रेशमबिनाको टीकापुर, नाउपाकै पूर्वनेताहरूबीच प्रतिस्पर्धा

नागरिक उन्मुक्ति पार्टी विभाजित भएपछि नेताहरू पनि तितरबितर भएका छन्, नाउपा नेपालका रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि उनले कैलाली–१ मा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीलाई समर्थन गरेका छन्, तत्कालीन नाउपाका नेताहरू रामलाल डगौरा नेकपा, कोमल ज्ञवाली रास्वपा, प्रदीप चौधरी उज्यालो नेपालबाट उम्मेदवार छन्

फाल्गुन १७, २०८२

अर्जुन शाह, जयसिंह महरा

Tikapur without silk, competition between former leaders of Naupa

What you should know

टीकापुर — ‘अस्तिसम्म उहाँ (रेशम चौधरी) को जुन क्रेज थियो, अब रहेन । नागरिक उन्मुक्तिलाई जुन विश्वास २०७९ सालमा दिइयो, जुन मुद्दाका साथ संसद्मा पठायौं, त्यो मुद्दा स्थापित गर्न सकेन । पार्टी नै ध्वस्त भयो ।’ थारू आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा भएको घटनामा संलग्न रहेको आरोपमा ३ वर्ष जेल जीवन कटाएर अदालतबाट निर्दोष साबित भई घर फर्किएका विश्राम कुस्मी (चौधरी) ले नेता रेशमलाल चौधरीका सम्बन्धमा हालै गरेको टिप्पणी हो यो । 

टीकापुरको कृषि क्याम्पसछेउमा विश्राम आन्दोलनबाट भोगेका दुःख र समुदायका आशामाथि भएको तुषारापातको वर्णन गर्दा हतास देखिन्थे । विश्राम २४ चैत २०७२ मा पक्राउ परेका थिए । उनी २२ फागुन २०७५ मा निर्दोष ठहरिँदै जेलमुक्त भएका थिए । उनको विश्वास भने कायमै छ– समाजलाई अगाडि लैजान आन्दोलन जारी रहनेछ ।

त्यो आन्दोलनको शक्तिमा गठित रेशमलाल चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी अहिले छिन्नभिन्न भएको छ । यो दम्पतीको विवादले अहिले रेशम पक्षधरले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेको छ, रञ्जिताको समूह नेकपामा मिसिएको छ । 

२०७९ को चुनावमा नागरिक उन्मुक्तिले कैलाली टीकापुर क्षेत्रका तीन प्रतिनिधिसभा सिट जितेको थियो । रेशमका बुबा लालवीर स्वतन्त्रतर्फ बर्दियाबाट विजयी भई सांसद बनेका थिए । पछि लालवीर नागरिक उन्मुक्तिमै समावेश भए । तर, अहिले नागरिक उन्मुक्तिको आधार क्षेत्र टीकापुरमा यही पार्टीको नामोनिसान छैन । यो तीन वर्षको बीचमा नागरिक उन्मुक्तिका नेताहरू छिन्नभिन्न हुँदा गत चुनावमा पार्टीको चुनाव चिह्न ढकियामा भोट हालेका मतदाता पनि पश्चातापमा छन् । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कैलालीका पाँचमध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको नागरिक उन्मुक्ति पार्टी यस पटक चुनावी मैदानमै छैन । न पार्टीको नाम छ न त चुनाव चिह्न ढकिया । यस पटकको निर्वाचनमा थारू आन्दोलनका एजेन्डा पनि जनतामाझ उम्मेदवारहरूले दिन सकेका छैनन् ।

‘हुन त विकास निर्माणमा अहिले पनि जोड दिइराखेका छन् । कांग्रेसले शिक्षा, स्वास्थ्यको कुरा गरिराखेको छ । एमालेले पनि निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्यमा बढी जोड दिइराखेको छ,’ कैलाली–१ का मतदाता थारू नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरीले भने, ‘माहोल परिवर्तन भएको छ, पहिलेको मुद्दा थारूवानको थियो, अहिले त्यसको चर्चा छैन ।’

अघिल्लो चुनावका मुद्दामा मत जाहेर गरेका टीकापुरका मतदाता यस पटक छिन्नभिन्न भएको दिलबहादुरले सुनाए । ‘ढकिया विभिन्न भागमा विभाजित भइहाल्यो । त्यसकारण मतदाता पनि तितरबितर भएका छन् र नेताहरू त झनै छन् । कोही बिजुली चिह्नमा गए, कोही चकियामा छन्, कोही ढिकीको पनि कुरा ल्याइराखेका छन् र कोही माटोतिर पनि लागेका छन्,’ उनले भने ।

Tikapur without silk, competition between former leaders of Naupa

नाउपा नेपालका संरक्षक रहेका रेशमको यस पटक चकिया चुनाव चिह्न छ । तर उनलाई पहिलेको जस्तो भोट माग्न सहज अवस्था छैन । कैलाली–१ मा पर्छ टीकापुर । यहाँ उनले उम्मेदवारी दिएका थिए । सर्वोच्च अदालतबाट फौजदारी अभियोगमा सजाय पाएकाले उनको उम्मेदवारी रद्द भयो । उनले यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीलाई समर्थन गरेका छन् । 

कैलाली–१ मा नेकपाबाट रामलाल डगौरा थारू उम्मेदवार छन् । उनी नाउपाबाट स्थानीय तह निर्वाचन जितेर टीकापुर नगरपालिकाको मेयर भएका थिए । नाउपाकै अर्का नेता प्रदीप चौधरी उज्यालो नेपालबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । नाउपाकै एक टुक्रा श्रम संस्कृति पार्टीमा गएको छ । श्रम संस्कृति पार्टीबाट सरस्वती चौधरी उम्मेदवार बनेकी छन् । उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका दामोदर पण्डितको समूह रास्वपामा विलय भएको छ । कैलाली–१ मा रास्वपाले साविक नाउपाकै कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको छ । अर्की नेता रूपा चौधरी आम जनता पार्टीबाट उम्मेदवार बनेकी छन् । एमालेका द्वारिकाप्रसाद न्यौपाने र कांग्रेसबाट जनक चौधरी उम्मेदवार छन् ।

निर्वाचनको मतपरिणामले अब रेशमको प्रभाव आकलन हुने अगुवा दिलबहादुर बताउँछन् । ‘रेशमको अवस्था पहिले जुन थियो, त्यो अवस्था अहिले रहँदैन जस्तो लाग्छ । मेरो अनुमानमा, उनको इज्जत सायद यही कैलालीले जोगाउला, त्यसमा पनि क्षेत्र नम्बर २ ले, नत्र गाह्रो छ,’ उनले भने । अघिल्लो निर्वाचन क्षेत्रमा बर्दियाबाट पनि रेशमको नाममा भोट खसेको थियो ।

टीकापुरमा सक्रिय नागरिक समाजका अगुवा फिरुलाल चौधरी नाउपाको नेतृत्व पार्टी उद्देश्यबाट विमुख भएपछि थारू पहिचानका लागि भएको आन्दोलन नै ओझेलमा परेको बताउँछन् । ‘नागरिक उन्मुक्तिको लक्ष्य थारूहरूको सवाल सडकदेखि सदनसम्म पुर्‍याउने थियो । तर बीचमा पारिवारिक द्वन्द्वभन्दा पनि त्यहाँभित्रकै मान्छेहरूले उनीहरूलाई फुटाउने काम गरेजस्तो मलाई लाग्छ,’ उनले भने ।

उनका अनुसार अहिले थारूहरू चार राजनीतिक दलतिर बाँडिएका छन् । ‘नागरिक उन्मुक्ति पार्टीमा एमाले, राप्रपा र कांग्रेसबाट असन्तुष्ट भएकाहरूको जमघट थियो । कोही रेशमको पछि लागे त कोही रञ्जिताको, जसले पार्टी क्षतविक्षत भयो । वास्तवमा यो दम्पतीको मात्र झगडा होइन, स्वार्थमा केन्द्रित भएकाहरू हाबी भएका हुन्,’ फिरुलालले भने । 

रेशमको भरोसाले भोट हालेको तर मतदाताले आस गरेजस्तो काम नभएको नयाँ लाइफपुर सुकुम्बासी बस्तीकी सोमी चौधरीले बताइन् । कैलाली–१ को कृषि क्याम्पसछेउको सुकुम्बासी शिविरकी उनले भनिन्, ‘रेशमदाइको भरोसाले हामीले भोट हालेका थियौं । तर, तिनको पार्टी र सत्ता नै गयो ।’ कैलाली–१ बाट यसअघि निर्वाचित रञ्जिता यस पटक देखा नै परेकी छैनन् । रेशमलगायतका नेताहरू पनि आफूमाथि मतदाताबाट आउने प्रश्न छल्ने प्रयासमा छन् । गुनासो छल्न रेशमसहितका नेताहरूले पहिलाजस्तो मतदाता भेला नगर्ने र पर्चा दिएर उम्किने गरिरहेको मतदाताले बताएका छन् । 

अब नेताहरूलाई भोट दिन मन नभएको पनि सोमीले बताइन् । तीन पुस्तादेखि बसेको जमिनको लालपुर्जा नदिएको बताउँदै उनले नेताहरूले चुनावमा आएर आस देखाउँदै भोट माग्ने क्रम भने जारी रहेको बताइन् । ‘आसै मरेजस्तो छ । अब कोही गर्दैनन् जस्तो लाग्छ । कसैलाई भोट नदिउँ जस्तो लाग्छ । उम्मेदवार प्रचार गर्न आउँछन्, पर्चा दिन्छन् जान्छन् । पहिलाको जस्तो प्रचार पनि गर्दैनन् । पहिला गाउँभरिका मान्छे जुटाउँथे, कुरा गर्थे, यस पटक त कसैले गरेनन् । त्यस्तो गरे भने कसैले प्रश्न उठाउँथे तर यस पटक त्यस्तो पनि गरेनन्,’ उनले भनिन् । 

Tikapur without silk, competition between former leaders of Naupa

थारू समाजका अगुवाहरूले रेशम र रञ्जिताको सम्बन्धबारे पनि प्रश्न उठाएका छन् । जनतामाझ भ्रम छर्न झगडा गरेको जस्तो देखाएका हुन् कि भन्ने उनीहरूको आशंका छ । नेकपाबाट उम्मेदवार रामलाल डगौरा थारू भन्छन्, ‘नाउपा हुँदाहुँदै रेशमलाल चौधरीले नाउपा नेपाल खोल्नु विवादको मुख्य कारण हो । संरक्षक र अध्यक्ष नमिल्नु दोस्रो कारण हो । संस्थागत ढंगले चलाउनेभन्दा पनि व्यक्तिगत कम्पनी जसरी पार्टी चलाउन खोज्दा थारू समुदायमाथि धोका भएकै हो ।’

रेशम भने आफ्नो कारणले पार्टी छिन्नभिन्न भएको स्वीकार्न तयार छैनन् । पार्टीमा संगठित भएकाहरूमा चरम महत्त्वाकांक्षाले समस्या भएको उनको भनाइ छ । ‘पार्टीको नीति, विधि, राजनीतिक सिद्धान्त नबुझेका साथीहरू चरम महत्त्वाकांक्षी हुँदा यस्तो भएको हो । समाजमा आफ्नो हैसियत के छ भन्ने नबुझी महत्त्वाकांक्षा राख्दा पार्टी सम्हाल्न गाह्रो भयो,’ रेशमले भने । जति प्रयत्न गर्दा पनि नाउपालाई जोगाउन नसकिएको उनको भनाइ छ । 

सबैको सल्लाहमा श्रीमतीलाई पार्टी अध्यक्ष बनाएको रेशमको भनाइ छ । ‘यसलाई पारिवारिक भनियो, जुन केवल खोट लगाउने बाटो मात्र भयो,’ उनले भने । थारू समुदायको आन्दोलनलाई आफूले नै अगुवाइ गरिरहेको रेशमको दाबी छ । ‘थारू समुदाय सँगसँगै सीमान्तकृत, दलित, पिछडिएका मधेशी, मुस्लिम सबैको माग र मुद्दालाई समेटेर लैजाँदै छौं,’ उनले भने । 

मतदाता तहमा भने रेशम र रञ्जिताले काम नगरेको मात्र नभई थारूहरूको पार्टी र एजेन्डा नै भताभुंग पारेको भान परेको छ । अहिले उनीहरूले जति अधिकारका कुरा गरे पनि पत्याइहाल्ने अवस्था नभएको अगुवा र मतदाताको भनाइ छ । ‘एउटै नेता फरक एजेन्डा र पार्टी भएर आएका छन्,’ टीकापुरको कञ्चनपुर गाउँका सोनलाल कठरियाले भने, ‘आश्वासनअनुसार १० प्रतिशत मात्रै पूरा गरिदिएको भए विश्वास हुन्थ्यो ।’

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा एक नाबालकसहित ९ जनाको मृत्यु भएको ‘टीकापुर घटना’ मा संलग्न रहेको आरोपमा मुद्दा चलेका रेशमले जेलबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । रेशमकै योजनाअनुसार उनकी श्रीमती रञ्जिताको अध्यक्षतामा १९ पुस २०७८ मा नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गरे । पार्टी गठन भएको ६ महिनामै भएको निर्वाचनमा नागरिक उन्मुक्तिले प्रतिनिधिसभा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उल्लेख्य जित हात पार्‍यो ।

टीकापुर घटनामा अदालतले दोषी ठहर्‍याएका रेशम राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसको अवसरमा १५ जेठ २०८० मा आममाफी पाएर रिहा भएपछि उनी र पार्टी अध्यक्ष रञ्जिताबीच शक्ति संघर्ष सुरु भयो । यसबीचमा नागरिक उन्मुक्ति र मधेश प्रदेशमा बलियो आधार रहेको जनमत पार्टीबीच १७ वैशाख २०८२ मा पार्टी एकीकरण घोषणा हुने कार्यक्रम तय भइसकेको थियो । तर पार्टी एकता घोषणाको तयारीका दिन रेशमलाई गलत सूचनाका आधारमा अकस्मात् प्रहरीले नियन्त्रणमा लिएपछि एकता भाँडिएको थियो । रेशम–रञ्जिता दम्पतीबीच विवाद बढ्दै गएपछि पार्टी नै विभाजन भएको थियो । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully