यतिबेला यहाँका देउवा समर्थकहरु विगतका चुनावी चहलपहल र यतिबेलाको अवस्थालाई तुलना गर्दै चुनाव नै आएजस्तो नलागेको बताउँछन् ।
What you should know
डडेलधुरा — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको जन्मगाउँ डडेल्धुराको गन्यापधुरा १ मटेलागाउँ चुनावको मुखमा पनि सुनसान छ । शुक्रबार मध्यान्ह्र मटेला पुग्दा यहाँका देउवा परिवार गाउँभन्दा केही तल गाढ (खोला) किनारमा रहेको आफ्नो कुलदेउताको मन्दिर बनाउन ब्यस्त थिए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको जन्मगाउँ डडेल्धुराको गन्यापधुरा १ मटेलागाउँ चुनावको मुखमा पनि सुनसान छ । शुक्रबार मध्यान्ह्र मटेला पुग्दा यहाँका देउवा परिवार गाउँभन्दा केही तल गाढ (खोला) किनारमा रहेको आफ्नो कुलदेउताको मन्दिर बनाउन ब्यस्त थिए ।
०४८ यताका हरेक निर्वाचनमा निकै उत्साहका साथ खटिन्थे उनीहरु । तर आफूहरुलाई पहिलो पटक निर्वाचनबारे खासै जाँगर नचलेको उनीहरुले बताए । ‘विगतका निर्वाचनमा महिना दिनसम्म देउवालाई मत माग्दै प्रचारप्रसारमा गाउँगाउँ घरघर पुग्थ्यौं । जब मत परिणाम घोषणा हुन्थ्यो, त्यसपछि अबिरयात्रा गर्दै बल्ल घर फर्किन्थ्यौं,’ पूर्वप्रधानमन्त्री देउवाका काका नाता पर्ने कर्णबहादुर देउवाले भने, ‘यसपाली त कुनै उत्साह छैन ।’
देउवाको जन्मगाउँ मटेलावासी यसरी जाँगर मारेर बस्नुको मुख्य कारण हो, पूर्वप्रधानमन्त्री एवम् कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा यसपल्ट चुनावी प्रतिस्पर्धाको मैदानमा नहुनु । मटेलावासी मात्र होइन, डडेल्धुरामा देउवा समर्थक अधिकांश मतदाताहरु उत्साहित देखिँदैनन् । विगत डडेल्धुरामा कांग्रेस समर्थकका लागि चुनाव एक पर्व जस्तो हुन्थ्यो । प्रतिस्पर्धाको मैदानमा विभिन्न पार्टीबाट जति पार्टी र जोसूकै उम्मेदवार उठेका भए पनि कांग्रेसबाट सदावहार उम्मेदवार उनै देउवा हुन्थे । उनी उम्मेदवार मात्र हुन्थेनन्, चुनाव जित्नेमा कांग्रेससमर्थक मात्रै होइनन्, विपक्षी उम्मेदवारका समर्थक पनि ‘आखिरमा चुनाव जित्ने त देउवा नै हुन्’ भन्नेमा ढुक्क हुन्थे । ‘डडेल्धुरामा कांग्रेसका लागि चुनाव त एक प्रक्रिया मात्रै हुन्थ्यो, जित्ने त उनै देउवा नै हुन् भन्ने धारणा बनिसक्थ्यो । चुनावी चहलपहलको त कुरै नगरौं, बेग्लै उमंग हुन्थ्यो,’ गन्यापधुरा–१ बेहटाका ७९ वर्षीय टेकराज अवस्थीले भने, ‘यसपाली देउवा उम्मेदवार छैनन्, खोइ के हुन्छ यकिन छैन ।’
यतिबेला यहाँका देउवा समर्थकहरु विगतका चुनावी चहलपहल र यतिबेलाको अवस्थालाई तुलना गर्दै चुनाव नै आएजस्तो नलागेको बताउँछन् । ०७९ को चुनावमा देउवाले डडेल्धुरामा चार दिन बसेर सात वटा चुनावी सभालाई सम्बोधन गरेका थिए । सदरमुकाम रहेको अमरगढी नगरपालिकास्थित बागबजार, नवदुर्गा, गन्यापधुरा, अजयमेरु, भागेश्वर आलिताल र परशुराममा आयोजित सभालाई उनले सम्बोधन गरेका थिए । ती सभामा उनले न लामोलामो भाषण गरेनन् । न उनले विपक्षीको कुनै आलोचना नै गरे । ‘अघिपछि सधैं गुनासो गर्नेहरु पनि मतदानका बेला अरुलाई भोट हालेर के गर्नु, देउवालाई दिएपछि उनी प्रधानमन्त्री हुन्छन् भन्ने बुझाईमा सबैले उनलाई नै भोट हाल्थे,’ गन्यापधुराका हरिप्रसाद भण्डारीले भने ‘अरुलाई भोट हालेर किन खेर फाल्नु भन्ने हुन्थ्यो । त्यही भएर देउवा अत्याधिक मतले जित्थे ।’
जेन–जी आन्दोलनका क्रममा आफ्नै घरमा सांघातिक आक्रमणबाट घाइते बनाइएका देउवा डडेल्धुराबाट यसपटक पनि चुनाव लड्न चाहन्थे । देउवाकै चाहना अनुसार जिल्ला कार्यसमितिले उम्मेदवारमा देउवाको एकल नाम सिफारिस गरेको थियो । ‘उम्मेदवारी दर्ता गराउने अघिल्लो रात अन्तिम समयमा हालका सभापति पक्षले टिकट त दिन्छौं, तर संसदीय दलमा नउठ्ने प्रतिवद्धता गर्नु पर्यो भने, देउवा निकट एक नेताले सुनाए, ‘त्यसअघि देउवालाई पनि टिकट दिने भन्दै देउवा समर्थक वरिष्ठ नेताहरुलाई टिकट दिएर पठाइयो । तर अन्तिम समयमा देउवालाई त्यस्तो सर्त राखेपछि मध्यरातमा देउवा सचिवालयले शेरबहादुर देउवा चुनाव नलड्ने सार्वजनिक जानकारी गराउनु परेको थियो ।’
लगातार ३४ वर्ष कांग्रेस र सत्ता राजनीतिको केन्द्रमा रहेका देउवाको संसदीय यात्रामा विराम लाग्दै गर्दा देउवा समर्थकको बाहुल्यता रहेको डडेल्धुरामा मात्रै होइन, सुदूरपश्चिमभर कांग्रेस नेता कार्यकर्ता निरास देखिन्छन्। पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद भएका देउवा ०४८ मा पहिलो पटक डडेल्धुरामा उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा डडेल्धुरामा खसेको मतको ७०.५ प्रतिशत मत पाएर विजयी भएपछि देउवाको संसदीय यात्रा आरम्भ भएको थियो । पहिलो पटकको चुनावी प्रतिस्पर्धामा उनले निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दप्रसाद कलौनीलाई पराजित गरेका थिए ।
०४८ मा सुदूरपश्चिम कांग्रेसको चुनावी नेतृत्व नै उनले हाँकेका थिए । त्यस निर्वाचनमा उनकै नेतृत्वमा सुदूरपश्चिमका १९ सिटमध्ये १८ मा कांग्रेसले जितेको थियो । पहिलो पटक निर्वाचित भएकै बेला उनी गृहमन्त्री भए । त्यसयता उनी निरन्तर सत्ताका सदावहार खेलाडीका रुपमा रहे ।
उम्मेदवारी दिएका सात वटै निर्वाचनमा उनले ‘सानदार’ विजय पाए । अघिपछिका चुनावमा मात्रै होइन, सुदूरपश्चिममा अन्य निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरु पराजित हुँदा पनि देउवा भने विजयी भएका थिए । ०६४ र ०७४ को निर्वाचन कांग्रेसले निकै धक्का व्यहोरेको चुनाव थियो । ०६४ को संविधानसभा निर्वाचनमा माओवादी प्रभाव थियो भने ०७४ मा एमाले र माओवादी एक भएका थिए । तर देउवाले भने ती चुनाव भने हारेनन् ।
०६४ को निर्वाचनमा देउवाले निकटतम प्रतिस्पर्धी माओवादीका खगराज भट्टलाई १ हजार ३६८ मतले पछाडि पारेका थिए । ०७४ को चिर्वाचनमा देउवाले २८ हजार ४४ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी रहेका उनै भट्टले २१ हजार ११५ मत पाएका थिए । यसरी ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ७९ मा भएका निर्वाचनमा देउवाले नै जिते । त्यतिमात्रै होइन, देउवाले जहाँ उम्मेदवारी दिए, त्यहीँ जिते । ०६४ मा कञ्चनपुर ४ र ०७० मा कैलाली ६ बाट पनि विजयी भएका थिए ।
देउवा यस निर्वाचनमा पनि डडेल्धुराबाट उम्मेदवार हुन चाहन्थे । डडेल्धुराबाट उनले एकल उम्मेदवारका रुपमा नाम पनि सिफारिस गराएका थिए । तर यसैबीचमा कांग्रेसमा विशेष महाधिवेशन भएपछि उक्त प्रक्रियामा असहमत देउवा पार्टीको सत्ताबाट मात्र होइन, संसदीय यात्राबाट पनि किनारामा पुग्नु पर्ने अवस्थामा धकेलिएका हुन् । देउवाका समर्थकहरु उत्साहित नहुँदा सबैभन्दा बढ्ता डडेल्धुराका उम्मेदवार नैनसिंह महर दबाब झेलिरहेका छन् । तर उम्मेदवार महर भने पार्टीभित्रका गुनासा घटाउँदै लगिएकोले सुरुआततिरको जस्तो अवस्था नरहेको दाबी गर्छन् । ‘शेरबहादुर देउवालाई माया गर्ने डडेल्धुराका कांग्रेस सदावहार प्रजातन्त्रप्रेमी छन्, कांग्रेस जित्नेमा कुनै सन्देह छैन, उम्मेदवार को छ भन्ने कुरा गौण हो ।’ साथै उनले डडेल्धुरामा देउवापछिको प्राथमिकता आफू नै भएको दाबी गरे । ‘सुरुमा उहाँले चुनाव लड्ने भनेपछि एकल सिफारिस गरेका थियौं । म अन्य क्षेत्रमा चुनाव लड्ने तयारी गर्दै थिएँ,’ तर अन्तिममा उहाँको सचिवालयले देउवा चुनाव नलड्ने भनेपछि मेरो तयारी भएको हो ।’
उनले पार्टीका नेताहरुमा कुनै मतभेद नभएको दाबी गर्दै कांग्रेस बीपी पनि समाहित भइसकेपछि आफ्नो पक्षमा माहोल बढेको बताए । आइतबार कांग्रेस बीपी नेपाली कांग्रेसमा समाहित भएको हो । ‘देउवा टावरिङ पर्सनालिटी हुनुहुन्थ्यो । उहाँ उम्मेदवार हुँदा डडेल्धुराका मतदातामा हाम्रो क्षेत्रले प्रधानमन्त्री पाउँछ भन्ने हुन्थ्यो,’ डडेल्धुरामा प्राध्यापन क्षेत्रमा कार्यरत रमेशकुमार जोशी भन्छन्, ‘देउवाका अगाडि नैनसिंह महरको व्यक्तित्व ‘सानो’ देखिए पनि लामोसमयदेखि कांग्रेसको राजनीतिमा क्रियाशील रहेको परिचित उम्मेवार भएकाले कांग्रेस समर्थकले महरप्रति धेरै विमति राख्लान् भन्ने लाग्दैन ।’
कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका कांग्रेस बीपीका केन्द्रीय उपसभापति कर्णबहादुर मल्ल डडेल्धुराको राजनीतिमा प्रभाव राख्छन् । यता, देउवाले मैदान छाड्दा डडेल्धुरामा अन्य दलका उम्मेदवार भने उत्साहित छन्। गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर प्रदेशसभा सदस्य निर्वाचित भएका ताराप्रसाद जोशी रास्वपाबाट उम्मेदवार भएका छन् । ‘देउवाले मैदान छाड्नु, कांग्रेसभित्र मतभेद कायम रहनु मैले चुनाव जित्ने आधार हो,’ जोशीले भने ‘मेरो शैक्षिक पृष्ठभूमि, विकासप्रतिको अवधारणा, आममतदातामा देखिएको सहानुभूति र पार्टीप्रतिको लहरका कारण मैले चुनाव जित्नेमा शंका छैन ।’
प्रदेशसभा सदस्यको जिम्मेवारी बीचैमा छाडेको गुनासोप्रति आफू सचेत रहेको बताउँदै उनले त्यो राजनीतिक कुरा भएको बताए । ‘लगभग तीन वर्ष प्रदेशसभामा रहेर भूमिका निर्वाह गरें, मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष मन्क्री नियुक्तिका लागि मेरो नाम सिफारिस गर्दा पनि मैले मन्त्री पद अस्वीकार गरें,’ उनले भने ‘प्रतिनिधिसभामा पुगेर प्रभाव देखाउने र विकास गर्ने बृहत्तर अवसर देखेर यो निर्णय गरेको हुँ ।’
डडेल्धुराको चुनावी मैदानमा रहेका अर्का उम्मेदवार नेकपाका मानसिंह माल हुन् । उनले आफ्नो पार्टीको मत विगतभन्दा बढ्ने दाबी गरे । ‘बजेट निर्माणका बेला पालिका भेला गरेर योजना छनोट गराउँछु, रित्तिँदै गएको पहाडमा बसाइँसराइ रोक्न स्वास्थ्य सेवा, शिक्षामा सुधार र सडक यातायात सुदृढ गर्न पहल गर्छु,’ उनले भने ।हालसम्म आफू कुनै लाभको पदमा गएको नगएको दाबी गरे पनि उनकै परिवारले मात्र अवसर पाइरहेको आरोपबाट भने उनी घेरिएका छन् । श्रीमती गीता माल हाल प्रदेशसभा सदस्य छिन् भने स्थानीय तहको निर्वाचनमा परशुराम नगरपालिकाको मेयरमा उनका दाजु शेरसिंह माल उठेका थिए । तर मालले भने नेताहरुले बल गरेर टिकट थमाइदिएको बताए ।
सात स्थानीय तह रहेको डडेल्धुरामा भित्री मधेश क्षेत्रमा पर्ने परशुराम र आलीतालमा विगतदेखि कम्युनिष्टको वर्चश्व हो । स्थानीय तहको नतिजाका आधारमा अजयमेरु पनि साविक माओवादीकै प्रभाव क्षेत्र हो । शेरबहादुर देउवाकै पनि यस क्षेत्रमा कमजोर मत हुन्थ्यो । गन्यापधुरा, अमरगढी र भागेश्वर कांग्रेसको गढ मानिने कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।
