‘विपन्न’को परिचय फेरिने पर्खाइमा बाजुराबासी

बाजुरामा उम्मेदवारहरुले चुनावी वाचा दोहोर्याइरहेका बेला मतदाताले आधारभूत पूर्वाधार, रोजगारी र कुपोषण अन्त्यका लागि ठोस योजना खोजिरहेका छन् ।

फाल्गुन १२, २०८२

अर्जुन शाह

Bajura residents await change in identity of 'poor'

What you should know

धनगढी — दुर्गम पहाडी जिल्ला बाजुरालाई पनि चुनावी चहलपहलले छोपेको छ । हिमाली भेगका बिच्छ्यालगायत अति विकट तथा दुर्गम बस्तीका बासिन्दाको घरदैलोमा चुनावका बेला मात्र मत माग्दै पुग्ने नेताहरुको विगतदेखिकै प्रवृतिलाई आसन्न निर्वाचनका उम्मेदवारहरुले दोहोर्‍याइरहेका छन् ।

उम्मेदवारहरु ग्रामीण बस्तीका घरदैलोमा पुगेर टोल सभा गर्ने, अन्तरक्रिया गर्ने मत मागिरहेका छन् । यहाँका मतदाता भने गाउँठाउँमा आवश्यक रहेका विकास निर्माणका योजना माग गर्दै गरिबी, अभाव, खाद्यान्न संकट, शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता माग गरिरहेका छन् । विकासका आधारभूत पूर्वाधारबाट समेत पछाडि परेको बाजुराका बासिन्दा हरेक चुनावमा उस्तै विषय माग गर्नुपरेको बताइरहेका छन् । 

यस पटक उम्मेदवारहरुले सामाजिक सञ्जाललाई पनि प्रचारप्रसारको महत्वपूर्ण माध्यम बनाएको देखिन्छ । तर बाजुराली मतदाताले भाषणभन्दा कामको प्रतिबद्धता खोजिरहेको देखिन्छ । विगतका अधुरा वाचा दोहोरिन नदिन, परिणाममुखी योजना र स्पष्ट तथा ठोस खाका चाहिरहेका छन् । तर उम्मेदवारहरु भने त्यस्तो कुनै ठोस खाका प्रस्तुत गरिरहेको देखिँदैन । 

घरदैलोका क्रममा एमाले उम्मेदवार लालबहादुर थापासहित प्रचारप्रसारमा संलग्न नेता कार्यकर्ताले ‘देश जलाउने र देश बनाउनेबीचको संघर्ष’ भन्दै देश जोगाउन आफुलाई मत दिन आव्हान गरिरहेका छन् । थापा बाजुराबाट ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका नेता हुन् । 

कांग्रेस उम्मेदवार जनकराज गिरी लोकतन्त्रको रक्षाका लागि र जिल्लाको विकासका लागि आफूले विगतमा पूरा गर्न नसकेका काम पूरा गर्न मत दिनुपर्ने जिकिर गरिरहेका छन् । गिरी ०५६ को निर्वाचनमा बाजुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भइसकेका हुन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाशबहादुर शाह आफूले यसअघि प्रदेश सकारमा हुँदा बाजुरामा अनेकौं विकास पूर्वाधारका आयोजना सञ्चालका लागि बजेट विनियोजन गरेको बताउँदै प्रतिनिधिसभामा पुगे बाजुराको विकासका लागि थप सशक्त आवाज उठाउने वाचा गर्दै मत मागिरहेका छन् । 

०१५ सालमा भएको पहिलो निर्वाचनमा बाजुराका बासिन्दाले आफ्नै जिल्लाका प्रतिनिधि चयन गर्न पाएका थिएनन् । त्यो निर्वाचनमा बाजुरा र अछाम एउटै निर्वाचन क्षेत्र थियो । अछामका दिलबहादुर बुढ्थापा उक्त निर्वाचनबाट बाजुरासमेतको प्रतिनिधि चयन भएका थिए । त्यसयता ०७९ सम्मका निर्वाचनमार्फत बाजुरावासीले अनेक राजनीतिक विचार र सिद्धान्त अंगालेका नेतालाई मतदान गरेर विजयी गराए । तर बाजुरा गरिबीको सूचांकमा पछाडि परिरह्यो, जिल्लावासीको जीवनस्तर सुधार हुन सकेन, शिक्षा, स्वास्थ्य, रोजगारीका अवसरलगायत विकासका पूर्वाधार निर्माणको अवस्थामा सुधार हुन सकेन भन्नेमा बाजुराका आममतदातामा असन्तोष देखिन्छ । यस्तै असन्तुष्टि र गुनासोकाबीच बाजुरावासीसमेत थप अर्को निर्वाचनमा मतदान गर्ने दिनको पर्खाइमा छन् ।    

बर्तमान बाजुराको इतिहास तत्कालीन जुुम्ला (सिंजा, खस) साम्राज्य अन्तर्गत २२ वटा पाखामा रहेका राज्य कालान्तरमा बाइसे राज्य संरचनामा रुपान्तरणसँग जोडिएको छ । बृहद सिंजा राज्यभित्र बाजुरा पनि पथ्र्यो । 
चौधांै शताब्दीको अन्त्यतिर डोटी राज्य शक्तिशाली भएर आएको थियो भन्ने भनाई छ । डोटी साम्राज्यका बेला बाजुरा बार्जु राज्यका नामबाट परिचित भएको पाइन्छ । अभय मल्लको ताम्रपत्र १२९८ र सुमतिब्रह्रको ताम्रपत्र १३४८ बाजु्र र बाजु शब्द उल्लेख छ ।  

Bajura residents await change in identity of 'poor'

बाजुराका संस्थापक शासक बझाङी राजा भीम सिंहका भाई डुुगर सिंह (१५७५) डुुगर सिंह थिए भन्नेमा इतिहासकारहरुको मत देखिन्छ । बझाङी राजाहरुको वंशावली अनुसार बझाङका ३९ औं राजा भीउ सिंहका भाई डुुगर सिंह नै बाजुराको पहिलो राजा रहेको उल्लेख छ । पूर्णप्रकाश नेपाल ‘यात्री’ ले उल्लेख गरे अनुसार साके १४६५ भन्दा पछिसम्म बाजुरामा पिउ थर्पुको शासन थियो र जसुधर पण्डितका वंशजले शासन गरेका थिए भन्ने छ । बाजुरा राज्यका (बार्जुकोट) अन्तिम राजा गजेन्द्रबहादुर शाह हुन् । 

बाजुराको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेटिदैनन् । त्यसैले नामाकरणका सन्दर्भमा इतिहासकारहरुका फरकफरक मत छन् । अभय मल्लको ताम्रपत्रमा ‘बार्जु’ शब्दको उल्लेख तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र मेचिदेखि महाकाली पुस्तकमा ‘बाज्र’ शब्दको अपभ्रंशबाट बाजुरा हुन आएको हो भन्ने भनाई पनि छ । 

अन्य किवंदन्तीहरु अनुसार बाजुराको नामाकरण झुर्रा बाजको अप्रभंश हुँदै बाज झुर्रा र बाज झुर्राबाट बाजुरा रहन गएको भनाई छ । बाजुरा दरबारबाट सिंजा दरबारमा राजाको आदेशअनुसार बाज पठाउनु पर्दथ्यो । बाज चरालाई पासो थापेर समातिन्थ्यो । भाले बाजलाई शाही र पोथीलाई झुर्रा भनिन्थ्यो । राजाले आफ्नो दरबारमा बाज पठाइदिने आदेश दिएपछि पासो थाप्दा पासोमा पासोमा झुर्रा (पोथी) बाज परेछ । पासोमा झुर्रा बाझ पारेको खबरसहित पोथीलाई राजाको दरबारमा पठाइएछ । राजाले शाही बाजको चाहना गरेको तर झुर्रा बाज प्राप्त गरेकोले त्यस कोटको नाम पोथी बाजको नाम उल्टाबाट बाझुर्रा कोट राखेछन् । बाझुर्रा कोटको नाम अपभ्रंश हुँदै पछि बाजुरी कोट हुन गएकको र पछि गएर बाजुरी कोटबाट बाजुरा रहन गएको किम्वदन्ती पनि छ ।

डा.राजाराम सुवेदीले बाजुराको नामाकरणका सन्दर्भमा उल्लेख गरेको विवरण अनुसार पनि बाजुरा कोटमा पहिले बाजथलो थियो । बाजमा शाही बाज (भाले) ले सिकार तथा समुन्द्रको मोती चिनेर टिप्ने हरियो रङको चरा (मोती चरा) समात्न मद्दत गथ्र्यो । भारतीय बजारमा बाजको निकै ठूलो माग थियो । जुम्ला क्षेत्रमा बाजथला (बाज) बढी मूल्यमा बिक्रि गरिन्थ्यो । बाजुरा कोटमा बाँधेर छाडेपछि बाज परेवालाई झम्टन आउँदा पासोमा बाँधिन्थ्यो । त्यसरी बाजलाई जुराउने ठाउँ भएकाले बाजुरे भन्दा भन्दै बाजुरो र कालान्तरमा आएर बाजुरा नाम रहेको जनश्रुति पाइन्छ । तसर्थ, बाजुरा नामामकरण हुनुमा यही जनश्रुतिको मत बलियो देखिन्छ । तत्कालीन बाइसे–चौविसे राज्यको सीमा थपघट र टुटफुट भइरहन्थ्यो । कम जनसंख्या र न्यून आम्दानी बाजुरा राज्यलाई पाँच सय बाजुरो पनि भन्ने गरिन्थ्यो । 

Bajura residents await change in identity of 'poor'

डा.बमबहादुर अधिकारीले उल्लेख गरे अनुसार तत्कालीन बाजुरा राज्यको सिमाना पोरख्या देउरालीदेखि पश्चिम, चौखुुट्टे देउराली र इकरीगाडदेखि पूर्व, मालागाढदेखि उत्तर र सिसिन्तवा, जेठीबहुरानीका बक्ररेखाको हाराहारीदेखि दक्षिणतर्फको भू–भाग बाजुरा राज्य अतर्गत पर्दथ्यो । 

०३८ सालमा बाजुराको भूगोल थप विस्तार भएको थियो । कर्णाली नदीपारि कालीकोट जिल्ला अन्तर्गत रहेका साविकका वाई, जुुकोट र साप्पाटा गाउँ पञ्चायतलाई कालीकोटबाट अलग गरेर बाजुरा अन्तर्गत गाभिएको थियो । ०३४ जेठ १४ गते बाजुरा सदरमुकाम कुल्देवमाडौंको टाँटेबाट मार्तडीमा सारिएको थियो । 

राज्यसत्तामा प्रतिनिधित्वका सन्दर्भमा बाजुराले पछिल्ला वर्षमा आफ्नो स्थान ओगट्दै गएको छ । एक दशकअघिसम्म जिल्लामा एउटा साझा नारा थियो ‘केन्द्र तहमा बाजुराको प्रभावशाली प्रतिनिधित्व नहुँदा जिल्लाको विकास पछाडि पर्‍यो । जुनसुकै दलबाट भए पनि सरकारमा बाजुराको प्रतिनिधित्व र सम्बन्धित पार्टीमा प्रभावशाली प्रतिनिधित्व आवश्यक छ ।’ 

प्रजातन्त्र/गणतन्त्र स्थापनापछि बाजुराबाट प्रतिनिधित्व गर्दै संघ र प्रदेश सरकारमा प्रभावशाली मन्त्रीदेखि प्रदेश प्रमुखसम्म भए । तर बाजुराका बासिन्दाले अपेक्षित विकासको अनुभूति भने गर्न नपाएको गुनासो भने छुट्न सकेको छैन ।

०१५ सालको निर्वाचनमा बाजुरा र अछामलाई एउटै निर्वाचन क्षेत्रमा राखिएको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गरेका अछामका दिलबहादुर बुढ्थापा निर्वाचित भएका थिए । ०३८ मा भएको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा बाजुराबाट नरसिंह गिरी, ०४३ सालको निर्वाचनमा प्रकाशबहादुर सिंह निर्वाचित भएका थिए । पदमबहादुर शाह, प्रकाशबहादुर सिंह, नरसिंह गिरी, ०४६ अघिका जनप्रतिनिधि थिए । 
०४८–०७९ को अवधिमा भएका निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी देवराज जोशी, हिक्मतजंग शाही, जनकराज गिरी, देवराज जोशी र कर्ण बहादुर थापा, लालबादुर थापा, बद्रीप्रसाद पाण्डे, महा नेपाली, बसुुन्धरा रोकाया, पेम्बा भोटे, कर्णबहादुर बिक र डबलबहादुर शाह, दयालबहादुर शाही र मदनकुमारी शाह (गरिमा शाह) संघीय संसद प्रतिनिधि भएका थिए । संघीयतापछि प्रदेशसभामातर्फ ०७४ मा बलदेव रेग्मी र प्रकाशबहादुर शाह, नरेशकुमार शाही र पदमबहादुर शाही र जुनाकुमारी दानी र सन्तोष शर्मा थापा निर्वाचित भएका थिए । 

Bajura residents await change in identity of 'poor'

प्रकाशबहादुर सिंह बाजुराबाट पहिलो मन्त्री भएका थिए । पञ्चायत कालमा उनी ०४३ सालमा गृह र वन राज्यमन्त्री भएका थिए ।  प्रजातन्त्र स्थापनापछि ०५७ मा जनकराज गिरी भूमि सुधार तथा व्यवस्था सहायक मन्त्री, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि पहिलो क्याबिनेट मन्त्री कर्णबहादुर थापा र त्यसपछि बद्रीप्रसाद पाण्डे भए । सोही अवधिमा कर्णबहादुर विकसमेत आपूर्ति राज्यमन्त्री भएका थिए ।  
प्रादेशिक शासन संरचनामा बाजुराका देवराज जोशी ०७८ मा सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख बने ।

प्रकाशबहादुर शाह ०७४ देखि ०७८ सम्म सुदूरपश्चिम प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुुन मन्त्री र पछि आर्थिक मामिला तथा योजना मन्त्री भए । सन्तोष कुमारी शर्मा (थापा) प्रदेश सरकारमा करिब एक महिना विना विभागीय मन्त्री भइन् । ०७९ मा निर्वाचित नरेशकुमार शाही आर्थिक मामिला मन्त्री भएका थिए ।

प्रजातन्त्र स्थापनापछि संघ र प्रदेश सरकारमा गरी बाजुराबाट सात जना मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री बनेका भए पनि बाजुराले अपेक्षित विकासमा फड्को मार्न नसकेको जनगुनासो भने ज्यूँकात्यूँ छ । तर प्रदेश सरकारमा प्रभावशाली मन्त्री भएका प्रकाशबहादुर शाह भने आफुले मार्तडी–कोल्टी सडक स्तरोन्नति, खप्तड–मार्तडी सडक प्रदेश गौरब अन्तर्गत, सडक पुलहरु, विद्यालय, खानेपानी र सिँचाइ क्षेत्रमा प्रदेशमै सबैभन्दा बढि बाजुरामा बजेट विनियोजन गरेको बताउँछन् ।

शैक्षिक जागरणको जग पनि बाजुरामा ढिलै सुरु भएको हो । ०७८ को जनगणनाअनुसार यस जिल्लाको कूल साक्षरता प्रतिशत ७१.२५ पुगेको छ । जस अन्तर्गत ६३.३२ प्रतिशत महिला र ७९.८३ प्रतिशत पुरुष साक्षरता छ । प्रदेश नीति तथा योजना आयोगको विवरण अुनसार बाजुरामा हाल २६० शैक्षिक संस्था छन् । 
बाजुराको शैक्षिक इतिहास खोतल्दा कुुण्डा क्षेत्रमा पहिलो विद्यालय कोल्टीस्थित जनप्रकाश २००८ सालमा स्थापना भएको इतिहास छ । तर त्यसबेला कुण्डा क्षेत्र हालको बाजुरामा समेटिएको थिएन । बाजुरामा शिक्षाको दियो बाल्ने नरसिंह गिरीलाई थिए । उनी बाजुराको पहिलो शिक्षक थिए । उनले ०१४ सालमा नरसिंह प्रावि स्थापना गरेका बाजुराका शैक्षिक तथा सांस्कृति अध्येता जहरसिंह थापा बताउँछन् ।  

०५७ सालमा बाजुरामा पहिलो क्याम्पस स्थापना भएको थियो । तर नियमित अध्ययन अध्यापन हुने क्याम्पस भने सदरमुकाम मार्तडीमा ०६३ मा सुरु भएको हो । सरकारी सेवातर्फ पछिल्ला वर्षहरुमा हाल प्रशासन, परराष्ट्र, सुरक्षा, इन्जिनियरिङ, चिकित्सा, शिक्षा, कृषि तथा पशुु सेवा लगायत  विभिन्न सेवा समूहमा बाजुराको प्रतिनिधित्व बढ्दै गएको छ । बाजुराबाट सरकारी सेवामा हाल सबैभन्दा उपल्लो तहमा डा. नारायण रेग्मी छन्। उनी प्रशासन समूहतर्फ सहसचिव छन् । 

बाजुराको परिचय अभाव र गरिबीको जिल्लाका रुपमा रहे पनि यो जिल्ला प्राकृतिक सम्पदाले भरिपूर्ण छ । प्रसिद्ध बडीमालिका क्षेत्र यसै जिल्लामा पर्दछ, जहाँ पर्यटन पूर्वाधार विकास हुन सके सुदूरपश्चिमकै आर्थिक विकासमा कालापलट हुने दाबी गरिन्छ । ‘बडीमालिकालाई मात्र दीर्घकालीन विकास योजनाका साथ पूर्वाधार विकासमा लैजाने हो भने देशकै आर्थिक समृद्धिमा टेवा दिने निश्चित छ,’ बाजुरा क्याम्पसका पूर्वप्रमुख सुरेशराज पण्डित भन्छन् ‘अहिलेसम्म यहाँका नीति निर्माताहरुले बडीमालिकाको पर्यटकीय सम्भावनालाई आर्थिक लाभ लिने दृष्टिले सोचिएको देखिएन ।’ 

Bajura residents await change in identity of 'poor'

बडीमालिका नेपालकै दुर्लभ प्राकृतिक विविधताले भरिपूर्ण एवं धार्मिक आस्थाको धरोहर हो । बाजुरामा पर्ने बडीमालिका करिब १४ हजार फिट उचाइँमा छ । यहाँ २२ वटा समथर फाँट छन् । त्रिवेणी, विष्णुपानी, खेतीवेती, लौरी बिनायक, धर्मद्वार बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन् । हिउँपर्ने बेला त्रिवेणी पाटनमा हिउँ चिप्लेटी (आइस स्केटिङ) को सम्भावना छ । यो क्षेत्र जैविक विभिधताको भण्डार हो । सयौं प्रजातिका जडीबुटी यहाँ पाइने अनुमान छ । साथै, दुर्लभ बन्यजन्तुको बासस्थल समेत बडिमालिका क्षेत्र हो । बाजुरा सदरमुकामदेखि तीन दिन पैदल हिँड्नुपर्छ । यहाँ जाने पर्यटकको संख्या वर्सेनि बढिरहेको छ । यसै वर्ष बडिमालिकामा नेपाली सेनाले मन्दिरको पुनर्निमाण गरेपछि यहाँको आकर्षण अझ बढाएको छ । 

बुढीनन्दा नगरपालिका क्षेत्रमा पर्ने बुढीनन्दा क्षेत्र करिब १६ हजार फिटको उचाइँमा रहेको बाजुराको अर्को महत्वपूर्ण धार्मिक पर्यटकिय क्षेत्र हो । यस क्षेत्रको महत्व बुढीन्दा तालले थपेको छ । तिलिचोपछि दोस्रो उचाइँमा रहेको ताल बुढीनन्दा हो भन्ने अनौपचारिक अध्ययनबाट देखिएको छ ।

धार्मिक आस्था र अपार प्राकृति छटाहरुको सुन्दरताले भरिपूर्ण बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाइँमा रहेको तथ्य सार्वजनिक भए पनि यसको महत्व अझ विस्तार भएको छ । यहाँ बुढीनन्दा देवीको मन्दिरसँगै चट्टानैचट्टानको बीचमा ताल छ । वरिपरी अन्य नौ वटा ताल छन् । बुढीनन्दा पुग्न सदरमुकाम मार्तडीदेखि तीन दिनको पैदल दुरी पार गर्नुपर्छ । ‘बाजुराको आर्थिक विकास गर्ने हो भने बुढीनन्दाको पर्यटकीय सम्भावनालाई उजागर गर्दै अवसरमा बदल्नै पर्दछ,’ बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार रोकाया भन्छन् ‘अहिलेसम्म वर्षको आठ–दश हजार तीर्थयात्री एवं आन्तरिक पर्यटक बुढीनन्दा पुग्दछन् । यसबाट केही हुन्न । यहाँ लाखौंको संख्यामा बाह्रय पर्यटक भित्र्याउन सकिने सम्भावना छ ।’

धार्मिक तथा प्राकृतिक पर्यटनको अपार सम्भावना रहेको खप्तडको मूख्य भूभाग बाजुरामै पर्दछ । खप्तड स्वामीको ध्यान क्षेत्रका रुपमा समेत चर्चित यस क्षेत्रको पर्यटकिय सुन्दरताको मेरुदण्ड मानिने प्रसिद्ध खप्तड दह बाजुरामै पर्छ । खप्तड पुग्न सबैभन्दा सहज र छोटो मार्ग बाजुराकै काँडा हो । ‘बजेट तथा योजनामा खप्तडलाई अहिलेसम्मका कुनै पनि सरकारले पर्यटकीय केन्द्रको प्राथमिकतामा नै राखेको छैन,’ खप्तड क्षेत्र पूर्वाधार तथा पर्यटन विकास समितिका पूर्वकार्यकारी निर्देशक भीम खड्काले भने ।  

बाजुराको अर्को चर्चित पयर्टकीय गन्तब्य रानीसैन हो । हिमाली गाउँपालिकामा पर्ने रानीसैन बाजुरा र हुम्लाको सिमाना अनि सैपाल हिमालको पूर्वी बेसक्याम्प हो । ‘सैपाल आरोहण गर्न सबैभन्दा मार्ग रानीसैन छ भनिन्छ,’ बाजुराबाट प्रदेश सभा सदस्य नरेशकुमार शाही भन्छन्, ‘यहाँबाट मानसरोवर जान  नजिक पर्छ । रानीसैन अवर्णनीय सुन्दर र रमणीय छ ।’ रानीसैनमा रहेको हिमतालले यहाँको सुन्दरता बढाएको छ । यहाँ हरेक वर्ष बाजुरा र हुम्लाका बौद्ध धर्मावलम्बी भेला भएर गुम्बामा पुजाआजा गर्छन् । करिब चार हजार मिटरको उचाइमा पर्ने रानीसैनलाई बाजुराको उपत्यका पनि भनिन्छ । 

यस्तै कर्णाली नदी बग्ने बाजुराको हिमाली र स्वामीकार्तिक गाउँपालिका क्षेत्र र्‍याफ्टिङका लागि निकै उपयुक्त मानिन्छ । अग्ला चट्टानी पहाडको बीचमा बगिरहेको कर्णाली नदीमा तैरिन पाइने सम्भावना रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । रारा ताल र सैपाल हिमाल आरोहरणमा जान पनि सबैभन्दा सहज यही मार्ग हुने स्थानीय बताउँछन् । 

बाजुरामा बार्जुकोट, कुडीकोटको ऐतिहासिक महत्व छ । अहिले यो बाजुराको प्रमुख पर्यटकीय गन्तब्य हो । विगतमा बाजुरा राज्यमा डुुगर सिंह (विस १६५०–१६६० देखि अन्तिम राजा गजेन्द्रबहादुर शाहले बार्जुकोटबाटै शासन गरेका थिए । हाल यस ठाउँलाई नगरपालिका र अन्य क्षेत्रबाट पनि संरक्षणका योजना निर्माण गरिरहेका छन् । कुडीकोट दरबारमा पुग्न चारैतिरबाट कम्तीमा दुई सय मिटर ठाडै उकालो चढ्नुपर्ने हुन्छ । अहिले पनि यहाँ बडादसैं, चैतेदसैं र श्रीपञ्चमीलगायतका पर्वमा उक्त कोट घरमा पूजाआजा गर्ने परम्परा छ।

छेडेदह पनि यहाँको अर्को महत्वपूर्ण पर्यटकीय गन्तब्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण छेडेदह तालको बीचमा खापर देवताको मन्दिर छ । वरिपरिका बुट्यान र जंगलको हरियालीले छेडेदह प्राकृतिक पार्क सरह छ । आटीचौर, गुदुखाती र डोगडी गाविसको सिमानामा पर्ने यही ताल हुँदै खप्तड, बडिमालिका र रारा जाने पर्यटन मार्ग हो । संरक्षणको अभावका मासिँदै गएको छेडेदह ताल प्राकृतिक प्रकोपको जोखिममा छ । 

साविक सेती अञ्चलका पाँच अन्तर्गत बाजुरा हाल सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये एउटा दुर्गम तथा पहाडी जिल्ला हो । २१८८ वर्ग किमि क्षेत्रफल रहेको बाजुरा समुन्द्री सतहबाट ७२६ मिटरदेखि ७०३६ मिटरसम्मको भू–भागमा फैलिएको छ । तथ्यांक कार्यालयको अभिलेख अनुसार जिल्लाको ३२ प्रतिशत क्षेत्र सहरी र ६८ प्रतिशत ग्रामीण क्षेत्रमा पर्दछ । बाजुराको पूर्वमा मुगु र कालीकोट, पश्चिममा बझाङ, दक्षिणमा अछाम र कालिकोट र उत्तरमा हुम्ला जिल्ला पर्दछ । 

Bajura residents await change in identity of 'poor'

देशको करिब १५ प्रतिशत क्षेत्रफल ओगटेको यो जिल्लामा ११.५ प्रतिशत जमिन मात्र खेतीयोग्य छ भने ३७.८ प्रतिशत जमिन अझै पनि बाँझो छ । बाजुरा अझै पनि दुर्गम कृषि–आधारित अर्थतन्त्र भएको जिल्ला हो । ०७८ को जनगणना अनुसार यस जिल्लाको जनसंख्या जनगणनाअनुसार १ लाख ३८ हजार ९९८ छ ।

एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा चार वटा नगरपालिका र पाँच गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । बुढीगंगा, त्रिवेणी, बडिमालिका, र बुुढीनन्दा नगरपालिका हुन् भने खप्तड छेडेदह, स्वामीकार्तिक खापर, हिमाली, जगन्नाथ र गौमूल गाउँपालिका हुन् । सदरमुकाम क्षेत्र पर्ने बडीमालिका नगरपालिकाबाहेक अन्य कुनै पनि स्थानीय तहका केन्द्रसम्म कालोपत्र सडक पुगेको छैन । 

तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा सबैभन्दा बढी गरिबी दर रहेका १० जिल्लाको तेस्रो नम्बरमा बाजुरा परेको छ । बाजुराको गरिबी ४७.८१ प्रतिशत रहेको उल्लेख छ । यस्तै उच्च गरिबी दर रहेका देशका १० वटा स्थानीय तहमध्ये बाजुराको त्रिवेणी नगरपालिकासमेत पर्दछ । यस नगरपालिकामा ६५.१७ प्रतिशत गरिबी रहेको उल्लेख छ । युएनडीपीले तयार गरेको मानवविकास सूचांक २०१५ अनुसार बाजुराको मानव विकास सूचांक ०.३६४ रहेको छ ।  

बाजुराको २ लाख १८ हजार ८ सय हेक्टर क्षेत्रफल मध्ये २४ हजार ३१९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ भने त्यसमा पनि ६ हजार ७९२ हेक्टरमा मात्र खेती गरिएको तथ्यांक छ । कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार सुदूरश्चिमका नौ जिल्लामध्ये बाजुराले ओगटेको हिस्सामा खाद्य तथा बाली क्षेत्र ४.६३ प्रतिशत, तरकारी तथा बागवानी क्षेत्र २.१७ प्रतिशत र फलफूल तथा मसला क्षेत्र ९.६२ प्रतिशत रहेको छ । यस्तै बाजुरामा गत आर्थिक वर्षमा खाद्य तथा बाली उत्पादन ५३ हजार ७२० मेट्रिक टन, तरकारी तथा बागवानी ४ हजार १६० मेट्रिक टन र फलफूल तथा मसला उत्पादन ८ हजार २६ मेट्रिक टन रहेको छ । गत वर्षकै तथ्यांक अनुसार बाजुरामा दुध उत्पादन १ करोड ७ लाख ८० हजार लिटर, मासु उत्पादन १ हजार ६७६ मेट्रिक टन र अण्डा उत्पादन ४ लाख ८४ हजार गोटा हुने गरेको तथ्यांक छ । 

२९ वटा बैंक तथा वित्तिय संस्था रहेको बाजुरामा औद्योगिक कर्जा प्रवाह सुदूरपश्चिममा सबैभन्दा कम बाजुरामा छ । नेपाल राष्ट्र बैंक धनगढीका अनुसार नौ जिल्लामध्ये बाजुरामा औद्योगिक कर्जाको प्रवाह प्रतिशत ०.४४ प्रतिशत मात्र छ । नौ जिल्लामध्ये बाजुरामा निक्षेप संकलन २.५ प्रतिशत र कर्जा ०९६ प्रतिशत मात्र छ । 

बाजुराली बासिन्दाले भोगिरहेको अर्को आधारभूत समस्या स्वास्थ्य सेवा उपलब्धताको समस्या हो । यहाँको ग्रामीण क्षेत्रका बासिन्दा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाहिर छन् । बाजुरामा स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार ०८०/८१ मा ११ नवजात शिशुको मृत्यु भएको थियो । यस जिल्लामा बाटोमै सुत्केरी भएका घटना बेलाबेला सार्वजनिक भइरहन्छन् । बाजुराको विकट ग्रामीण क्षेत्रका महिला र बालबालिका कुपोषणको दुष्चक्रमा छन् ।

बाजुराका नौ वटै गाउँपालिकामा कुपोषित महिला र बालबालिका छन् । गत वर्षको तथ्यांक अनुसार बाजुरामा स्थानीय तहक स्वास्थ्य संस्थामा उपचार गर्न आएका जन्मेदेखि ५ वर्ष मुनिका २८७ भन्दा बढी बालबालिका कुपोषणको चपेटामा रहेको पाइएको छ । कुपोषणका कारण हरेक वर्ष बालबालिकाले ज्यान गुमाउनु परेका घटना पनि छन् । 

स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट आधारभूत स्वास्थ्य केन्द्रका अनुसार गत वर्ष दुई जना बालबालिकाले ज्यान गुमाए । मुक्तिकोट गाउँमा मात्र गत वर्ष २५ जना बालबालिका कुपोषणको चपेटामा परेका थिए । तीमध्ये ११ जना शीघ्र कुपोषित थिए । 

स्वास्थ्य कार्यालय बाजुराका अनुसार गत वर्ष ०८१/८२ मा ५ वर्ष मुनिका ९३ जना बालबालिका कुपोषित रहेको दाबी गरेको छ । तर स्थानीय तहका स्वास्थ्य संस्था र बाजुरा अस्पतालमा रहेको पोषण पुनस्र्थापना केन्द्रको तथ्यांक जोड्दा त्यस अवधिमा २ सय ८७ जना बालबालिका कुपोषित रहेको देखिन्छ । जिल्ला अस्पतालमा रहेको पोषण पुनस्र्थापना केन्द्रमा मात्रै गत वर्ष ५१ जना कुपोषित बालबालिकाले उपचार गराएका थिए । बाजुराको कुपोषणको दुष्चक्र हटाउन निकै ठूलो योजना र लक्ष्यका साथ काम गर्नुपर्ने खाँचो देखिएको बाजुरामा कुपोषण अवस्थाको अध्ययन गर्दै आएका जनस्वास्थ्यविद् ज्ञानेन्द्र दवाडी बताउँछन् । 

दवाडीका अनुसार चरम गरिबी, बालविवाह परम्परा, पोषणयुक्त खानाको कमि, स्वास्थ्य उपचार, सरसफाइ, जनचेतना, गर्भवती अवस्थामा आराम तथा स्याहार, गर्भवती र सुत्केरीहरुलाई हुने अत्यधिक कामको बोझलगायत कारणले बाजुराका महिला तथा बालबालिका कुपोषणबाट प्रभावित छन् ।  जिल्ला अस्पताल सदरमुकाम मार्तडीमा छ । १५ शय्याको उक्त अस्पतालमा तीन जना विशेषज्ञसहित हाल आठ जना र उत्तरपूर्वी क्षेत्रका चार वटा कोल्टी आधारभूत अस्पताल एक जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । 

०७८ को जनगणनाअनुसार बाजुराका २८ हजार ४१ घरधुरीमध्ये घरभित्र धारा जडान भएको खानेपानी सुविधा ५ हजार ३५० परिवार, घरबाहिर धारा १९ हजार ७०१, ३९ परिवार कुवा, १ सय ७२ परिवार खोला झरनाको पानी खान्छन् । यस्तै ४५८ परिवारको घरमा शौचालय छैन । बाजुराका २५ हजार ७५१ परिवारले अझै दाउरामा खाना पकाउँछन् ।

जिल्लाका २२ हजार ९२१ परिवारको घरमा बिजुली बत्ती पुगेको छ । बाजुरामा सुन, तामा, फलाम, सिसा, युरेनियम खानी रहेको प्रदेश नीति तथा योजना आयोगको विवरणमा उल्लेख छ । यस जिल्लाको ९४ हजार ४३० हेक्टर क्षेत्रफल बन क्षेत्रले ढाकेको छ । बाजुरामा सानाठूला गरी ५७ वटा तालतलैया रहेको तथ्यांक छ ।Bajura residents await change in identity of 'poor'

बसाइँसराइले यहाँका बासिन्दा धेरैजसो बस्तीका घरमा ताल्चा झुण्डिएका देखिन्छन् । पछिल्ला वर्षमा जिल्लामा बसाइँसराइको क्रम बढेको छ । रोजगारीको अभावका कारण युवा बाहिरिँदा गाउँमा महिला र जेष्ठ नागरिक मात्रै छन् । खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ भने शैक्षिक संस्थाहरुमा विद्यार्थीको संख्या घट्दो क्रममा छ । स्नातक तह अध्ययन गर्ने विद्यार्थीको संख्या घटेकाले कतिपय ठाउँका शैक्षिक संस्था सञ्चालन गर्नै समस्या पनि भएको शिक्षकहरु बताउँछन् । 

ग्रामीण क्षेत्र युवाविहीन जस्तै छन् । मतदानको दिन नजिकिँदै गर्दा पनि अधिकांश गाउँटोलमा विगतजस्तो चलहपहल देखिँदैन । अधिकांश युवा कामको खोजीमा भारत पसेका छन् । हरेक घरधुरीबाट युवा तथा काम गर्न सक्ने उमेरका पुरुष भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका छन् । गाउँमा हुने भेला, बैठकदेखि सामाजिक काम पनि पुरुषको उपस्थिती छिटपुट मात्रै हुन्छ । काम गर्न सक्ने उमेर समूहका बाजुराका पुरुष भारतका विभिन्न सहरमा गएर धेरै जसोले चौकीदारीको काम गर्छन् । चौकीदारीको आम्दानीले मात्रै नपुग्ने भएपछि अधिकांशले बिहानको समयमा गाडी सफा गर्ने र कतिपयले भारी बोक्ने काम गर्छन् ।

पछिल्ला वर्षमा फाट्टफुट्ट संख्यामा तेस्रोमुलुक पनि जाने क्रम बढेको छ । ‘हाम्रो गाउँमा १ सय १० परिवारको बसोबास छ । तीमध्ये बढीमा १५ परिवारमा मात्र पुरुष घरमा छन्, युवा त छँदैछैनन् भने पनि हुन्छ,’ बुढीगंगा नगरपालिका–७ का काल्चे गिरीले भने,‘गाउँमा महिला मात्रै छन् । विगत जस्तो गाउँमा चुनावी चहलपहल छैन।’ तर गाउँमै रोजगारी सिर्जना गरेर बसाइँसराइ तथा भारतमा जोखिमपूर्ण श्रममा जानुपर्ने बाध्यतालाई घटाउने योजना मत माग्दै घरदैलोमा पुग्ने कुनै पनि उम्मेदवारले नसुनाएको गाउँलेहरु बताउँछन् ।

Bajura residents await change in identity of 'poor'

सडक, सिँचाइ, खानेपाली, विद्यालय भवनलगायतका पूर्वाधार विकास बाजुरावासीका मुख्य माग हुन् । नौ वटा स्थानीय तह रहेको बाजुरामा सदरमुकाम मार्तडी रहेको बडीमालिका नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहको केन्द्रसम्म कालोपत्र सडकको पहुँच पुगेको छैन । कच्ची सडकको ट्रयाक खुलेपछि बाजुरा सदरमुकामा ०७३ असोजमा मात्रै बस पुगेको हो । ०७५ मा मात्र सदरमुकामसम्म सडक कालोपत्र भएको हो । 
बाजुराको ठूलो भू–भाग ओगटेको र चार वटा स्थानीय तह रहेको पूर्वोत्तर कोल्टी क्षेत्र अझै पनि बाह्रै महिना सडक सञ्जालमा जोडिएको छैन । मार्तडी–कोल्टी सडक कालोपत्र र पुल नहुँदा वर्षादका बेला यातायातका साधन सञ्चालन हुन सक्दैनन् । मार्तडी–कोल्टीको दुरी करिब ४२ किलोमिटर छ । 

कर्णाली नदी किनारैकिनार भएर रेखांकन गरिएको कर्णाली करिडोरको कच्ची सडकको ट्रयाक खुलेपछि बाजुराको अति विकटमा पर्ने हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको सडक सञ्जालमा जोडिएका छन् । बाजुराको विकट पूर्वाेत्तर कुण्डा क्षेत्रका बासिन्दाले कर्णाली करिडोरको कच्ची सडकमा तीन वर्षअघि ढुवानीका साधन चल्न थालेपछि बल्ल यस क्षेत्रका बासिन्दाले गाडी देख्न पाएका हुन् ।  

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully