कर्णाली राजमार्ग : ३१ वर्षदेखिको चुनावी मुद्दा, तर सधैं अपूरो

२०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको राजमार्ग २०५१ सालदेखि चुनावी एजेण्डा बन्दै आएको छ ।

फाल्गुन १४, २०८२

तुलाराम पाण्डे, कृष्णप्रसाद गौतम

What you should know

सुर्खेत/कालीकोट — सुर्खेतको लेकबेंसी नगरपालिका–४ का खडकबहादुर बुढालाई कर्णाली राजमार्गमा यात्रा गर्दा ११ वर्षअघिको दुर्घटनाले झस्काउँछ । जुम्लाको तातोपानी गाउँपालिकास्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक बुढा २०७१ चैत २ मा ना–४ ख ४९७० नम्बरको यात्रुवाहक बस तिला गाउँपालिका–२ रारालिहीमा दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते बने । ‘भगवान् भरोसामा बाँचियो, हातखुट्टा, टाउको र छातीको चोट सञ्चो हुन ७ महिना लाग्यो, डेढ महिना त अस्पतालमै बसेँ,’ उनले भने,‘त्यो घटनापछि गाडी चढ्नै मन लाग्दैन, धेरैजसो प्लेनबाटै यात्रा गर्छु ।’

उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने १४ जना यात्रु गम्भीर घाइते भएका थिए । उक्त बस सडकदेखि झण्डै २ सय मिटर तल तीला नदीमा खसेको थियो । 

पहिलोपल्ट कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारा पुगेर दुई साताअघि फर्किएका दाङको घोराही उपमहानगरपालिका–६ का सन्तोष रोकायाले यात्रामा भोगेका दुःखले फेरि कहिल्यै नजाउँजस्तो भएको बताउँछन् । ‘तलमाथि भीरैभीर त्यसमा एकलेनको धुलाम्मे र हिलाम्मे सडक,’ उनले भने, ‘केहीगरी गाडी खसे कर्णाली नदीमा बेपत्ता होला कि भन्ने डर, दिनभरिको यात्रामा गाडीले उफार्दाउफार्दा स्वस्थ यात्रु पनि बिरामी हुन्छन् ।’

२०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको कर्णाली राजमार्ग २०५१ सालदेखिको चुनावी एजेण्डा बनिरहेको छ । तर राजमार्गको काम अझै पूरा भएको छैन । २०६३ चैत ३० गतेदेखि सञ्चालनमा आएको २ सय ३२ किलोमिटरको दूरीको यो राजमार्गमा सडक विभागले विभिन्न १४ वटा पुल निर्माणमा १ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको छ भने ओटासिल प्रविधिको कालोपत्रे गर्न र सेफ्टी बारसहित पर्खाल निर्माणका लागि विश्व बैकको करिब २ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

विश्व बैकको सहयोगमा ०७२ सालमा संघीय सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत १ अर्ब रुपैयाँमा राजमार्गमा कालोपत्र गरिएको थियो । पछिल्लो ३ वर्षमा मात्रै यो सडकमा झण्डै ७० करोड खर्च भएको सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले जनाएको छ । तर झण्डै ८० प्रतिशत कालोपत्रे उप्किएपछि पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने राजमार्गमा एकपटक यात्रा गरेकाहरू अर्कोपल्ट फर्केर जानै डराउने गरेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ का रतन शाहीले बताए । उनले पर्यटकहरू कर्णालीमा नआउनुको मुख्य कारण नै सडकको दुरावस्था भएको बताए ।

राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको बस चालक दीर्घबहादुर केसीले बताए । उनका अनुसार अधिकांश ठाउँमा सडक ‘वान वे’ हुँदा गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता छ । रिजर्वगाडी एक दिनमा सुर्खेतबाट जुम्ला पुगे पनि यात्रुबाहक गाडी एक दिन कालीकोटमा बास बस्नुपर्ने उनले बताए । ‘अधिकांश ठाउँमा ५ मिटरमा मात्र सडक छ भने घुम्ती नमिलेका कारण गाडी व्याक गर्दै यात्रा गर्नुपर्छ,’ कर्णाली राजमार्गमा झण्डै ५ वर्षदेखि गाडी चलाइरहेका उनले भने, ‘खाल्डैखाल्डा र कमजोर भूगोल भएको सडकमा खाल्डा जोगाउन खोज्दा दुर्घटनामा पर्नुपर्ने खतरा छ, सुर्खेतबाट जुम्ला गाडी लैजाँदा पट्टा नभाँचिएको, टायर नपड्किएको दिनै हुँदैन ।’

राजमार्गमा दुर्घटनाको जोखिम पनि उस्तै छ । राजमार्गमा झण्डै २०७२ सालयता ९ सय १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती दुर्घटनामा १ हजार ५ सय २७ जना घाइते भएका छन् । २०६६ साल चैतमा दैलेखको किटुमा भएको दुर्घटनामा ४२ जनाले र कालीकोटको सेराबाडास्थित बित्तामोडमा २०६९ मा भएको दुर्घटनामा २८ जनाले ज्यान गुमाएका थिए । ३ वर्षको अवधिमा मात्रै यही सडकमा ३ सय १ जनाले ज्यान गुमाएका छन् भने झण्डै ८ सय घाइते भएका छन् ।

साँघुरो र अप्ठेरो सडक, क्षमताभन्दा बढी यात्रु राखिनु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायत कारण राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताए । ‘अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेका छन्,’ उनले भने, ‘कर्णालीको कठिन भूगोल त्यसैमा पनि जीर्ण सडक हुँदा दुर्घटना रोक्न चुनौती छ ।’

सडक डिभिजन कार्यालय जुम्लाका पूर्वप्रमुख लिलाबहादुर भण्डारी कर्णाली राजमार्ग इन्जिनियरिङ मापदण्ड नै नभएको बताउँछन् । ‘सुरुवाती चरणमै राजमार्ग दुई लेनको हुनुपर्ने हो,’ उनले भने, ‘सेनाले हतारहतारमा काम गरेकाले पनि मापदण्ड नपुगेको हुन सक्छ, पछि जति प्रयास गर्दा पनि त्यो मापदण्ड पूरा गर्न सकिएन ।’ उनका अनुसार इन्जिनियरिङ मापदण्डअनुसार भन्ने हो भने जुम्लादेखि २ सय ३२ किमिको यात्रा मात्र ६ घण्टामा पूरा हुनुपर्छ । तर यात्रुहरू अहिले २४ घण्टासम्मको यात्रा गर्न बाध्य छन् । ०४८ सालमा तत्कालीन शिलान्यास भएको राजमार्ग सशस्त्र द्वन्द्व र बजेट अभावको समस्या भोग्दै १५ वर्षपछि मात्र सकिएको थियो । चट्टानै चट्टानका कारण निर्माणमा समस्या भएपछि सरकारले नेपाली सेनालाई सडकको जिम्मा दिएको थियो ।

कर्णार्ली राजमार्गलाई स्तरोन्नति गर्ने चुनावी नारा बनाउने दैलेख, जुम्ला, मुगु र कालीकोटका राजनीतिक दलहरूले निर्वाचन जितेपछि बेवास्ता गर्ने गरेको दैलेखको आठबीस नगरपालिका–४ का शेरबहादुर थापाले बताए । ‘राजमार्ग पिच गरी दुई लेनको बनाउने नारा सधैं लगाउँछन्,’ उनले भने, ‘तर जितेर गएपछि कहिल्यै वास्ता गर्दैनन् ।’ कर्णाली राजमार्ग गतिलो नहुँदासम्म कर्णालीको विकास अधुरो हुने उनको भनाइ छ । उनले राजमार्गमा सधै भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । 

अहिलेसम्मका सबै निर्वाचनमा कर्णाली राजमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै आएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही कालीकोटबाट चौथोपल्ट चुनावी मैदानमा छन् । ‘हाम्रो पार्टी धेरै समय सरकारमा रहेन, त्यसैले स्तरोन्नतिको लागि बजेट पार्न सकिएन,’ उनले भने, ‘अहिले पनि मेरो प्रमुख एजेण्डा कर्णाली राजमार्ग नै हो, अबको ५ वर्षभित्र कर्णाली राजमार्गमा कम्तीमा दुई लेनसहितको कालोपत्र हुन्छ ।’ शाही कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री हुन् भने संघीय सरकारमा ऊर्जामन्त्री भएका थिए । २०७९ सालको निर्वाचनमा २३ हजार ७ सय २७ मतसहित विजयी भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचन कालीकोट १ (ख) मा १२ हजार १ सय ५३ मतसहित जितेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा विजयी हासिल गरी उनले संसदीय यात्रा थालेका थिए । 

जुम्लाबाट दोस्रोपल्ट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलाई बाह्रैमहिना चल्ने पक्की बनाउने बाचा यसपालि पनि दोहर्‍याएका छन् । ‘यो राजमार्ग कर्णालीवासीको समृद्धिको आधार हो, जुम्लाको स्याउलाई देशभरि पुर्‍याउन पनि राजमार्ग महत्वपूर्ण छ,’ उनले भने, ‘यसअघि कार्यकाल पूरा नहुँदा पनि काम गर्न सकिएन होला, मैले जितेर गएपछि एक वर्षमा राजमार्ग स्तरोन्नतिको काम सुरु हुन्छ ।’ २०७९ सालको निर्वाचनमा उनी २२ हजार ८ सय १९ मतसहित विजयी भएका थिए ।  

नयाँ उम्मेदवारले पनि कर्णाली राजमार्गलाई यसपालि प्राथमिकतामा राखेका छन् । एमालेबाट उम्मेदवारी दिएका मुगुका पूर्णबहादुर रोकायाले राजमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डसहितको बनाएर कालोपत्रे गर्ने आफ्नो योजना रहेको बताए । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल आउजाउ गर्ने प्रमुख सडक भए पनि सधै बेवास्तामा पर्दा माथिल्लो कर्णालीको विकास हुन नसकेको मुगुको छायानाथरारा नगरपालिका–४ का खडक भामले बताए । ‘चुनावमा एक वर्षभित्र काम सुरु गर्छौ भन्छन्, जितेर गएपछि वास्ता गर्दैनन्,’ उनले भने, ‘हामीलाई अरु केही चाहिएको छैन, राजमार्ग गतिलो बनाइदिए धेरै कुरा सहज हुन्छ ।’ उनका अनुसार दैलेखको तल्लो डुंगेश्वरदेखि पाल्तडासम्म धुलैधुलोको समस्या छ ।

राजमार्गमा बर्खाको समयमा ठाउँठाउँमा पहिरो जाँदा जुम्ला, कालीकोट, मुगु र दैलेखका बासिन्दाले ठूलो सास्ती खेप्दै आएका छन् । ‘सामान्य बर्षा हुनेवित्तिकै बडेमानका चट्टान सडकमा उभिन्छन्, जतिसुकै ठूला उपकरण लगाए पनि १/२ दिनमा पन्छाउन सकिॅदैन्, हप्तौपछि मात्र सडक खुल्छ,’ कालीकोटको खाडाचक्र नगरपालिका–३ का जीवन पाण्डेले भने, ‘कर्णाली राजमार्ग मृत्युमार्ग मात्र बनिरहेको छैन्, कर्णालीको अनिकाल र भोकमरी निम्त्याउने धराप पनि बनिरहेको छ । पहिराले हप्तौसम्म सडकमै दैनिक उपभोग्य बस्तुहरू अलपत्र पर्छन्, यताको कृषि उत्पादन बाटोमै कुहिन्छ ।’ गत वर्ष कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत-जुम्ला सडक पहिरोले १ सय ३५ पटक सडक अवरुद्ध हुँदा ४६ दिन सडक ठप्प भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । प्रहरीका अनुसार गत वर्ष कुनै दिन एकै ठाउॅमा ५ पल्टसम्म पहिरो गएको थियो । 

कर्णाली राजमार्गको कारण जुम्लाको हिमा गाउँपालिका-३ का गोपाल रोकाया स्याउको सिजनमा सधै मर्कामा पर्ने गरेका छन् । झण्डै १० रोपनी जग्गामा स्याउखेती गरिरहेका उनले गत वर्ष सुर्खेत पठाउन लागेको एक ट्रक स्याउ कर्णाली राजमार्ग बन्द हुॅदा खेर गयो । ‘हरेक साल भदौ–असोजमा सडक बन्द हुँदा १/२ ट्रक स्याउ कुहिएर जान्छ,’ उनले भने, ‘स्याउ फलाएर मात्र के गर्ने ?, पहिरोका कारण राजमार्गले सधै सास्ती दिने गरेको छ, कहिले त एक हप्तासम्म पनि बाटो खुल्दैन ।’ कर्णाली राजमार्ग बन्द हुॅदा गत वर्ष झण्डै ५ लाख रुपैयाॅ घाटा सहनुपरेको उनको गुनासो छ । उनले गत वर्ष झण्डै २ मेट्रिक टन स्याउ उत्पादन गरेका थिए । 

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगा सम्मको १ सय ६८ किलोमिटरमा १५ स्थानमा पहिरोको जोखिम छ । दहीखोला, गगनेखोला, एसमोड, हुल्म, गल्ली, मोल्फा, सेराबाडा, टाकुल्ला, भैसींगौडा, टिमुरे, गाल्जे, राँचुली र धनाडामा बर्षेनि पहिरोको बढी जोखिम रहेको डिभिजन प्रमुख दीपेन्द्रकुमार चौधरीले बताए ।

‘पहिरो पन्छाएर सवारी पठायो, १/२ घण्टामै फेरि पहिरो आयो भन्ने खवर आउछ,’ उनले भने, ‘भिरालो जमीन, कमजोर माटो र सडक निर्माणको क्रममा गरिएको अत्यधिक विष्फोटनले बढी पहिरो जाने गरेको हो ।’ बजेट अभावका कारण पहिरो आउने ठाउॅमा सामान्य मर्मत बाहेक अन्य संरचना निर्माण गर्न नसकिएको उनको गुनासो छ । यो वर्ष झण्डै ९० लाख रुपैयाँ बजेटबाट जोखिमपूर्ण ठाउॅमा पर्खाल लगाउने, तारजाली भर्ने, सडक सुधार गर्नेलगायत काम थालिएको उनले जानकारी दिए ।

राजमार्गअन्तर्गत दैलेखको आठबीस नगरपालिकास्थित जाक्सीखोला पुल १२ वर्षदेखि अलपत्र छ । पुल निर्माणका लागि सिरुवा/कबिर/सुनकोसी जेभीले २०७० साउन ३ गते पुल निर्माणको ठेक्का लिएको थियो । उसले एक वर्षभित्र सम्पन्न गर्नेगरि २ करोड रुपैयाँमा ठेक्का लिएर गत वर्ष मात्र पुल निर्माणको काम सकेको थियो । तर पुल चर्किएपछि पुनर्निर्माणका लागि भत्काइएको छ । यसअघि कालीकोट–जुम्ला सीमास्थित नाग्मा पुल पनि चर्किएर एक वर्षअघि फेरि बनाइएको थियो ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully