थापाले गठबन्धन राजनीतिमाथि तीव्र आलोचना गर्दै भने, ‘गठबन्धन राजनीतिले राजनीतिलाई फोहोर बनाएको छ। कांग्रेस त्यो फोहोर सफा गर्ने गरी आएको छ।’
What you should know
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले देशको विकास र सुशासन कायम गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अघि बढेको बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसको ऐतिहासिक भूमिकालाई विकासको जगको रूपमा प्रस्तुत गरे।
उनले भने, ‘देशको विकास र सुशासन कायम गर्ने गरी आएको छौं। त्यसको जग कांग्रेसको पुरानो इतिहास हो।’
थापाले गठबन्धन राजनीतिमाथि तीव्र आलोचना गर्दै भने, ‘गठबन्धन राजनीतिले राजनीतिलाई फोहोर बनाएको छ। कांग्रेस त्यो फोहोर सफा गर्ने गरी आएको छ।’
कांग्रेसले काममा पारदर्शिता र जवाफदेहिता अपनाउने प्रतिबद्धता व्यक्त गर्दै थापाले वैशाख १ गते आफूहरूले गर्ने कामको विस्तृत सूची सार्वजनिक गर्ने जानकारी दिए। ‘वैशाख १ गते कांग्रेसले आफूले गर्ने कामको फेहरिस्त तयार गर्ने छ। जेठ १ गते गरेका कामको समीक्षा गर्ने छौं र अर्को महिनाको योजनासहित अघि बढ्ने छौं,’ उनले भने।
उनका अनुसार कांग्रेस ६,७४३ वडा अध्यक्षसहित देशव्यापी योजनासहित चुनावी मैदानमा उत्रिएको छ। ‘५ वर्षमा देशले गति पक्डिन्छ, गुड्छ, कुद्छ। स्पिड भए पनि सुझबुझका साथ कुदाउँछौं। सबैलाई सँगै गुडाएर लैजान्छौं,’ थापाले दाबी गरे।
गाउँको विकाससँगै बढ्दो बसाइँसराइको समस्या समाधानका लागि पनि कांग्रेसले स्पष्ट योजना बनाएको उनले बताए। ‘सबैतिर बिग्रेको छ। तर म एक्लैले गरेर हुँदैन। हामीले नयाँ नेपाल बनाउने गरी सबैलाई एक बनाएर लैजान सक्ने तयारी गरेका छौं,’ उनले भने।
भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘भैरहवा विमानस्थल सञ्चालनका लागि कानुन बनाउनुपर्छ। एयरलाइन्सलाई घोक्र्याएर एयरपोर्ट चल्दैन।’
त्यस्तै, गाउँमा बाँदर नियन्त्रणदेखि तराईमा मलखादको समस्या समाधानसम्म ठोस योजना रहेको दाबी गर्दै उनले मतदातासँग अवसर मागे।
‘संकल्प गरेका छौं, जुन ५ वर्षमा पूरा गर्छौं। काम गर्नका लागि मौका दिनुस्। तपाईंको मतको सम्मान गर्ने जिम्मा कांग्रेसले लिन्छ। ५ वर्षको समय फेरि खेर नफालौं,’ थापाले आह्वान गरे।
