मनाङमा कांग्रेस, एमाले र राप्रपा एक ठाउँ, नेकपा एक्लै

तीन राजनीतिक दलका एक्ला उम्मेदवार कांग्रेसका टेकबहादुर गुरुङ हुन् ।

फाल्गुन १८, २०८२

आश गुरुङ

Congress, UML and RPP all together in Manang, NCP alone

What you should know

लमजुङ — देशभर प्रायः राजनीतिक दलहरू एक्ला–एक्लै चुनावमा छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) को कहींकतै तालमेल छैन । तर, मनाङमा भने कांग्रेस, एमाले र राप्रपाका एउटै उम्मेदवार छन् ।

तीन राजनीतिक दलका एक्ला उम्मेदवार कांग्रेसका टेकबहादुर गुरुङ हुन् । उनलाई एमाले र राप्रपाले समर्थन गरेका छन् । यसअघि एमालेका तर्फबाट उम्मेदवार दाबी गरेका पोल्देन छोपाङ गुरुङ टेकबहादुरसँगै हिँडेर भोट मागिरहेका छन् । त्यतिमात्रै नभएर एमालेका निवर्तमान जिल्ला अध्यक्ष कप्ली गुरुङ पनि साथै हिँडेका छन् ।

रोचक कुरा के छ भने २०७४ को निर्वाचनमा तिनै टेकबहादुर गुरुङलाई हराउँदै पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ मा तिनै पोल्देन छोपाङ गुरुङलाई हराउँदै टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार यशोदा गुरुङ (सुवेदी) पनि चुनावी अभियानमा छन् । उनी नेकपा नेता एवं आफ्नो श्रीमान् देवप्रसाद गुरुङसहित नेता–कार्यकर्ताका साथ छन् । मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले पनि चुनावी प्रचारमा छन् ।

कांग्रेस–एमालेले फागुन ९ गतेदेखि मनाङमा औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरेका थिए । यसअघि मनोनयन दर्ता गरेपछि काठमाडौं गएका उम्मेदवारले काठमाडौंमै घरदैलो गरेका थिए । काठमाडौंबाट मनाङ प्रवेश गर्दा सँगै रहेका कांग्रेसका टेकबहादुर र एमाले जिल्ला अध्यक्षसमेत रहेका पोल्देन छोपाङ सँगै चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा पनि सँगै रहे ।

मनाङको नार्पाभूमि गाउँपालिकाका बासिन्दा धेरैजसो गाउँ फर्केका छैनन् । त्यसैले उम्मेदवार र पार्टीका नेताहरू नार्पाभूमि जान छुट्टिने बाटो चामे नजिकै कोतो आसपास छन् । एकपटक उनीहरूले काठमाडौंमै घरदैलो गरे पनि नार्पाभूमि जान नसकेका उम्मेदवार भने नार्पाभूमि जान कोतो आएकाहरूसँग भोट मागिरहेका छन् ।

उम्मेदवार नगएपछि नार्पाभूमि गाउँपालिकामा कांग्रेस–एमालेले आफ्ना प्रतिनिधिहरू खटाएको स्रोतले बताएको छ । स्रोतका अनुसार नारका १ सय ३७ जना र फुका ४८ जना मतदान स्थलमा पुग्ने कार्यक्रम छ ।

एमाले जिल्ला अध्यक्ष पोल्देन छोपाङले काठमाडौंबाट उम्मेदवार टेकबहादुरसँगै मनाङ प्रवेश गरेको र चुनावी अभियानमा संगै हिँडेको बताए । ‘हाम्रो साझा उम्मेदवार भएपछि हामी सँगै हिँड्यौं,’ उनले भने । कांग्रेस जिल्ला सभापति शंकर गुरुङले साझा उम्मेदवारलाई जिताउन कांग्रेस–एमाले सँगसँगै हिँडेको बताए । नेकपा उम्मेदवार यशोदाको पनि नार्पाभूमि जाने कार्यक्रम नरहेको स्रोतले बतायो ।

नेकपा मनाङ संयोजक बेदबहादुर गुरुङले उम्मेदवारको घरदैलो कार्यक्रम नासों गाउँपालिकाबाट सुरु भएर चामे गाउँपालिका हुँदै मनाङ ङिस्याङ गाउँपालिकामा पुगेको बताए । ‘नार्पाभूमिका मतदातासँग काठमाडौंमा एकपटक भेटिसकियो । नार्पाभूमिका मतदातासँग कोतोमा भेटघाट हुन्छ,’ उनले भने ।

कांग्रेस–एमालेबीच भागबण्डामा गोला प्रथाबाट कांग्रेसको भागमा प्रतिनिधिसभा सदस्य उम्मेदवार र एमालेको भागमा प्रदेश सभा सदस्य उम्मेदवार पर्‍यो । धर्म गुरुहरूको रोहबरमा गरिएको एउटा बाचामा बसेर उनीहरूले सहमति जनाए । प्रतिनिधिसभा परेको कांग्रेसका तर्फबाट टेकबहादुर गुरुङले उम्मेदवारी कायम राखे । एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङले उम्मेदवारी फिर्ता लिए ।

मनाङमा २०५६ सालको निर्वाचनमा कांग्रेसका पाल्तेन गुरुङ (टेकबहादुर गुरुङका दाइ) निर्विरोध निर्वाचित भएका थिए । २०७० मा टेकबहादुरले पोल्देन छोपाङका भाइ तत्कालीन राप्रपाका उम्मेदवार त्रिपल पी गुरुङलाई हराउँदै दोस्रो संविधानसभा सदस्य जितेका थिए ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully