अन्य पुराना पार्टीहरू रक्षात्मक छन् । हामी मात्रै आक्रामक ढंगले अगाडि बढेका छौँ : दाहाल
काठमाडौँ — नेकपा संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरू कांग्रेस-एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका छन् ।
शुक्रबार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गरेका हुन् ।
अन्य पुराना राजनीतिक दलहरू रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रूपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उनको जिकिर छ ।
उनले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गरे । उनले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गरे ।
यस्तो छ दाहालको भनाइ
नेपाली कम्युनिस्ट पार्टी मात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानको रुपमा निर्वाचनमा अगाडि बढेको छ र उभारको रूपमा देखा परेको छ । अन्य पुराना पार्टीहरू रक्षात्मक छन् । हामी मात्रै आक्रामक ढंगले अगाडि बढेका छौँ । दिन प्रतिदिन नेपाली कम्युनिस्ट पार्टीप्रति यसले अगाडि सारेका, नीति, योजना र कार्यक्रमप्रति अनि हामीले गरेका प्रतिबद्धताहरूप्रति जनताको भरोसा र विश्वास बढ्दै गएको छ ।
अब आउने पाँच दिन हामीले युद्धस्तरमा खटेर जनतालाई घरघरमा गएर सम्झाउन सक्यौँ भने मैले भन्दै आएको छु नेकपाले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पहरेदारी गर्नसक्नेछ । यो मात्र एक नम्बर पार्टी हो जसले निर्वाचनपछि देशको नेतृत्व गर्नेछ ।
