वर्षौंदेखि नेताहरुले वाचा गर्दै आए पनि बैतडीको झुलाघाट नाकामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण हुन सकेको छैन ।
What you should know
बैतडी — ‘जबजब चुनाव आउँछ, त्यस बेला मात्रै बन्छ झुलाघाटमा पक्की पुल’ बैतडीका नागरिक अगुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले झुलाघाटमा पक्की पुल निर्माण मागको नालीबेली सुनाउँदै भने, ‘अहिले फेरि चुनाव आएको छ । उम्मेदवारहरुले पुल निर्माणकै वाचा गरिरहेका छन् । तर हामीलाई विश्वास लाग्दैन ।’
पारि भारततर्फ दोहोरो लेनको पक्की सडक छ । वारि नेपालतर्फ पनि मध्यपहाडी लोकमार्गको अन्तिमबिन्दु झुलाघाटसम्म सडक कालोपत्र भइसकेको छ । तर नेपाल–भारत जोड्ने महाकाली नदीमाथि झुलाघाट सीमा नाकामा पक्की पुल छैन । डेढ सय वर्षअघि निर्माण भएको जीर्ण अवस्थाको झोलुंगे पुलको भरमा पैदल आवतजावतबाहेक विकल्प छैन ।
यही झुलाघाट सीमामा पक्की पुल निर्माणको माग बैतडीको सदावहार चुनावी एजेण्डा हो । विगतका सबैजसो निर्वाचनमा झुलाघाटमा पक्की पुल निर्माणकै वाचा गर्दै उम्मेदवारहरु मत माग्थे । आसन्न निर्वाचनमा पनि यहाँ यही एजेण्डा जोडतोडले चर्चामा छ ।
सुदूरपश्चिममा भारत आवतजावत गर्ने पहिलोसीमा नाका बैतडीको झुलाघाट हो । स्थानीयका अनुसार सुदूरपश्चिम र कर्णालीका बासिन्दा पनि यही नाका भएर भारत आवतजावत गर्थे । झुलाघाटमा महाकाली नदीमाथि अंग्रेजकालीन समयमा निर्माण गरिएको झोलुंगे पुल छ । वर्षौंदेखि माग गर्दै आए पनि यातायातका साधन ओहोरदोहोर गर्ने पक्की पुल भने अहिलेसम्म छैन । बैतडीका धार्मिक पीठमा आराधना गर्न वर्सेनि ठूलो संख्यामा भारतीयहरु आउँछन् । तर उनीहरुले यातायातको कठिनाई भोग्नुपर्ने बाध्यता छ । त्यही भएर यहाँका बासिन्दाले दशकौंदेखि पक्की पुल निर्माणको माग गर्दै आएका हुन् । झुलाघाटमा पक्की पुल बने यहाँको जीवनस्तर उकासिने विश्वासमा छन् यस क्षेत्रका बासिन्दा ।
विगतका हरेक निर्वाचनमा झुलाघाटमा पक्की पुल निर्माणको वाचा गरेका एमाले उम्मेदवार दामोदर भण्डारीले पनि त्यही वाचा दोहोर्याएका छन् । भण्डारीले बैतडीबाट लगातार तीन पटक निर्वाचन जिते । दुई पटक मन्त्री भए । तर उनले झुलाघाटमा पक्की पुल निर्माणको वाचा भने पूरा गर्न नसकेको गुनासो यहाँका बासिन्दाको छ।
चुनावी मैदानमा रहेका कांग्रेस उम्मेदवार चतुरबहादुर चन्द आफूले जितेमा झुलाघाटमा पक्की पुल निर्माण पहिलो प्राथमिकता रहेको बताए । ‘विगतमा आश्वासन दिएर चुनाव जितेका प्रतिनिधिले पहल नगरेकै कारण झुलाघाटमा पक्की पुल बन्न नसकेको हो,’ चन्द भन्छन् ‘म पुल निर्माणमा परिणाम आउने गरी काम गर्छु ।’
नेकपाका उम्मेदवार परमानन्द भट्ट पनि बैतडी र बझाङको विकासका लागि झुलाघाटमा पक्की पुल अत्यावश्यक रहेको बताउँछन् । ‘भारतसँगको कुटनीतिक पहलमा यो पुल निर्माण गर्नु हाम्रो मुख्य प्राथमिकता हो,’ उनले भने । रास्वपा उम्मेदवार हरिमोहन भण्डारी भने आफुहरुको प्रमुख प्राथमिकता देशमा सुशासन कायम गर्नु, बेथीति र भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताउँछन् । ‘झुलाघाटमा पक्की पुल आवश्यक छ । तर तत्काल बनाइहाल्छौं भनेर आश्वासन दिनु छैन,’ उनले भने ‘जनतालाई झुटा नारा दिएर भोट बटुल्नु छैन ।’
बैतडीबाट जनप्रतिनिधि चुनिएका नेता मात्रै होइनन्, विगतमा प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु सबैले झुलाघाटमा पक्की पुल निर्माण गर्ने वाचा गरेका थिए । ०७९ को निर्वाचन सभाका क्रममा बैतडीको पाटनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा पक्की पुल निर्माण गर्ने वाचा गरेका थिए । ‘झुलाघाटमा अब थोत्रो पुलले हुँदैन, अबको जमानामा झुलाघाटमा पक्की पुल बन्छ,’ एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘त्यो जिम्मा एमालेले लिन्छ, मैले लिन्छु ।’
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि बैतडीमै पुगेर झुलाघाटमा पक्की पुल निर्माण गर्ने प्रतिवद्धता गरेका थिए । उनले पनि बैतडीमा आयोजित एक सभामा भनेका थिए, ‘झुलाघाटमा पक्की पुल बनाउने मैले गरेको पहल तपाईहरुलाई थाहै छ । पुल बन्छ ।’
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि बैतडीमा आयोजित चुनावी सभामा बोल्दै यस क्षेत्रको विकासका लागि झुलाघाटमा मोटरेबल पुल आवश्यक रहेको बताएका थिए । तर शीर्ष नेताहरु सबैले वाचा गरे पनि हालसम्म पुल निर्माणको सुरसार अहिलेसम्म नभएको स्थानीय बताउँछन् । ‘तत्कालीन प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझायौं । पूर्वप्रधानमन्त्री रहेका बाबुराम भट्टराईलाई त जोखिम मोलेर अहिलेको जीर्ण पुलकै बीचमा ज्ञापनपत्र बुझाएका थियौं,’ उद्योग वाणिज्य संघका उपाध्यक्ष भट्ट भन्छन् ‘भारतीय प्रधानमन्त्रीले पनि पत्रकार सम्मेलनमार्फतै पुल बनाउने घोषणा गरेको सुन्यौं, तर पुल बन्ने टुंगो छैन ।’
०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएका थिए ।
विगतमा झुलाघाट सीमा नाकामा पक्की पुल निर्माणको माग गर्दै बैतडीका बासिन्दा १७ दिन लगातार रिले अनसन बसेका थिए । उद्योग वाणिज्य संघले उक्त रिले अनसनको संयोजन गरेको थियो । त्यसबेला बैतडीका जनप्रतिनिधिलगायत विभिन्न पार्टीका नेताहरुले झुलाघाटमा पक्की पुल बनाउन पहल गर्ने आश्वासन दिएका थिए ।
बैतडीका बासिन्दाले पुल निर्माणको माग गर्दै १० हजार बैतडीवासीको हस्ताक्षर संकलन ररेर तत्कालीन सरकार र भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बैतडीका नागरिक अगुवा महेश भट्ट बताउँछन् । ‘उद्योग वाणिज्य संघकै पहलमा पुल निर्माणको माग गर्दै १० हजार नागरिकको हस्ताक्षरसहित भारतीय दूतावास र नेपाल सरकारलाई ज्ञापन पत्रमार्फत बुझाएका थियौं,’ भट्ट भन्छन्,‘तर सुनुवाई भएन । अहिले फेरि चुनावका बेला नेताहरुले पक्की पुल बनाउने आश्वासन दिइरहेका छन्।’
झुलाघाट पश्चिम नेपालको पुरानो नाका हो । यो नाका भएर अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका बासिन्दा रोजगारीका लागि भारत आवतजावत गर्ने गर्दछन् । तर नाकामा पक्की पुल नहुँदा यो क्षेत्रको व्यापार व्यवसायमा समेत असर परीरहेको झुलाघाटमा ब्यापार गर्दै आएका बैतडीका हरिषबहादुर चन्द बताउँछन् । पक्की पुल निर्माण भए बैतडी क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बैतडीवासीको साझा बुझाई छ ।
