निर्वाचन आचारसंहिता: कागज र निर्देशनमा कडाइ, कार्यान्वयन फितलो

बारामा चुनाव प्रचार सामाग्रीले रंगियो, जताततै रंगीचंगी

फाल्गुन १६, २०८२

लक्ष्मी साह

Election Code of Conduct: Strictness in Paperwork and Instructions, Lax Implementation

What you should know

बारा — कलैया उपमहानगरपालिकाको मुख्य बजार कलैयामा जनमत पार्टीको तर्फबाट सयौँ युवाहरूले चुनावी प्रचारको क्रममा शनिबार बिहानै नाराबाजी र नगर परिक्रमा गरे। सहभागी युवाहरूले पार्टीको चुनाव चिन्ह ‘हर्न’ छाप अंकित भेस्ट लगाएर ‘रोड शो’ गरे।

बिना रोकटोक भएको प्रदर्शनमा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रमोद गुप्तासहित डिजे बाजा पनि घन्किरहेको थियो। पछि भोजभतेरसम्म कार्यक्रम भयो। होली मिलनको नाममा ८० केजी खसीको मासुसहित भोजभतेरसमेत कलैयाको करणराज प्यालेसमा भयो।

जेन-जी ‘सपोर्ट’ कसलाई, प्रमोद गुप्तालाई भन्दै नारा गुन्जिरहेको थियो। तर आचारसंहिता कार्यान्वयन गर्ने अधिकारी र प्रहरी कार्यालयसम्म आवाज सुनिने गरी भएको प्रदर्शन भने नसुने झैँ बेखबर बसे। त्यहाँ निर्वाचन आचारसंहिताले छोएन, न आचारसंहिता कार्यान्वयन अधिकारीबाट कुनै प्रकारको हस्तक्षेप भयो।

‘जहाँ ४०/४० वटा भारतीय र अन्य गाडीबाट प्रचार भएको छ, त्यहाँ कसैले रोकटोक गरेको छैन,’ उम्मेदवार गुप्ताले भने, ‘हाम्रो त केवल जेन जी को प्रदर्शन मात्र थियो। बिहानै ७ बजे भोकै आएकालाई खुवाउनै पर्‍यो।’

यहाँ एक अर्का उम्मेदवारको देखासिकीले निर्वाचन आचारसंहिता उल्लंघन बढेको छ। क्षेत्र नम्बर ४ का जसपा उम्मेदवार सन्जु साहले भने, ‘सबैको प्रचार उस्तै ढंगले हुँदा हामीबाट पालना मात्र कसरी हुन सक्छ? सकेसम्म पालना गर्दै छु।’

जितपुरसिमरा उपमहानगरपालिका २० इनर्वासिरा बजारमा प्रहरी चौकी छ। चौकीको भएको ठाउँबाट केही पाइलाको दूरीमा रहेको मुख्य बजार पोस्टर, तुल, ब्यानर, पर्चाले रंगीचंगी देखिन्छ। तर त्यहीँका प्रहरीले त्यसलाई हटाउन सकेको छैन। यी सबै भइरहँदा बजारमा रहेका सुरक्षाकर्मी भने मुकदर्शक बनेका छन्।

यसैगरी सोही वडाका सुराही गाउँको मुख्य सडकमै यस्ता पोस्टर र पम्फलेट झुन्डाइएको देखिन्छ। प्रहरी चौकीको १ किमीको दूरीमा रहेको यो गाउँमा पनि प्रहरीले नदेखे जस्तो गरेको छ।

यी उदाहरण मात्र हुन्। सबै प्रायः दलका उम्मेदवारहरूको तर्फबाट भोजभतेर, रंगीचंगी प्रचार सामग्री प्रयोग गरिरहेको पाइएको छ। जिल्लाको सबै तिर होलीसँगै माहौल रंगिएको छ। यस्ता रंगीचंगी ग्रामीण, सहर, सहरोन्मुख क्षेत्रहरूमा थुप्रै देखिन्छ। देखासिकी गरी आचारसंहिता विपरीत एक अर्काको प्रतिस्पर्धा गरी प्रचार गर्ने प्रवृत्ति बढेको छ।

चुनाव नजिकिँदै जाँदा निर्वाचन प्रचार सामग्रीले यी क्षेत्रका सार्वजनिक चोक, चौतारा र बजार रंगीचंगी देखिन थालिएको छ। प्रचारमा प्रयोग गरिने डिजे बाजा पनि गुन्जिरहेको छ। अझ उम्मेदवार भएको गाउँमा रंगीचंगी झन् बढी छ। सबैतिर सुरक्षाकर्मी र निर्वाचन प्रहरी परिचालित छन्, तर त्यसमा कसैको आँखा नपरेको जस्तो गरिएको छ।

सहर र सहरोन्मुख गाउँमा भने यस्तो देखिएको छैन। दशगजासित जोडिएका गाउँहरूमा पनि यस्तो रंगीचंगी देखिएको छ। निर्वाचन प्रचारमा मधेसका मुख्यमन्त्रीसहित मन्त्रीहरू, जनप्रतिनिधिहरू सार्वजनिक कार्यक्रममा आफ्ना दलका लागि भोट माग्ने र प्रचार-प्रसारसहित घरदैलोमा खुलेर घुमिरहेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहँदा, आचारसंहिताको पालनाका लागि स्थानीय प्रशासन र प्रहरी चुकिरहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालयका एक सुरक्षा अधिकारीका अनुसार धेरै कडाइ गर्दा निर्वाचनको वातावरण बिथोलिने र त्यसको असर चुनावमा पर्ने सम्भावना भएकाले ‘हार्ड एन्ड फास्ट एक्सन’ गरिएको छैन। सुरक्षा अधिकारीले देखावटी रूपमा कडा निर्देशन दिए पनि व्यवहारमा त्यहीँ सम्भावनाका कारण निर्देशन कार्यान्वयन गरिएको छैन। कागजमा भने कडाइ कडा छ। होलीको माहोलमा होलीसँगै रंगीचंगी हुनु स्वाभाविक रहेको उनले व्यङ्ग्य गरे।

कतिपय उम्मेदवारका कार्यकर्ताहरू भारतीय गाडीमा खुलेर हिँडिरहेको भिडियोमा देखिन्छ। आचारसंहिता उल्लंघनका कार्य रोक्ने जिम्मेवारी पाएका सहायक प्रमुख जिल्ला अधिकारी छबिररमण भट्टराईले आचारसंहिताको उल्लंघन गाउँदेखि सहरसम्म असाध्यै बढेको स्वीकार गरे।

‘कसैलाई लिखित होइन, मौखिक रूपमा सम्झाउने- बुझाउने कार्य गरियो। उनीहरूले सम्झेर सुधार गरे प्रभावकारी हुन्छ। सबैले सकारात्मक रूपमा सोच्नुपर्छ।’ आचारसंहिता उल्लंघनका कार्यमा कडाइको प्रयास गरिएको उनले दाबी गरे। ‘सूचना आएसम्मको बलबुता, साधन, स्रोत र विवेकले रोक्ने काम भइरहेको छ,’ उनले भने। ‘सम्झाउने र चेतावनी दिने काम भइरहेको छ।’ आचारसंहिता पालनको सिलसिलामा सबै सुरक्षाकर्मीलाई कडा निर्देशन दिइएको उनले बताए। ‘कतिपयको भद्दा र्‍याली, डिजे बाजामा रोक लगाइएको’ उनले बताए।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully