अहिले दुइटा अतिवादी प्रवृत्ति भएको र त्यसको पर्दाफास गर्न आवश्यक भएको उनको भनाइ छ । भदौ २३ र २४ को विध्वंस र त्यस्तो अवस्था ल्याउने शक्तिलाई परास्त पार्न दाहालले आह्वान गरे ।
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अहिलेको निर्वाचन राष्ट्र बचाउनका लागि आवश्यक भएको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले शनिबार रोल्पाको लिवाङमा आयोजित जनसभामा बोल्दै यतिबेला मुलुकमा राजनीतिक संकट आइपरेको भन्दै चिन्ता व्यक्त गरे ।
'नेपाली जनताको हातमा राष्ट्रियता र स्वाधीनता जोगाउने जिम्मेवारी आइपरेको छ । विदेशी दलालबाट देशलाई जोगाउनु पर्ने अवस्था छ,' उनले भने, 'जटिल राजनीतिक परिस्थिति भएकाले जनताले यस्तो अवस्थाबारे बुझ्नुपर्छ । विदेशी शक्ति र राष्ट्रभित्रका दलालबाट मुलुक जोगाउनुछ ।'
गत भदौ २३ र २४ को जेन-जीको विद्रोहपछि मुलुक निर्वाचनमा गएको दाहालले उल्लेख गरे । 'भदौ २३ र २४ को घटनापछिको अवस्था र आन्दोलनको माग नै निर्वाचन हो । अब नयाँ तरिकाले अघि जाने हो । राष्ट्र बचाउने संकल्प गरौं,' उनले भने ।
दाहालले यो पटकको निर्वाचन निकै जटिल र असहज अवस्थामा हुन लागेको बताए । अहिले दुइटा अतिवादी प्रवृत्ति भएको र त्यसको पर्दाफास गर्न आवश्यक भएको उनको भनाइ छ । भदौ २३ र २४ को विध्वंस र त्यस्तो अवस्था ल्याउने शक्तिलाई परास्त पार्न उनले आह्वान गरे । त्यसका लागि केन्द्रीय आधार इलाकाबाट गम्भीर अपिल गर्नु परेको र त्यसको आधारमा समाजवाद ल्याउने नयाँ यात्रामा लाग्न उनको योजना भएको सुनाए ।
शनिबार नै कपिलवस्तुको सभालाई सम्बोधन गरेर दिउँसो हेलिकप्टरबाट दाहाल लिवाङ आएका हुन् । रोल्पालाई मुख्य आधार इलाका बनाएर करिब १० वर्ष चलेको माओवादी सशस्त्र द्वन्द्वको समापनपछि २०६४ मा पहिलो संविधानसभा सदस्य निर्वाचनमा दाहाल रोल्पाबाट निर्वाचित भएका थिए । त्यस क्षणको स्मरण गरेका दाहालले यहाँका मतदातालाई धन्यवाद दिँदै ऊर्जा मिल्नेसमेत बताए ।
'रोल्पा क्रान्तिको किल्ला हो । यहाँका जनता क्रान्तिकारी हुन् । रोल्पाली जनताको महत्त्वपूर्ण योगदान छ । म फेरि तत्कालीन युद्धमा साथ दिएका सहिद परिवार, घाइते-अपांग र बेपत्ता योद्धाका बीचमा आएँ,' दाहालले भने ।
उनले काठमाडौंमा ठूलो सभा आयोजना गर्नुभन्दा रोल्पामा आएर ऊर्जा पाउनु उस्तै भएको बताए ।
उनले देशमा अब संकट, भ्रष्टाचार र असमानता हटाउन बाँकी रहेको बताए । '२०६४ मा रोल्पाबाट निर्वाचित भएर संविधान बनाइयो । अब संकटलाई हटाउन बाँकी छ । भ्रष्टाचार र असमानता हटाउन बाँकी छ । यहाँबाट जितेर जाँदा ऊर्जा आउँछ । देश अप्ठ्यारोमा परेका बेला यहाँ आउनुपर्छ,' उनले भने ।
उनले रोल्पा, रुकुमलाई आफ्नो दलका लागि केन्द्रीय आधार इलाका भएको र अझै रहने दाबी गरे । समाजवादमा जान आफूले नयाँ पार्टी बनाएको र त्यसका लागि यहीँबाट ऊर्जा लिएर फर्कने उनको भनाइ छ ।
उनले आफूलाई साथ दिन रोल्पाका उम्मेदवार वर्षमान पुनलाई जिताउन आह्वान गरे । 'तपाईं उहाँलाई जिताउनुस्, फेरि मन्त्री बनाउँछु । वर्षमानलाई के गर्नुपर्ने हुन्छ, म गर्छु,' उनको आग्रह छ ।
त्यस्तै रुकुम पूर्वबाट उम्मेदवार भएको बारेमा उनले भने, 'म रुकुम पूर्वबाट उम्मेदवार छु । म रुकुम जानुको कारण राष्ट्र बचाउनु हो । यो पटकको संकटलाई हटाउन म रुकुम पूर्व गएको हुँ । प्रतिक्रियावादी र दलाललाई हटाउन रोल्पा र रुकुमको साथ चाहिन्छ । त्यसैले म आएको हुँ ।'
तेस्रोपटक आफू सरकारमा पुग्दा राम्रो व्यवस्थाका लागि काम गरेको उनले दाबी गरे । आन्तरिक र बाह्य सम्बन्ध राम्रो बनाएको तर सरकारबाट हट्नु परेको उनको गुनासो छ ।
उनले निर्वाचन स्वच्छ र धाँधलीरहित बनाउन आग्रह गरे । निर्वाचन सुरक्षाका लागि खटिएको नेपाली सेनालाई जनताको अभिमतलाई सुरक्षित राख्न आग्रहसमेत उनले गरे । सभामा नेकपाका नेताहरू वर्षमान पुन, कृष्णबहादुर महरा, जोखबहादुर महरालगायत बोलेका थिए ।
सभामानेकपाले सबै स्थानीय तहबाट नेता र कार्यकर्ता लिवाङमा ओरालेको थियो ।
