कांग्रेसको सरकार भए सबभन्दा पहिले देउवाको सम्पत्ति छानबिन हुन्छ, दोस्रोमा थापाको : गगन थापा

कांग्रेस नेताले बेरोजगारी, ढिलो पूर्वाधार र खाद्यान्न आयातको समस्यामा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

फाल्गुन १६, २०८२

लक्ष्मी साह

If there is a Congress government, Deuba's assets will be investigated first, Thapa's second: Gagan Thapa

What you should know

बारा — कांग्रेस सभापति गगन थापाले यस चुनावबाट कांग्रेसको बहुमतको सरकार बनेमा शक्तिशाली सम्पत्ति छानबिन आयोग बनाएर सबैभन्दा पहिला शेरबहादुर देउवाको सम्पत्ति र दोस्रोमा आफ्नो व्यक्तिगत सम्पत्ति छानबिन गरिने बताएका छन्।

बाराको निर्वाचन क्षेत्र नम्बर १ को कोल्हवीमा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन्।

‘२०४८ पछिका सबै ठूला पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुने छ र यसको सुरुवात आफ्नै पार्टीबाट गरिने छ,’ उनले भने, ‘म पनि मन्त्री भइसकेको हुँ, त्यसैले मेरो पनि हुनुपर्छ।’

२०७४ पछि सबैको ध्यान विकासमा केन्द्रित हुनुपर्थ्यो, नभएर जेनजी आन्दोलन र ०८४ मा हुनुपर्ने चुनाव अहिले भइरहेको उनले बताए।

‘जेन-जी आन्दोलनअघि सबै ठूला दलको चासो सरकार गिराउने, टिकाउने र प्रधानमन्त्री बन्नेतिर गएकोले जेन-जी आन्दोलन भएको हो,’ उनले भने, ‘जेनजी आन्दोलनलाई षडयन्त्र भन्नु अतिवादी सोच हो। आन्दोलनपछि पनि तिनीहरूलाई दोष दिनु अतिवादी सोच हो। आन्दोलनपछि घिउ थप्ने, उत्तेजना थप्ने यी कार्य भए।’

यस्ता खाले प्रवृत्ति कांग्रेसले अस्वीकार गर्ने उनले बताए।

‘नेपालको ४ खर्ब रुपैयाँ खाद्यान्न बर्सेनि भारत जानुको कारण त्यसलाई कांग्रेस सरकारले रोक्छ,’ उनले भने, ‘१–२ वर्षमा निर्माण पूरा हुने पूर्वाधार २० वर्षमा लाग्छ। अब त्यसो हुन दिन्नौँ, विकसित देश जस्तै निर्माण गर्छौं।’

कांग्रेसले सबैलाई मिलाएर जाने बनाउने उनले बताए। नेपालमा बर्सेनि ५ लाखलाई रोजगारी दिन सक्ने क्षमता भए पनि अहिले बर्सेनि केवल ५० हजारले मात्र रोजगारी पाएका छन्।

‘विगतका सरकारले मल कारखाना खोल्नु त के, अरू देशबाट तयारी मल पनि ल्याउन सकेन। यी सबै काम कांग्रेसले गर्छ,' उनले भने ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully