पाँचथरमा कांग्रेस–एमालेबीच झिनो मतान्तरको संयोग टुट्ला ?

कांग्रेस, एमाले र नेकपाले गत निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मत परिणामलाई आधार मानेर चुनाव जित्ने कसरत गरिरहेका छन् ।

फाल्गुन ११, २०८२

लक्ष्मी गौतम

Will the slight difference between Congress and UML in Panchthar break the deadlock?

What you should know

पाँचथर — यसअघिका निर्वाचनमा जिल्लामा कांग्रेस र एमालेबीच चुनावी प्रतिस्पर्धामा जित/हारको मतान्तर त्यति फराकिलो पाइदैन् । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका बसन्तकुमार नेम्वाङले कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतको झिनो अन्तरले पराजित गरेका थिए ।

गत निर्वाचनमा नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याएका थिए । भने आङदेम्बेले ३२ हजार ८९ मत प्राप्त गरेका थिए ।

२०६४ को संविधानसभा निर्वाचनमा एमालेका गणेशकुमार काम्बाङलाई ७ मतको झिनो अन्तरले हराँउदै कांग्रेसका पूर्णकुमार सेर्मा निर्वाचित भएका थिए । त्यसबेला काम्बाङले १२ हजार ९ सय १३ मत ल्याउँदा सेर्मालाई १२ हजार ९ सय २० मत प्राप्त भएको थियो । दुबै निर्वाचनमा विभिन्न दलले प्रत्यक्षतर्फ गठबन्धन र तालमेल गरेकाले कुन दलको वास्तविक मत कति थियो भन्ने अड्कल गर्न सम्भव छैन । 

तर, ०७९ मा समानुपातिक तर्फ विभिन्न दलले प्राप्त गरेको मतलाई आधार मान्दा भने त्यसबेला प्रतिस्पर्धामा रहेका दलको वास्तविक आकार कत्रो थियो ? भनेर सजिलै खुट्याउन सकिन्छ । ०७९ मा एमालेले समानुपातिकतर्फ २६ हजार २६ मत प्राप्त गरेको थियो । कांग्रेसले १९ हजार ८ सय ४७ मत ल्याएको थियो । 

तत्कालीन माओवादी केन्द्रले १० हजार ६ सय ६२, नेकपा एसले २ हजार ९ सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ३ सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ९ सय ४२ र जनता समाजवादीले १ हजार ७ सय ९ मत प्राप्त गरेका थिए । त्यसबेला माओवादी केन्द्र, नेकपा एस र कांग्रेसबीच गठवन्धन थियो । एमालेलाई पनि साना दलको समर्थन थियो ।

यसपटक गठबन्धन छैन । नेपाली कम्युनिष्ट पार्टी, एमाले र कांग्रेससहित १५ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस, एमाले र नेकपाले गत निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मत परिणामलाई आधार मानेर चुनाव जित्ने कसरत गरिरहेका छन् । ०७९ मा यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ४ सय २५ मत मात्र प्राप्त गरेको थियो । यसपटक भने रास्वपाले देशव्यापी माहोलको फाइदा उठाउँदै प्रचार प्रसार तिब्र बनाएको छ । 

श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले पनि चुनाव जित्ने रणनीतिका साथ प्रचार गरिरहेका छन् । गत निर्वाचनमा थोरै मत प्राप्त गरेको रास्वपासँगै पहिलो पटक चुनाव लड्न लागेका श्रम संस्कृति र राष्ट्रिय परिवर्तन पार्टी फागुन २१ को निर्वाचन मार्फत जिल्लामा ठूला दलको आकार ग्रहण गर्ने कोशिषमा छन् । यसले कांग्रेस, एमाले र नेकपामाथि दबाब बढेको छ ।

पुराना दलको आधार क्षेत्र भएपछि यसपटक ती दलबाट केही कार्यकर्ता नयाँ दलमा प्रवेश गरेका छन् । एमाले उम्मेदवार अइन्द्रसुन्दर नेम्वाङ पार्टीको बलियो संगठन, कार्यकर्ताको एकता र ०७९ को निर्वाचनको मत परिणाम अनुसार आफ्नो जीत निश्चित रहेको बताँउछन् । कांग्रेससँगै आफ्नो प्रतिस्पर्धा रहेको उनले बताए । 

कांग्रेस उम्मेदवार नरेन्द्रकुमार केरुङले २०४७ सालदेखि निरन्तर शिक्षण, राजनीति र समाजसेवामार्फत पुर्‍याएको योगदानसँगै २०७० को संविधानसभा र २०७४ को प्रदेशसभा निर्वाचनमा वेहोरेको हारका कारण प्राप्त हुने सहानुभूति भोटले आफूले जित्ने बताँउछन् ।

लामो समयसम्म शिक्षण र प्राध्यापन गर्दै यसअघि २ कार्यकाल कांग्रेसको जिल्ला सभापति भएर काम गरेका उनी विशेष महाधिवेशन पश्चात पार्टीप्रति नागरिकको बदलिँदो दृष्टिकोण र वडा तहसम्मका कांग्रेस कार्यकर्ताको मेहनेत पनि जितको आधार हुने दाबी गर्छन् । 

नेकपा उम्मेदवार हर्कबहादुर नेम्वाङ (मिक्सो) तत्कालीन माओवादी केन्द्र र नेकपा एसबीचको एकतापछि संघठनात्मक संरचना बलियो बनेको बताउँछन् । उनी संगठन र अन्य दलका भोट आकर्षिक गरेर जित्ने रणनीतिमा छन् । सशस्त्र द्वन्द्वकालबाट माओवादीको संगठन निर्माणमा भिडेका उनी पहिलो पटक संसदीय मोर्चामा भाग लिँदैछन् । पार्टी संगठनमा रहेर पनि निरन्तर जनताका पक्षमा काम गरेकाले आफ्नो विजय निश्चित रहेको उनले बताए । जिल्लामा १ लाख ४३ हजार ४ सय ८ जना मतदाता छन् । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully