धनगढीमा आयोजित सभामा रास्वपाका वरिष्ठ नेता बालेनले भनेका थिए : रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ ? खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्यो ।
What you should know
सुनसरी — रास्वपा सभापति रवि लामिछानेले विकास निर्माणका काम अलपत्र पार्ने ठेकेदारलाई डोरीले नभई कानुनले बााध्ने नीति रहेको स्पष्ट पारेका छन् । इटहरीमा मंगलबार आयोजित चुनावी सभामा लामिछानेले रास्वपाको नीति ठेकेदारलाई शारीरिक रूपमा बाँध्ने नभई, कडा कानुनी प्रबन्धमार्फत जिम्मेवार बनाउने रहेको बताएका हुन् ।
यसअघि गत बुधबार धनगढीमा आयोजित सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ठेकेदारलाई रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । बालेनले त्यसबेला भनेका थिए, 'रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ ? खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्यो ।'
बालेनको अभिव्यक्तिको प्रतिक्रियामा कांग्रेस सभापति गगन थापाले ठेकेदारलाई रुखमा बाँधेर समाधान ननिस्किने भन्दै सडक समयमै बनाउन ४१ वटा कानुनमा संशोधन आवश्यक रहेको बताएका हुन् । यही चुनावी जुहारीका बीच रास्वपा सभापति लामिछानेले मंगलबार गगनलाई कटाक्ष गरेका हुन् ।
'कानुन फेर्नुपर्छ भन्ने बल्ल ज्ञान आयो तपाईंलाई ? यत्तिका वर्ष के गर्नुभयो?,' उनले भने । लामिछानेले निर्माण व्यवसायीलाई रास्वपाविरुद्ध विज्ञप्तिबाजी नगरी देश निर्माणमा केन्द्रित हुन सुझाव दिए । उनले भने, 'दुई सिफ्ट कि तीन सिफ्ट- अब काम गर्ने हो, देश बनाउने हो । ठूला उपकरण नभए खरिद गर्नुहोस्, निर्माण व्यवसायी साथीहरूले विज्ञप्तिबाजी गरिरहनु पर्दैन ।'
लामिछानेले लोकतन्त्रको ठेक्का कुनै दलले लिनुपर्दैन भन्दै लोकतन्त्रको ठेक्का जनताले लिने बताए ।
उदयपुरलाई माल्दिभ्सजस्तो बनाउन सकिन्छ : बालेन्द्र शाह
कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । शाहले रास्वपाको नीति उद्योग–कलकारखाना स्थापना भएको उनले बताए । खाने तेलदेखि मरमसलासम्मका उद्योग यहाँ भए पनि नयाँ उद्योगहरू भने खुल्न नसकेको उनको भनाइ छ ।
नयाँ उद्योग खोल्नका लागि राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले भने, 'हाल नयाँ फ्याक्ट्री खोल्नुपर्यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । बल्ल–बल्ल फ्याक्ट्री खुलिहाले पनि चलाउन थालेपछि चन्दा आतंक सुरु हुने गरेको छ ।'
पूर्वी तराईका चार जिल्लामा पूर्णरूपमा धान उत्पादन गर्न सके देशभरका नागरिकलाई खाद्यान्न पुग्ने उनको दाबी छ । शाहले पूर्वका धार्मिक तथा सांस्कृतिक स्थलहरू–मुकुलुङ र खुवालुङलाई राष्ट्रिय आस्थाका केन्द्रका रूपमा विकास गर्ने पनि दाबी गरे । उनले पूर्वी क्षेत्रमा सिँचाइ, खानेपानीलगायतका व्यवस्था गर्ने पनि बताए । उनले उदयपुरलाई माल्दिभ्स जस्तो विकास गर्न सकिने दाबी गरे ।
