उम्मेदवार नउठाए पनि कांग्रस बीपीका नेता कार्यकर्ता अन्य दलहरू जस्तै नियमित घरदैलो अभियानमा भने लागिररहेका छन् ।
What you should know
डडेल्धुरा — अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवा डडेल्धुराबाट २५ हजार ५३४ मतसहित विजयी भएका थिए । त्यतिबेला स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मतसहित दोस्रो भएका थिए भने कांग्रेस बीपीका कर्णबहादुर मल्ल ७ हजार ५३५ मतसहित तोस्रो स्थानमा थिए । यसपटक भने कांग्रेस बीपीले डडेल्धुरामा उम्मेदवार उठाएको छैन ।
उम्मेदवार नउठाए पनि अन्य दलहरू जस्तै नियमित घर दैलो अभियानमा भने लागिररहेको छ । उम्मेदवार नै नभएको दलका नेता कार्यकर्ता दैनिकजसो मतदातासँग भेटघाटमा लागेपछी बीपी कांग्रेसले कसलाई समर्थन गर्ला भन्ने विषय डडेल्धुरामा चासोका रुपमा हेरिएको छ ।
यसपटक डडेल्धुराबाट १३ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट नैनसिंह महर, नेकपाबाट मानसिंह माल, रास्वपाबाट ताराप्रसाद जोशी, एमालेबाट चक्रप्रसाद स्नेही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायतसहित दल तथा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
कांग्रेस बीपीका अनुसार ‘जनताले जे भन्छन्, बीपी कांग्रेस त्यही गर्छ’ भन्ने नारासहित मतदाता र विभिन्न दलका कार्यकर्तासँग भेटघाट गरिरहेको छ । भेटघाटका क्रममा विभिन्न पार्टीका कार्यकर्तालगायत हजारौं मतदातासँग संवाद हुँदा मिश्रित प्रतिक्रिया आइरहेको पार्टीले जनाएको छ ।
यसैबीच कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले बीपी कांग्रेसलाई पुनः कांग्रेसमै फर्केर सहयोग गर्न आह्वान गरेको छ । आइतबार जिल्ला सभापति भीमबहादुर साउदले कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन सभापति कर्णबहादुर मल्लसहितका नेताकार्यकर्तालाई कांग्रेसमै फर्केर कांग्रेसका उम्मेदवार महरलाई विजय गराउन आह्वान गरेका थिए ।
कांग्रेसको आह्वानपछि बीपी कांग्रेस डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै सकारात्मक रूपमा लिएको जनाएको छ । पार्टी एकताका लागि आवश्यक छलफल र प्रक्रिया अगाडि बढाउन केन्द्रीय समितिलाई अनुरोध गरेको कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले बताए ।
