सुरुवातदेखिका भेटमै एमालेले निर्वाचन निष्पक्ष र सुरक्षित भए भाग लिन्छौं भन्दै आएको र सरकारले सुरक्षाको प्रत्याभूति दिएको बताए ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले चुनावको विरोधमा नभएको बताएका छन् । कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले एमालेले निर्वाचनमा सुरक्षा र निष्पक्षता खोजेको बताएका हुन् ।
उनले भनेका छन्, ‘एमाले चुनावको विरोधमा सुरुदेखि नै थिएन । उसले निर्वाचनमा सुरक्षा दिन सकेमा र निष्पक्ष भएमा निर्वाचनमा भाग लिन तयार रहेको भन्दै आएको थियो । हामी चुनाव विरोधी होइनौं भन्दै सरकारको वैधानिकतामा मात्र प्रश्न उठाउने काम गरेको थियो ।’
सुरुवातदेखिका भेटमै एमालेले निर्वाचन निष्पक्ष र सुरक्षित भए भाग लिन्छौं भन्दै आएको र सरकारले सुरक्षाको प्रत्याभूति दिएको बताए ।
अहिले चुनाव रोकिन सक्छ भन्ने हल्लाहरुमा सत्यता नभएको उनको भनाइ छ । उनले यस्ता हल्ला र आशंकाहरुमा कुनै वैधानिकता नरहेको दाबी गरे ।
उनले भने,‘निर्वाचन निष्पक्ष र राम्रोसँग सुरक्षा दिएर गर्नुहुन्छ भने चुनावमा भाग लिन्छौं भनेर सुरुकै भेटघाटदेखि भन्नुभएको हो नि । एमालेका महासचिव शंकर पोखरेल लगायतले हामीसँगको औपचारिक र अनौपचारिक भेटमा यही भन्नुभएको थियो । एमालेका प्रतिनिधिहरू सरकारले छलफलमा बोलाएको समयमा आउनुभएको हो नि । यसकारण अहिले एमालेका अध्यक्ष र प्रधानमन्त्रीको भेटघाटपछि मात्र यस्तो वातावरण बनेको भन्न मिल्दैन । अगाडिदेखि उहाँहरूको सवाल त्यही थियो । शान्ति सुरक्षाको प्रत्याभूति र निष्पक्ष रूपमा निर्वाचन हुन्छ कि हुँदैन भनेर उहाँहरूले सुनिश्चितता खोज्नुभएको थियो । त्यो प्रत्याभूति हामीले दियौं ।’
