पकड क्षेत्रमा बुथ कब्जा, अर्को दल वा सुरक्षाकर्मीसँग झडप, गोली प्रहारमा घाइेत र मृत्युका घटना हरेकजसो निर्वाचनमा हुँदै आएका छन्।
What you should know
दोलखा — हरेक निर्वाचनमा अशान्त रहने दोलखा आसन्न प्रतिनिधिसभा निर्वाचनबारे मतदातामा कौतूहलता छ । यहाँ हरेक निर्वाचनमा गोली चल्नु र बुथ कब्जा हुनु सामान्य जस्तै छ । २०४८ यताका निर्वाचनमा दोलखामा सधैं हिंसात्मक घटना भएका छन् ।
२०४८ देखि २०५६ को निर्वाचनसम्म कांग्रेस र एमालेबीच बुथ कब्जा र झडपका शृंखला भए । २०६४ मा सोही रोग तत्कालीन माओवादीमा सर्यो । त्यसबेला माओवादीले एमालेको सभा बिथोल्नेदेखि बुथ कब्जासम्म गर्यो । कतिपय स्थानमा कांग्रेस सभासमेत माओवादीले बिथोलेको थियो । उक्त निर्वाचनमा सभा सकेर फर्कने क्रममा माओवादीले एमाले नेता/कार्यकर्ता चढेको बस र गाडीमाथि आक्रमण गरेपछि सुरक्षाकर्मीले गोली चलाउँदा दुई माओवादी कार्यकर्ताको ज्यान गएको थियो । धेरै जना घाइते भएका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको थियो । कतै माओवादी–कांग्रेस, कतै माओवादी–एमाले त कतै कांग्रेस–एमाले । झडप नियन्त्रण लिन सुरक्षाकर्मीले दैनिकजसो गोली चलाउनु परेको थियो । २०७० मा मतदानको दिन जिल्लाका एक दर्जनभन्दा बढी मतदानस्थलमा झडप भएपछि सय राउन्डभन्दा बढी गोली सुरक्षाकर्मीले चलाएको तथ्यांक छ ।
त्यो समयमा कांग्रेस र माओवादीले एमालेबाट एक दर्जनभन्दा बढी मतदानस्थलमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए । मतगणना ५ दिनसम्म रोकिएको थियो । अन्नतः दलहरू सहमति गरेर मतगणनामा सहभागी भएका थिए ।
२०७४ को स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा गौरीशंकर गाउँपालिका–२ मा एमाले र माओवादीका कार्यकर्ताबीच भएको झडपमा एक एमाले कार्यकर्ताको मृत्यु भएपछि तनाव बढेको थियो । सोही निर्वाचनमा मेलुङ गाउँपालिका–१ मा मतदान सकिएलगत्तै कांग्रेसका कार्यकर्ताले धाँधली भएको भन्दै मतपेटिका कब्जा गरेर सिल गरेको मतपेटिका फुटाएर मतपत्र फालेपछि प्रहरीले चलाएको गाली लागेर एक जनाको मृत्यु भएको थियो । आधा दर्जनभन्दा बढीलाई गोली लागेको थियो ।
२०७४ को निर्वाचन केही शान्त बने पनि आधा दर्जन मतदानस्थलमा झडप भएका थिए । प्रहरीले दर्जनौं राउन्ड गोली चलाएको थियो । उक्त निर्वाचनमा कांग्रेसले एमाले–माओवादी गठबन्धनले दर्जनौं स्थानमा बुथ कब्जा गरेको भन्दै उजुरी गरेको थियो ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा वैत्यश्वर र तामाकोशी गाउँपालिका तनावग्रस्त बनेको थियो । वैत्यश्वरका चारवटा वडामा बुथ कब्जा गरेर ९८ प्रतिशतसम्म मत खसालिएको थियो । यो क्रम २०७९ कै प्रतिनिधिसभा निर्वाचनमा समेत रोकिएन । यो वर्ष कांग्रेस–माओवादी गठबन्धनले ११ वटा बुथ कब्जा गरेको एमालेले आरोप लगाएको थियो । वैत्यश्वर–६ को मतदानस्थलमा एक वृद्ध मतदाताले मत खसाल्न नपाएपछि मतपेटिका फुटाइदिएका थिए । निर्वाचन आयोगले छानबिन गरेपछि चारवटा मतदानस्थलमा बुथ कब्जा भएको प्रमाण फेला पारेपछि यी स्थानमा पुनः निर्वाचन भएको थियो ।
निर्वाचनमा गोली चल्ने र मतदानस्थल हिंसात्मक हुने भएकाले आम मतदाताले असुरक्षित महसुस गर्दै आएका छन् । कतिपय मतदानस्थलमा मतदाताले वर्षौंदेखि मतदान गर्न नपाएको बताउने गरेका छन् । निर्वाचनको समय निजिकिएसँगै मतदाताले शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुन पाइन्छ त भन्ने प्रश्न पुनः गर्न थालेका छन् ।
बुथ कब्जाको आरोपप्रत्यारोप लगाए पनि दलहरू अझै पनि यस्तो गतिविधिको जिम्मा भने लिन चाहँदैनन् । बुथ कब्जा हुने कुरा दलहरू स्विकार्छन् । तर कुनै पनि दलहरूले जिम्मा लिन चाहँदैनन् ।
दलहरूले जनमतको सम्मान गर्नुपर्ने पूर्वसांसद आनन्दप्रसाद पोखरेल बताउँछन् । ‘जनतालाई मत खसाल्नबाट रोकेर कुनै पनि हालतमा चुनाव जित्न जस्तोसुकै हत्कण्डा अपनाउने शैली दलहरूले त्याग्नुपर्छ,’ उनले भने, ‘विगतका घटनाबाट पाठ सिक्नुपर्छ, यसका लागि यो पटक म आफैं जिल्लामा सबै उम्मेदवार र दलहरूका प्रतिनिधि राखेर यस्ता गतिविधि बन्द गर्ने सहमति जनाउने प्रयत्नमा लाग्दै छु ।’
सर्वदलीय रूपमा सहमति गरेर जनताको मत सुरक्षित गर्ने सन्देश दिनुपर्ने उनले बताए । राष्ट्रिय रूपमा लागेको बुथ कब्जाको दाग मेटाउन २०८२ को निर्वाचनमा दलहरूलाई मौका रहेको उनले बताए । ९५ मतदानस्थलमध्ये ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । यस्तै २८ मतदानस्थल संवेदनशील र १५ वटालाई सामान्य सूचीमा राखिएको छ ।
निष्पक्ष निर्वाचनका लागि दलहरूबीच एक प्रकारको समझदारी हुनुपर्ने पूर्वप्रतिनिधिसभा सदस्य गंगा कार्कीले बताए । ‘निष्पक्ष निर्वाचनका लागि दलहरू र पूर्वप्रतिनिधिसभाका सदस्यबीच छलफल भइरहेको छ, विगतका निर्वाचनभन्दा निष्पक्ष बनाउनेमा सहमति हुने मैले विश्वास लिएको छु,’ उनले भने, ‘इतिहासमै म उठेको निर्वाचन सबैभन्दा शान्तिपूर्ण भयो, भलै निर्वाचन केही स्थानमा दोहोरिए पनि परिणाम फरक भएन ।’ गत निर्वाचनबाट पनि दलहरूले केही सिकेको उनले बताए ।
प्रशासनले यो पटक दोलखामा शान्तिपूर्ण निर्वाचन गराउन निर्वाचन लक्षित विशेष सुरक्षा योजना बनाएको दाबी गरेको छ । यो पटक कुनै पनि हालतमा बुथ कब्जा र फर्जी मत खसाल्न नदिने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । मतदाताको सुरक्षाका लागि नेपाली सेनासहितको सुरक्षा बेसक्याम जिल्लाका विभिन्न ठाउँमा बसिसकेको उनले बताए ।
‘निर्वाचन शान्तिपूर्ण बनाउन र निष्पक्ष बनाउन सर्वदलीय सहमति भइसकेको छ,’ उनले भने, ‘दलहरूले हामीसँग गरेको सहमति कार्यान्वयन गर्नेमा विश्वस्त छौं, संवेदनशील क्षेत्रका मतदानस्थलको विशेष सुरक्षा रणनीति अपनाएका छौं, कोही मतदाताले मत खसाल्न नपाएको गुनासो हुन दिँदैनौं ।’ विगतमा भएका घटनाको अवस्था हेरेर मतदाता र मतदानस्थलसहित मतपेटिकाको सुरक्षा रणनीति बनाइएको उनले बताए ।
