निर्वाचनमैत्री होली मनाउन मधेशवासीलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचन प्रचारप्रसार पनि अपेक्षाकृत मितव्ययी रहेको बताउँदै भण्डारीले ‘निषेधको राजनीति’ गर्ने प्रयास समयमै पहिचान गरी नियन्त्रण गरिएको बताए ।

फाल्गुन १५, २०८२

शंकर आचार्य

Acting Chief Election Commissioner urges Madhesh people to celebrate election-friendly Holi

पर्सा — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तराई–मधेशवासीलाई निर्वाचनमैत्री वातावरण कायम रहने गरी होली पर्व मनाउन आग्रह गरेका छन् ।

शुक्रबार वीरगन्जमा गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसहित आयोजित ‘निर्वाचन सुरक्षा वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक बैठकमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले होली पर्वलाई शान्त, मर्यादित र सहज ढंगले मनाउन अनुरोध गरे ।

‘होली तराईको ठूलो पर्व हो, तर यसलाई तडक–भडक नगरी निर्वाचनमैत्री बनाउँदै मनाइदिन आग्रह गर्छौं,’ उनले भने, ‘हामीलाई विश्वास छ, होली र निर्वाचन सँगसँगै शान्तिपूर्ण रूपमा अघि बढ्न सक्छन् ।’

उनले विगतका निर्वाचनको तुलनामा यसपटक मधेशमा निर्वाचन आचारसंहिता उल्लंघन कम देखिएको उल्लेख गर्दै ठूलो सजाय दिनुपर्ने खालका गम्भीर घटना नरहेको स्पष्ट पारे । उनका अनुसार मुलुकभर स्थानीय तहबाट कारबाही गरिएका तथा आयोग आफैंले टुंग्याएका गरी करिब १ हजार उजुरीको फर्छ्यौट भइसकेको छ ।

निर्वाचन प्रचारप्रसार पनि अपेक्षाकृत मितव्ययी रहेको बताउँदै भण्डारीले ‘निषेधको राजनीति’ गर्ने प्रयास समयमै पहिचान गरी नियन्त्रण गरिएको बताए ।

‘निषेधको राजनीतिलाई नै निषेध गरिएको छ,’ उनले भने ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully