेदवार माधवबहादुर थापाले पनि जिल्लाका प्रमुख पर्यटकीय स्थल विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने उल्लेख गरेका छन् ।
