केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
त्यसैगरी श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त सगुनशमशेर जबराले दुई जना प्रतिनिधिसभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरिएको जानकारी दिए । आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
‘हामीले दुई जना उम्मेदवारलाई र एक राजनीतिक दललाई २५ हजार जरिवाना तिराएका छौँ । दुई जना कर्मचारीलाई सचेत गराएका छौँ । र, आचारसंहिता ख्याल नगरेर एउटा संस्थानले कर्मचारीलाई निकालिदिएको भन्ने उजुरी परेको थियो । उनीहरुलाई पुनर्बहाली गर्न आयोगले निर्देशन दिएको छ,' उनले भने, 'देशभर सरदर ३ सय जना उम्मेदवारलाई स्पष्टिकरण सोधेका छौँ । केन्द्रीय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टिकरण सोधिएको छ । ६ जनाको स्पष्टिकरण चित्तनबुझेको कारण फेरि सोधिएको छ । ५७ जनाबाट जवाफ प्राप्त भएको छ ।’
आयोगले सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता उल्लंघनमा कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ । आयुक्त जबराले केही दिनभित्र काउन्सिलले त्यस्ता उजुरी उपर कारबाही आयोग आफैं पनि सक्रिय हुनसक्ने चेतावनी दिए ।
