'कर्णालीका आमा, पोषण र शिक्षामा पनि लगानी गर्नुपर्नेछ । यार्सागुम्बा, स्याउ र मार्सी चामल मात्र भनेर हुँदैन ।'
What you should know
काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले कर्णालीको विकास महँगो भएको बताएका छन् । काठमाडौं जस्तो सहज र आम्दानी नभएकाले प्रदेश बलियो बनाउन संविधानमा नै परिर्वतन गर्नुपर्ने बताए ।
'यसका लागि संविधान र कानुन नै परिर्वतन गरेर कर्णालीलाई महत्व दिएर कर्णालीमा पैसा ल्याउने र खर्च गर्न सक्ने बनाउनुर्छ,' आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ।
आफूले पाँच वर्ष देऊ हामी काम गर्छौं भन्दा यत्रो वर्ष के गरिस् भनी गलत प्रश्न उठाउने गरेको बताए । 'विगतमा धेरै कम्प्रमाइज गर्नुपरेका कारण काम गर्न नसकेकाले अब पाँच वर्ष नेपाली कांग्रेसले गर्छ ।' उनले प्रधानमन्त्रीका सबै उम्मेदवारलाई एकै ठाउँमा आएर बहस गर्न पनि चुनौती दिए ।
विकास दक्ष जनशक्तिले हुने भन्दै थापाले गर्भमा हुर्कने बालकका लागि पनि लगानी गर्नुपर्ने बताए । 'कर्णालीका आमा,पोषण र शिक्षामा पनि लगानी गर्नुपर्नेछ । यार्सागुम्बा, जुम्लाको स्याउ र मार्सी चामल मात्र भनेर हुँदैन,' उनले भने ।
'नयाँ दल' भनिएकाहरुप्रति पनि सभापति थापाले कटाक्ष गरे । 'एजेन्डा होइन हात हल्लाएर खुल्ला गाडीमा मात्र हिँडेर हुने हो ? २०६४ मा माओवादीले पनि हामी सत्ता परिर्तन गर्छौं भनेको होइन ?' उनले प्रश्न गरे । उनले अब पनि यस्तो भुलभुलैयामा नपर्न आग्रह गरे ।
कांग्रेस बदलिएर आएकाले देश पनि बदल्ने उनले दाबी गरे । यो पाँच वर्ष देशलाई द्वन्द्वमा जान दिन नहुने भन्दै उनले घरघरमा गएर बुझाउन कार्यकर्तालाई आग्रह गरे ।
