२०२८ मा केपी शर्मा ओलीले नेपालमा लामो समयदेखि स्थापित राज्यसत्तामाथि प्रश्न उठाएर आम मान्छेको मुक्तिको आवाज बोलेका छन्। जतिबेला उनी आफैं २० वर्ष पुग्दै थिए। त्यही उमेरका नौजवानहरूले ५४ वर्षपछि गरेको विद्रोहपछि हुन लागेको निर्वाचनले ओली राजनीतिको मूलधारमा रहने कि किनारामा पुग्ने भन्ने दोसाँधमा छन्।
What you should know
काठमाडौँ — वि.सं. २०२८ र २०८२ । केपी शर्मा ओली (७४) का लागि यी वर्षहरू संयोग हुन्– संघर्षमय दिन, राजनीतिक संक्रमण, क्षणभंगुर ख्याति, अनेकन् विचित्र घटना र उकालो उक्लिरहेको राजनीतिक ग्राफको । झापा विद्रोह– २०२८ एक बिन्दु थियो, जति बेला ओली राजनीतिमा उदाए । र, २०८२ को जेन–जी विद्रोह अर्को बिन्दु बन्यो, जसलाई विश्लेषकहरूले ओलीको ‘ओरालो यात्रा’ भनेका छन् ।
गठबन्धन सरकारको शक्तिशाली प्रधानमन्त्रीको सुख–सयलपूर्ण जिन्दगी बाँचिरहेकै बेला जेन–जी आन्दोलनले सत्ता ढालेपछि सैनिक ब्यारेकमा ओली गणेश रसिकको गीत ‘ओ शून्यता’ ले भनेझैं लगभग ‘शून्य ओ शून्य’ भई टोलाइबसे । प्रदर्शनकारीले २४ भदौमा भक्तपुर बालकोटस्थित घर खरानी बनाइदिएका थिए । सुरुमा मकवानपुरको सुपारीटार ब्यारेक र पछि ७ नम्बर बाहिनी अड्डामा बसेर फर्केपछि ओलीले पत्नी राधिका शाक्यसहित गुन्डुको एक भाडाको घरमा नयाँ जीवन–यात्रा सुरु गरे ।
ओलीको जीवन–पथ नियाल्दा देखिन्छ— धूमिल चित्रमा अनेकन् स्मृति । ती पृष्ठहरूमा थुप्रै गाथा छन्– सुखका, दुःखका, जोसका र संघर्षका । तर दुःखका शृंखलाले विचलित वा अशान्त भएको देखिँदैनन् ओली ।ओलीको राजनीतिक इतिहास जेल–जीवनदेखि प्रधानमन्त्रीसम्मको लम्बेतान यात्रा हो । ओली पहिलो पटक प्रधानमन्त्री भएको २५ असोज २०७२ मै हो । ३ फागुन ०७४ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा झन्डै दुईतिहाइ बहुमतको साथ थियो ।
बीचमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुँदा सरकारलाई समर्थन दुईतिहाइ नै पुगेको थियो । तर करिब साढे तीन वर्ष मात्र सरकार चलाउन पाए/सके । ३० असार ०८१ मा फेरि प्रधानमन्त्री बन्दा करिब दुईतिहाइकै समर्थन थियो । त्यति बेला प्रतिनिधिसभाको पहिलो दल कांग्रेससँगै सत्ता साझेदारी थियो । यति शक्तिशाली सरकारलाई जेन–जी विद्रोहको चट्याङले हुत्याइदियो ।
ओली सरकारसँग जेन–जीले माग राखेका थिए— भ्रष्टाचार अन्त्य, सुशासन र १९ भदौमा रोक लगाइएका फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालका माध्यमको बन्देज हटाउनुपर्ने । राज्य चलाउने नेताको शासकीय शैलीभित्रको सामन्तवादी संस्कृति र अहम्ले पनि जेन–जीलाई आक्रोशित बनाइरहेकै थियो । दर्ता हुन नआएको भन्दै सामाजिक सञ्जालमा नै रोक लगाइएपछि निस्सासिएका जेन–जी सरकारविरुद्ध सडकमा आए ।
जेन–जी आन्दोलनको पहिलो दिन २३ भदौमै सरकार चरम दमनमा उत्रियो । प्रहरीले चलाएको गोली लागेर त्यो दिन २१ जनाको मृत्यु भयो । त्यस घटनापछि ओलीले जिम्मेवारी लिँदै प्रधानमन्त्री पदबाट तत्कालै राजनीमा दिने अपेक्षा गरिएको थियो । तर ओली त्यसका लागि तयार नै भएनन् । २४ भदौमा प्रदर्शनकारी उग्र भए, देशभर अनेक सरकारी र निजी संरचनामा आगजनी तथा तोडफोड र भवन तथा कार्यालयमा समेत आगजनी र तोडफोड हुन थाले । अनि मात्र ओलीले राजीनामा दिए । विश्लेषक भन्छन्— जेन–जी आन्दोलनपछि पनि पार्टीको नेतृत्व हस्तान्तरण नगर्नु ओलीको अर्को ठूलो गल्ती हो ।
जेन–जी विद्रोहपछि ओलीले भनेका थिए, ‘सरकारको आदेशमा त्यो दिन गोली चलेको होइन, सरकारले आदेश पनि दिएको होइन । संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मी चौबीसै घण्टा हतियारसहित कमब्याट पोजिसनमा उभिएका हुन्छन् । उनीहरूले सरकारको आदेश होइन, कानुनको शपथ लिएका हुन्छन् । त्यो दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन ।’
‘जेन–जी विद्रोह दबाउन र युवालाई गोली ठोक्न आदेश दिएको’ आरोप लागेका ओलीले सरकारको छानबिन आयोगलाई नै बुख्याचाको संज्ञा दिइरहे । भनिरहे, ‘२७ प्रश्न तयार गरेर यताबाट गोली आयो, फलानालाई थुन्नुपर्छ भन्न लगाइयो । यो आयोग होइन, अह्राइएको काम गर्न खडा गरिएको एक ‘आर्टिफिसियल’ अर्थात् झुक्याउने बुख्याचा मात्रै हो ।’
०००
कसैले भनेको छ— राजनीतिमा भावना वा अनुभूतिको कुनै स्थान हुँदैन । त्यो नेता नै हो, जसले जुनै बेला पनि मतदाताको भावनामा जेसुकै बोलेर पनि खेल्न सक्छ, सपना बाँड्न सक्छ । त्यो सपना उसले पूरा गरिदिन पनि सक्छ वा नगरिदिन पनि । ऊ बस् खेलिरहन्छ– जनताको सपना र भावनामा । व्यावसायिक राजनीतिमा भावनाको के अर्थ ?
देशमा राजनीति बनेको छ– इन्द्रबहादुर राईको बहुचर्चित उपन्यास ‘आज रमिता छ’ ले भनेझैं केवल एक रमिता, जहाँ केही नयाँ–पुराना वृद्ध र युवा नायकहरू छन् । र, असंख्य ‘रमिते’ अर्थात् ‘जनता’ छन् । चुनावी माहोल कस्तो रणमैदान भनेको छ भने घरदैलोमा भोट माग्न पुगेका वा चुनावी सभामा व्यस्त नेताहरू विपक्षी खेमालाई खुइल्याउँछन्, तिनको तेजोबध गर्छन् । देशैभरि चलिरहेको यस परिदृश्यको एक असली नमुना हो– ओली र बालेन्द्र शाह चुनाव लडिरहेको, सम्भवतः यो चुनावी यामको खास ‘इपिसेन्टर’– झापा–५ ।
जेन–जीहरूले नेताहरूलाई ‘बदमास’ करार गरेर सत्ताबाट लखेटेपछि अनि संसद् भवनको आगो ननिभ्दै प्रतिनिधिसभा नै विघटन गरिएको थियो । सुशीला कार्कीको अन्तरिम सरकारले गरेको सिफारिसमा घोषित प्रतिनिधिसभा निर्वाचनको याममा अन्य सयौं ‘सपना बाँड्ने’ नेताहरूकै लाममा ओली पनि जनताको घरदैलोमा छन् । उनी भनिरहेका छन्, ‘फेरि भोट दिनुस्, जितेपछि जेन–जी आन्दोलनमा सरकारी भवन र घर जलाउने सबैलाई कारबाही गर्नेछु ।’ ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिएको सम्पूर्ण एमाले पंक्ति पनि भनिरहेको छ, ‘फेरि ओली, फेरि एमाले ।’ अब के हुन्छ ? नतिजा त जनताकै हातमा छ ।
०००
०८२ को त्यही जेन–जी विद्रोहपछि ०२८ को झापा विद्रोहबाट उदाएका ओलीलाई संयोग र वियोगहरूको राजनीतिक शृंखलाको सम्झना सायद बारबार बौरिएर आउँछ । तर, उनको जीवनको शब्दकोशमा थकान भेटिँदैन । झापा–५ को आफ्नै किल्लामा आफूभन्दा ३९ वर्षे कान्छा उम्मेदवार एवं र्यापर बालेन्द्र शाहसँग चुनावी रणसंग्राममा लडिरहेका ओली सायद अहिले राजनीतिको ‘अन्तिम गौंडो’ मा छन् ।
संवत् ०२८ को झापा विद्रोहका संघर्षमय र कहालीलाग्दा ती श्यामश्वेत दिनहरू कस्ता थिए ? केपी ओली कस्ता डरलाग्दा दुर्दिनबाट गुज्रिएका थिए ?
ओली, राधाकृष्ण मैनालीहरूको नेतृत्वमा ०२८ सालमा ‘झापा आन्दोलन संगठन कमिटी’ गठन भएपछि सरकारले तीव्र दमन सुरु गर्यो । राज्यसत्तासँग भयानक असन्तुष्ट युवाको त्यो कमिटीले १० वैशाख ०२८ मा ‘वर्ग शत्रु खत्तम गर्न गुरिल्ला संघर्ष’ चलाउने निर्णय गरेको थियो । त्यो आन्दोलनले नेपालको कम्युनिस्ट इतिहासमा बेग्लै र नयाँ अध्याय लेख्यो । झापामा उब्जेको त्यस विद्रोहको ध्येय थियो– देशभक्ति, लोकतन्त्र, सामाजिक न्याय, समानता र जनजागरण ।
५४ वर्ष पुरानो त्यो झापा विद्रोहबारे नेता प्रदीप ज्ञवालीले लेखेका छन्, ‘नेपाली राजनीतिलाई नै नयाँ दिशा दिने झापा विद्रोह र र्याडिकल डेमोक्रेटिक शक्तिका रूपमा यसको विकासको अध्ययन आफैंमा महत्त्वपूर्ण विषय हो । ...झापा विद्रोहलाई उत्प्रेरित गर्ने मूलतः तीन कारण देखिन्छन्– राजाको तानाशाहीले सिर्जना गरेको उकुसमुकुस र मुक्त हुने हुटहुटी, सामन्ती शोषणविरुद्ध किसानहरूको असन्तुष्टि तथा कम्युनिस्ट आन्दोलनमा उत्पन्न शिथिलता, अकर्मण्यता र नेतृत्वको लाचारीप्रति युवा क्रान्तिकारीहरूको आक्रोश ।’ (कान्तिपुर कोसेली, इतिहासकै ठूलो घुम्ती) ।
झापा विद्रोहका क्रममा धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानीको हत्या गरिएपछि धर्मप्रसादकी श्रीमती धर्मकुमारीले प्रहरीमा जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय झापाले ५० जनाभन्दा बढीलाई खुन–डाँका र कर्तव्य ज्यानको मुद्दा चलायो । मुद्दा किनारा लगाउन तत्कालीन सरकारले सर्वोच्च अदालतका न्यायाधीश त्रिलोकप्रताप राणाको एकल इजलासमा एक सदस्यीय विशेष अदालत गठन गरेको थियो ।
आरोपित र साक्षी रोहवरको बयान, प्रहरीको रिपोर्ट र अन्य स्थलगत बरामद प्रमाणका आधारमा राणाको इजलासले ११ चैत ०३० मा फैसला सुनायो । तत्कालीन सरकारले तत्कालीन विद्रोहीलाई झापामा भएका सबै घटनामा आरोपित बनाएर मुद्दा दायर गरिएको थियो । अदालतबाट सजाय सुनाइएका ४४ जनामध्ये ओली पनि एक थिए । उनलाई १० वर्ष कैद सजाय सुनाइएको थियो ।
जेल सार्ने बहानामा पाँच जनालाई २१ फागुन ०२९ सुखानी जंगलमा गोली हानी मारियो । ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ किताबमा झापा, धुलाबारीका निरोज कट्टेलले लेखेका छन्, ‘विद्रोहीहरू प्रशासनको आँखाको तारो हुन थालेपछि केपी मोहनचन्द्र अधिकारीलाई लिन भनी झापाबाट बाहिरिए । भारतमा मजदुरी गरिरहेका मोहनचन्द्रलाई लिएर ओली फर्किए । २३ असोज ०३० मा ओलीसहित आन्दोलनका प्रमुख नेता मोहनचन्द्र पनि पक्राउ परे रौतहटमा । यी दुईलाई प्रहरीले मुद्दा चलाएर काठमाडौं पठायो ।’
रौतहटमा पक्राउ गरेपछि प्रहरीले ओलीलाई कर्तव्य ज्यान मुद्दासहित राजकाजसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसमा थप ६ वर्ष कैद सजाय भएको थियो । पक्राउपछि ओलीको चार वर्ष गोलघरमै बित्यो । रघु पन्तको सम्पादनमा प्रकाशित ‘युगदूत’ पत्रिकाका शृंखलाबद्ध जेल–संस्मरणमा ओलीले लेखेका छन्, ‘जेलमा सिधा उभिन, खुट्टा तन्काएर सुत्नसमेत पाइँदैनथ्यो, दिसा–पिसाब त्यहीं गर्नुपर्थ्यो, मुसाले फोहोर छिटेर हैरान पार्थ्यो र ओसले भिजेको लुगामा सुत्नुपर्थ्यो, चरम यातना थियो । गोलघरको छिँडीमा मुसासँग लडाइँ गर्नुपर्थ्यो । दिसा निकाल्ने ट्यांकीबाट मुसाले फोहोर छिट्थ्यो ।’
राधाकृष्ण मैनालीको किताब ‘नलेखिएको इतिहास’ मा ‘केपीका कहानी’ शीर्षकमा लेखिएको छ, ‘केन्द्रीय कारागारको गोलघरमा केपी ओली अल्सर र टीबी रोगले लामो समयदेखि थलिएका थिए । उनको शारीरिक अवस्था अत्यन्त कमजोर बनिसकेको थियो । अल्सरका कारण रगत नै बान्ता गर्थे । त्यस्तो बिरामीका लागि हामीसँग पौष्टिक आहारका नाममा उसिनेको चामल र गान्टे मुलाको झोलबाहेक केही थिएन । त्यसमाथि ओली साह्रै स्वादे मान्छे, जे पाक्छ त्यही नखाने । ... उनलाई बिरामीले उठ्नै नसक्ने हालतमा पुर्यायो... जिउमा हड्डी र करङ मात्रै देखिन थाल्यो ।’
जेल सार्ने बहानामा पाँच जनालाई २१ फागुन ०२९ सुखानी जंगलमा गोली हानी मारियो । ‘२०२८ : झापा विद्रोहको अन्तर्कथा’ किताबमा कट्टेलले लेखेका छन्, ‘कारागारमा क्षमताभन्दा ज्यादा बन्दी भएको र झापामा उनीहरूलाई राख्ने अर्को स्थान नभएको हुँदा अदालतबाट ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेकामध्ये पाँच जनालाई इलाम कारागार चलान गर्ने उल्लेख थियो । जेल सार्नुपर्ने बन्दीहरूको नामै किटेर आदेश दिइयो । ती पाँच बन्दी थिए– रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ ।’
ओलीले संस्मरणमा लेखेका छन्, ‘मेरो हत्या गर्ने प्रयास प्रहरी सब–इन्स्पेक्टर मोहनप्रसाद अधिकारीले रोकेका थिए ।... मलाई गौर थानाबाट वीरगन्ज जेल सार्ने भनी रातिको समयमा निकालियो । प्रहरीको भ्यानमा राखिएको थियो । तर, वीरगन्ज नपुर्याउँदै बीचको जंगलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ । मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए । उनीहरूका साथमा मेरो लास पुर्न खाल्डो खन्ने ज्याबल औजारहरू पनि थिए । तर, सई मोहनप्रसाद अधिकारीका कारण त्यो दिन मेरो ज्यान जोगियो ।’
राधाकृष्ण मैनालीले लेखेका छन्, ‘जेठ ०२८ देखि कात्तिक ०३० सम्म चलेको झापा विद्रोहमा सात जना सामन्त जमिनदारमाथि एक्सन भयो भने तत्कालीन शासकले हाम्रा ११ योद्धाको हत्या गर्यो । अरू नेता, कार्यकर्ता पक्राउ परे ।’
त्यो बेला झापा विद्रोहलाई अनेकन् आँखाले हेरिए पनि कम्युनिस्टहरू भन्थे, ‘यो एक विचारधाराको ज्वार थियो, जसमा राष्ट्रिय स्वाभिमान, जनताको मुक्ति र सामाजिक परिवर्तनको बीज रोपिएको थियो ।’
०००
पहिलेका चुनावमा ओली प्रायः देश–दौडाहामै हुन्थे वा सीमित समय मतदाताका घरदैलोमा । तर, अहिले चुनावको उनको ‘मेनु’ बदलिएको छ । सायद भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका रास्वपाका वरिष्ठ नेता बालेन्द्रबाट दबाब महसुस गरेरै हुनुपर्छ, ओलीले लगभग झापा–५ छाडेकै छैनन् । प्रत्येक दिन जनताका घरघर पुगिरहनु, भोट माग्नु, तिनका कुरा सुन्नु, चुनावी भेला र बैठकमा उपस्थित हुनु, आफ्ना एजेन्डामाथि छलफलमा व्यस्त रहनु उनको दैनिकी बनेको छ । पहिलेका चुनावमा भने ओली झापा–५ पुगेर सभा र भाषणमा मात्र केन्द्रित हुन्थे ।
‘काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाहको उम्मेदवारीबाट दबाब महसुस गर्नुभएको छैन ?’ भन्ने कान्तिपुरको प्रश्नमा ओलीको उत्तर छ, ‘बालेन्द्रजीले यो काम गर्नुभएको, यो इतिहास, यो योगदान, यो बलिदान भन्ने छ ? यस देशमा लोकतन्त्र ल्याउन यति गर्नुभएको छ, विकास ल्याउन यति गर्नुभएको छ भन्ने केही छ ? छ भने मैले त थाहा पाएको छैन । बरु, सुकुम्बासीका बस्तीमा डोजर चलाउनु भएको होला । खोला किनारतिर मान्छे बस्नै दिनुभएन होला । अहिले सुकुम्बासी आतंकित छन्– काठमाडौंमा डोजर चलाएर सुकुम्बासीलाई रुवाउने मान्छे आएको छ रे भनेर । कवाडीका काम गर्ने मान्छेहरू पनि आतंकित छन् । दमक त सफा नगरमध्ये पर्छ, व्यवस्थित नगरमध्ये पर्छ । यहाँ केही गर्नेभन्दा पनि सिक्न आउनुभएको हो कि ? उहाँले काठमाडौंमा केही विकास गरेको त देखिएन । अरूले बनाएका बाटा र पुल मैले बनाएको भन्ने गरेको देखिएको थियो । कहिले मारवाडीले ९० वर्षभन्दा अगाडिदेखि चलाइराखेको गौशालामा झमेला हुने र कुटाकुट हुने गरेको देखिएको थियो । यस्ता झमेलाका विषयमा म जान चाहन्नँ । तर, यहाँका जनता सचेत छन् ।’
दबाबको मुख्य बिन्दु हो– परम्परागत राजनीतिक शैलीमाथि आक्रोशित जेन–जीको विद्रोह । त्यो विद्रोहमा राज्यपक्षबाट भएको बल प्रयोगलाई लिएर ओलीलाई प्रश्न गरिएको गरियै छ, जसकारण उनको ‘ब्रान्ड’ नै धमिलो बन्दै छ । ‘तपाईंलाई के लाग्छ, बालेन्द्र किन झापा–५ आउनुभयो होला ?’ भन्ने कान्तिपुरको प्रश्नमा ओली भन्छन्, ‘उल्किने बानी रहेछ, रविको चलाखीले यहाँ लगेर फसाइदिए । पछि प्रधानमन्त्री बनाइदिने भनेको छ तर निस्किन नसक्ने गरी खाल्डोमा हाल्दिएको छ ।’
ओलीले ‘दबाब’ महसुस नगरेझैं गरे पनि राजनीतिका खेलाडीहरू भन्छन्— उनी यस पटक आफ्नो पुरानो गढ झापा–५ मा असाध्यै ठूलो दबाबमा छन् । पहिलेका चुनावमा उनी सहजै जित्थे । तर विशेष अवस्था र परिस्थितिमा हुँदै गरेको यो चुनावको कथा बदलिएको छ । यो परिस्थिति असाध्यै तनावपूर्ण पनि छ ।
फेरि भनौं, यो दबाबको मुख्य बिन्दु हो– परम्परागत राजनीतिक शैलीमाथि आक्रोशित जेन–जीको विद्रोह । त्यो विद्रोहमा राज्यपक्षबाट भएको बल प्रयोगलाई लिएर ओलीलाई प्रश्न गरिएको गरियै छ, जसकारण उनको ‘ब्रान्ड’ नै धमिलो बन्दै छ ।
अर्कातिर बालेन्द्रको चुनावी दौड र देश दौडाहा ओलीको भन्दा तेज छ । यो चुनाव बालेन्द्र अनि ओली दुवैका लागि ‘पर्सनल’ वा ‘पोलिटिकल्ली’ दुवै हिसाबले ‘करिअर’ को ‘टर्निङ प्वाइन्ट’ बन्ने निश्चित छ । घरदैलोमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै दौडिरहेका ओली र बालेन्द्रमध्ये एकलाई पर्खिरहेको छ— गौरवले वा बर्बादीले ।
ओलीलाई यस पटक झापा–५ मा किन पनि गाह्रो छ भने पहिले केही पटक उनले राप्रपासँगको तालमेलमा सजिलै चुनाव जितेका थिए । यस पटक उनी एक्ला छन् । के ओलीले यसपालि पनि राप्रपासँग गठबन्धन गरेर जितको सहज बाटो रोज्नेछन् ? त्यो सम्भावनामाथि बहस–विमर्श पनि अलि–अलि सुनिन्छ ।
ओलीका लागि यो चुनाव संसद्को एक सिट वा जितहारको मात्रै विषय हुँदै होइन, पुरानो पुस्ताको अनुभव वा विरासत अनि नयाँ पुस्ताको महत्त्वाकांक्षा वा आकांक्षा वा चाहनाबीच टकराव हो । त्यसैले झापा–५ सम्पूर्ण नेपालकै राजनीतिको ‘सेन्टर’ बनेको छ, जहाँ हेर्नै बाँकी छ– ओलीको बलियो आधार वा अभेद्य किल्ला ढल्छ कि झन् बलियोसँग उभिन्छ ?
ओली उनै हुन्, जसले एमालेमा ७० वर्षे उमेर हदको प्रस्ताव ल्याए, त्यसलाई अनुमोदन गराए, फेरि हटाए– विधान महाधिवेशनबाट । पदाधिकारी दुई कार्यकाल मात्र हुन पाउने व्यवस्था पनि उनैले ल्याए, हटाए । अनि गत मंसिरको एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष भए । राजनीतिक छवि र करिअरमाथि विमर्श गर्नुअघि भर्खरैको महाधिवेशनबाट छानिएका ‘नयाँ’ अध्यक्ष ओलीको राजनीतिक ग्राफ चियाइहेरौं ।
०००
ओलीको ७४ वर्षे जीवन यात्रामा छ– संघर्ष र सफलता । ओलीले व्यक्तिगत त्यागको विशिष्ट भावनाबाटै राष्ट्रिय नेतृत्वसम्मको राजनीतिक यात्रा अघि बढाएका हुन् । ओली किशोरावस्थामै राजनीतिक आन्दोलनको आकर्षणमा परेका थिए । सायद सामाजिक न्याय, समानता, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई उनले निजी सपना बनाए । झापा आन्दोलनदेखि पञ्चायतविरोधी भूमिगत संघर्षसम्म उनको राजनीतिक जीवनको असाध्यै कठिनतम् मोड थियो– १४ वर्षे लामो कठोर जेल जीवन, यातना, एकान्तिकता र काराबास ! जेल डायरीमा ओलीले भनेका छन्, ‘मैले पटक–पटक मृत्यु सामना गरें ।’ यस अवधिमा उनले देश र व्यवस्था परिवर्तनको सपनामै आफूलाई केन्द्रित गरे ।
०४६/४७ को जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनर्बहालीसँगै ओलीको जीवनको दोस्रो अध्याय सुरु हुन्छ । त्यो चरणमा उनी होमिएका हुन्– लोकतान्त्रिक प्रणालीको संस्थागत विकास, संविधान निर्माण, राष्ट्रिय स्वाधीनता र भूराजनीतिक सन्तुलनमा । मन्त्री, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्री बने । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लगाए । भारतीय नाकाबन्दीविरुद्ध जुधे ।
अहिले ओली एक निर्णायक मोडमा उभिएका छन् । उनीसँग छ– पुरानो अनुभव, दृढता र राष्ट्रवादी अडान अनि छवि । एमाले पंक्ति भन्छ– विगतका संघर्षलाई उनले समृद्धिको जग बनाउन खोजेका छन् । नयाँ पुस्ताको आक्रामक परिवर्तनको आकांक्षा, युवा असन्तुष्टि र राजनीतिक अस्थिरताबीच उनी च्यापिएका छन् ।
प्रशंसक भन्छन्, ओली ‘विलक्षण’ हुन् । राजनीतिक विश्लेषक नीलाम्बर आचार्यले लेखेका छन्, ‘केपीजीको भाषामा कमान्ड, विषयवस्तुमा कमान्ड, प्रस्तुतिमा तार्किकता र आफूमा विश्वास प्रस्टैसँग झल्किन्थ्यो । विश्वसमक्ष निर्धक्क प्रस्तुत गर्न सकिने प्रधानमन्त्रीका रूपमा देखें उहाँलाई मैले । विश्वविद्यालय शिक्षा नपाएका प्रधानमन्त्रीलाई विश्वविद्यालयमा शिक्षा दिन योग्य देखें । उहाँको अध्ययनशीलता र स्मरण शक्ति पनि विलक्षण छ । त्यस्तै खट्न सक्ने र अड्न सक्ने क्षमता पनि लोभलाग्दो छ । ओलीजीका यी विशेषताबारे युवा राजनीतिकर्मीहरूबीच बढी चर्चा हुनुपर्ने हो ।’ (केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प) ।
तर के ओलीले पुरानो पुस्ताको अनुभवलाई नयाँ पुस्ताको ऊर्जासँग जोड्न सक्छन् ? ‘यो प्रश्नले नै नेपाली राजनीतिको भविष्य कोर्नेछ’ भन्छ उनको पार्टी ।
०००
कार्यकर्ताका लागि ओली ‘बा’ हुन् । ओलीलाई त राष्ट्रिय ‘केपी बा’ हुने रहर थियो । तर जेन–जी विद्रोहपछि त्यस यात्रामा लगभग विराम लागेको छ । ओलीको हरेक अभिव्यक्ति र रणनीतिमाथि समाजमा लामो समयदेखि बहस–विमर्श चलिरहेकै छ । त्यसैले कहिले उनी आक्रामक देखिन्छन्, कहिले आलोचक, कहिले सहज । ओली असाध्यै वाक्पटु छन्, विपक्षीलाई भित्तामै पुर्याइदिन सक्छन् । जस्तो– उनले माओवादीलाई इंगित गर्दै भनेका थिए– ‘काठमाडौंमा रिसाएको बिरालो रोल्पा पुगेर खाँबो चिथोर्छ’, ‘गुलेली बोकेर बाघको सिकार गर्न सकिँदैन’ । अर्को कुनै सन्दर्भमा उनी भन्छन्, ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन ।’ नजिकका नेता/कार्यकर्ता भन्छन्, ‘ओली असाध्यै किताब पढ्छन् । ज्ञानको गहिराइ र विवेचनाको तीक्ष्णता उहाँमा अति छ ।’
कम्युनिस्ट नेता ओली बेलाबेला साह्रै भाग्यवादी सुनिन्छन् । उनी धर्म, विश्वास, मंगल, अमंगल, लच्छिन, अलच्छिनका विषयमा अभिव्यक्ति दिइरहन्छन् । ज्योतिषशास्त्रको पक्षमा आफ्नो विचार व्यक्त गरिरहन्छन् । जस्तो– वैशाख ०७९ मा बुटवलमा आयोजित एमालेको चुनावी सभामा भनेका थिए, ‘एमाले सरकारमा गएपछि पैसा छैन कहिल्यै भनेन । बाटो चौडा गर्न पैसा छैन भनेन । मेडिकल कलेजका लागि पैसा छैन भनेन । सभागृहका लागि पैसा छैन भनेन । नदी नियन्त्रणका लागि पैसा छैन भनेन । देशभरि नै कहीं पनि विकास निर्माणका काममा पैसा छैन भनेन । तर यो गठबन्धन आयो, पैसा छैन । कस्तो अलच्छिन पस्यो देशमा ? अबको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर, जरासमेत टक्टक्याएर फ्याँकिदिनेछ । फ्याँक्ने कामको सुरुवात कमसेकम यो वैशाख ३० को निर्वाचनले गर्नुपर्छ ।’
कार्यकर्ताका लागि ओली ‘बा’ हुन् । ओलीलाई त राष्ट्रिय ‘केपी बा’ हुने रहर थियो । तर जेन–जी विद्रोहपछि त्यस यात्रामा लगभग विराम लागेको छ । ओलीको हरेक अभिव्यक्ति र रणनीतिमाथि समाजमा लामो समयदेखि बहस–विमर्श चलिरहेकै छ । त्यसैले कहिले उनी आक्रामक देखिन्छन्, कहिले आलोचक, कहिले सहज ।
प्रतिबन्धित पार्टीको साधारण कार्यकर्ताबाट सुरु भएको ओलीको राजनीतिक यात्राले अनेक गल्छेडा पार गरेको छ । उनका आलोचकको कुरा अर्कै हुन्छ नै, तर प्रशंसक भन्छन्– ‘विकास, समृद्धि र राष्ट्रिय स्वाभिमान ओलीकै नेतृत्वमा सम्भव हुनेछ ।’
पटक–पटक मृत्युसँग ठोक्किएका ओलीले १४ वर्षको कठोर जेल जीवन मात्र होइन, स्वास्थ्यको जटिल चुनौती पनि पार गरेका हुन् । मंसिर ०७८ मा चितवनमा भएको दसौं महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि पार्टी अध्यक्ष निर्वाचित भएका थिए । महाधिवेशनमा चुनाव हुनुअघि उनले भनेका थिए, ‘म धेरैपल्ट जीर्ण स्वास्थ्य अवस्थाबाट, धेरै जटिल अपरेसनहरूबाट गुज्रिएर आएको हुँ । भन्न सक्दिनँ, म कति बाँच्छु । तर, मलाई आज सन्तोष लागेको छ, किनभने म तपाईंहरूलाई आफ्नो अगाडि देखिरहेको छु । जब म तपाईंहरूका हिम्मती चेहराहरू देख्छु– म देशको भविष्य सुरक्षित देख्छु, आन्दोलनको भविष्य सुरक्षित देख्छु, पार्टीको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु । र, सर्वोपरि कुरा त समृद्धिको यात्रा सुरक्षित र सुनिश्चित रूपमा अगाडि बढ्छ भन्ने कुराको यकिन देख्छु ।’
ओलीको जीवन एक पाठशाला हो– संघर्ष र हठको । भूमिगत संघर्षले उनी राजनीतिमा खारिएका हुन् । विकास र समृद्धिमा उनले बहस नगरेका होइनन् । तर त्यसले कति मूर्त रूप पायो, त्यो अध्ययनकै विषय होला । उनको विकास र समृद्धिको नारा व्यवहारतः पालना गरिएको भए उनी सत्ताबाट किनारामा धकेलिने थिएनन् । कुनै बेला ‘आई लभ यु केपी बा’ भन्नेले नै जेन–जी विद्रोहमा उनीविरुद्ध नारा लगाउने थिएनन् ।
विकासका काम अलपत्र परेपछि, सत्ता, स्रोत र शक्तिको भागबन्डामै सरकार केन्द्रित भएपछि, जनतामाथिको प्राथमिकता बदलिएपछि नै ओलीविरुद्ध नारा नै लाग्न थालेको हो । तर उनी भन्दै छन्— लोकतन्त्र सत्ताको खेल मात्रै होइन, जनताको सर्वोच्चता र राष्ट्रको उज्ज्वल भविष्यको निरन्तर यात्रा हो । र, उनका कार्यकर्ता पनि भनिरहेकै छन्– केपी ओली त्यो यात्राका नेता हुन् ।
०००
ओलीको जीवन किसान परिवारदेखि राष्ट्रिय नेतृत्वसम्मको यात्राको कथा पनि हो । तेह्रथुम आठराई इवा गाउँको एक किसान परिवारमा ११ फागुन २००८ मा जन्मिएका ओलीले बालापनमै आमा मधुमाया गुमाए । हजुरआमाको रेखदेखमा उनको बाल्यकाल बित्यो ।
आफ्नो बालापनको स्मृतिमा उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो परिवारमा त्यस बेला छोरीहरू थिएनन् । हजुरआमा मात्र रहनुभयो । हजुरआमाले बढारेको देखेपछि मलाई पनि बढार्नुपर्छ भन्ने लाग्यो, मैले त्यही सिकें । उहाँले घर पोतेको देखेपछि घर पोत्नुपर्छ भन्ने लाग्यो र घर पोत्ने/लिप्ने काम पनि गरें । भाँडा माझेको देखेपछि भाँडा माझ्ने गर्दै मैले हजुरआमाले गर्ने घरायसी काम सबैजसो गरें । व्रतबन्ध भएपछि मैले खाना पकाउन पनि सिकें । खाना पकाउने, भाँडा माझ्नेदेखि लिएर तरकारी काट्ने, मसला पिस्ने, बत्ती बाल्ने धागो कात्ने, गाईबस्तु चराउने, अलि पछि भकारो सोहोर्ने, कुँडो पानी खुवाउने, सबै काम म गर्थें । मलाई पढ्न र घरका कामहरू गर्न आनन्द लाग्थ्यो ।’
२०२० मा तेह्रथुम छाडेर ओलीको परिवार झापा झर्यो । पछि बुबा मोहनप्रसादले एक विद्यालयको जग्गा ठेक्का लिएर खेती थाले । सुरुमा राम्रै थियो कमाइ, तर खेत खोलाले बगाएपछि परिवार झन्डै सुकुम्बासी बन्यो ।
ती दिनहरूको सम्झनामा ओलीले भनेका छन्, ‘म पढ्न स्कुल पनि गइरहेको थिएँ र काम पनि गरिरहेको थिएँ । म भारी बोक्नेबाहेक सबै काम गर्थें, मैले नसक्ने भनेको भारी बोक्ने काम मात्रै हो । खोलाले जमिन बगाएपछि हामीले अलिअलि जग्गा किन्न सुरु गर्यौं । स्कुलको जमिन ठेक्कामा कमाउँदा हाम्रो आर्थिक अवस्था धेरै सुदृढ थियो । त्यसबेला हामी धनी किसानको स्थितिमा थियौं । त्यसपछि हामी गरिब किसानको स्थितिमा र एक पटक सुकुम्बासीको स्थितिमा झर्नुपर्यो ।’
१५ वर्षकै उमेरमा (२०२३) मा ओली रामनाथ दाहालको नेतृत्वको ‘मार्क्सवादी अध्ययन दल’ मा सामेल भए । दाहाललाई पछि झापा विद्रोहमा पञ्चायती सरकारले ‘जेल सार्ने’ बहानामा सुखानी जंगलमा लगेर गोली हानी हत्या गर्यो । अध्ययन दलमा लागेको दुई वर्षमै ओली पूर्णकालीन राजनीतिमा होमिए । एक वर्षपछि माघ २०२६ मा ‘नेपाल कम्युनिस्ट पार्टी’ को सदस्यता पाए । त्यही वर्ष उनी पहिलो पटक गिरफ्तारीमा परे । त्यसपछिका चार वर्षमा उनी १० पटक जेल परे ।
ओली परिवारको आर्थिक संकट र राजनीतिक सक्रियताबीचको द्वन्द्वमा च्यापिएका थिए । निरंकुश पञ्चायती व्यवस्थामा उनी बोल्न र संगठन बनाउन थाले । त्यसपछि इतिहासमा झापा विद्रोह भयो र उनी जेल परे ।
२०५२ मा बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि नेपालगन्जबाट फर्किंदा तत्कालीन प्रधानमन्त्री अधिकारीसहित ओली पनि हेलिकोप्टर दुर्घटनामा परे र संयोगले जोगिए ।जेल पर्नुअघि नै तत्कालीन पार्टीबाट निष्कासित भएका ओलीले जेलभित्रै रहँदा ११ पुस २०३५ मा नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापक सदस्यको भूमिका निभाए । ११ असार २०४४ मा जेलबाट रिहा भए र त्यही वर्ष २ पुसमा नेकपा (माले) केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्य र लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी दियो । २०४६ को जनआन्दोलनले पञ्चायत ढालेपछि १ जेठ २०४७ मा उनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बने । त्यसै वर्ष २२ पुसमा नेकपा (माले) र नेकपा (मार्क्सवादी) को एकीकरण भई नेकपा (एमाले) बनेपछि उनी केन्द्रीय सदस्य चुनिए ।
ओली २०४८ को आमनिर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए । तीन वर्षपछि मध्यावधि निर्वाचनमा पुनः विजयी भए । यसबीच पार्टीको पोलिटब्युरो सदस्य भए, विदेश विभाग, प्रचार विभाग र संसदीय विभागको नेतृत्व गरे ।
२०५१ मा उनी पहिलो पटक गृहमन्त्री बने । ओली बेला–बेला दाबी गरिरहन्छन्– मनमोहन अधिकारीको नेतृत्वमा बनेको नेपालको पहिलो जननिर्वाचित कम्युनिस्ट सरकारमा मैले गृहमन्त्रीका रूपमा नयाँ मानक स्थापित गरें— सुरक्षा, प्रशासन र जनताको विश्वास जितें । त्यो समय एक पटक पनि गोली चलेन ।’
२०५२ मा बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि नेपालगन्जबाट फर्किंदा तत्कालीन प्रधानमन्त्री अधिकारीसहित ओली पनि हेलिकोप्टर दुर्घटनामा परे र संयोगले जोगिए ।
माघ २०५४ मा एमालेको छैटौं महाधिवेशनमा ओलीले प्रस्तुत गरेको ‘शक्ति सञ्चय’ कार्यनीति बहुमतले पारित भयो । महाधिवेशनले उनलाई स्थायी कमिटी सदस्य र विदेश विभाग प्रमुखको जिम्मेवारी दियो । २०५९ मा जनकपुरको सातौं महाधिवेशनमा ‘पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउन’ बहुपदीय प्रणालीको प्रस्ताव राखे उनले । महाधिवेशनले यसलाई अर्को महाधिवेशनसम्मका लागि स्थगित गरे पनि २०६५ को बुटवलको आठौं महाधिवेशनले पारित गर्यो । तर, ओली अध्यक्ष पदमा झलनाथ खनालसँग पराजित भए ।
२०५६ मा झापा–६ बाट पुनः प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनी संसदीय दलको उपनेता बने । २०६२/६३ को जनआन्दोलनपछि उनी उपप्रधान तथा परराष्ट्रमन्त्री बने । २०६४ संविधानसभा निर्वाचनमा झापा–७ मा पराजित भए । मंसिर २०७० को अर्को निर्वाचनमा झापा–७ बाट संविधानसभा सदस्य बनेपछि संसदीय दलको नेता भए ।
साउन २०७१ को नवौं एमाले महाधिवेशनमा पूर्वमहासचिव माधवकुमार नेपाललाई हराएर ओली पार्टी अध्यक्ष बने । त्यसबेला उनले भनेका थिए, ‘हामीले नवौं महाधिवेशनयता पार्टीलाई स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढायौं । के हो एमाले ? के हो यसको नीति ? कता जाने हो ? यसको रंग के हो ? कतिले यसको लिंगबारे प्रश्न उठाए, अनेक प्रकारका दुर्वाच्य बोले । वास्तवमा परिस्थिति पनि वैचारिक हिसाबमै अन्योलग्रस्त थियो । त्यस स्थितिबाट हामीले पार्टीलाई अरू एक्लैले हामीसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुर्याएका छौं ।’
भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएकै बेला २५ असोज २०७२ मा ओली प्रधानमन्त्री बनेका थिए । नाकाबन्दीका बेला भारतविरुद्ध राखेको दृढ अडानका कारण उनी लोकप्रिय भए । ओलीका समर्थक भन्छन्, ‘ओलीले बाह्य दबाबमा राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गरे ।’ ओलीको परराष्ट्र नीति थियो, ‘सबैसँग मित्रता, कसैसँग पनि शत्रुता छैन । हामी समानता, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्छौं ।’
साउन ०७३ मा तत्कालीन माओवादी केन्द्रले अविश्वास प्रस्ताव राखेपछि ओलीले राजीनामा दिए । तर, २०७४ को निर्वाचनपछि उनी फेरि प्रधानमन्त्री बने । ओलीले त्यसबेला अनेकन योजना ल्याए, अनेकन सपना देखाए— चीन र भारत जोड्ने उत्तर–दक्षिण रेलमार्ग, पूर्व–पश्चिम रेलमार्ग, सुरुङमार्ग, राजमार्गहरूको विस्तार, मध्यपहाडी लोकमार्ग निर्माण, सुनकोशी–मरिन डाइभर्सनलगायतका सिँचाइ आयोजना र फलाम खानीको निर्माण थालनी ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको भू–भाग समेटेर तयार गरिएको नेपालको ‘चुच्चे नक्सा’ ७ जेठ २०७७ मा जारी गरियो । संसद्ले ३१ जेठ २०७७ मा संविधान संशोधन गरी निसान छाप पनि अद्यावधिक गर्यो । राष्ट्रिय नक्सा र सीमा अखण्डताको यो साहसिक कदम उनको राजनीतिक जीवनको सम्झिइने काम बन्यो । ओलीले यसबाट भव्य ‘राष्ट्रवादी छवि’ निर्माण गरे । र, सडकमा ‘आई लभ यू केपी बा’ को नारासमेत लाग्यो ।
नेपालले चुच्चे नक्सा सार्वजनिक गरेपछि भारतको राजनीतिमा तरंग निम्तियो । नक्सा सार्वजनिक भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका थिए, ‘यो बनावटी विस्तारको दाबी कुनै ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो कदम सीमा विवाद वार्ताका माध्यमबाट टुंग्याउने हाम्रो बुझाइको उल्लंघन हो ।’
नक्सा सार्वजनिक भएको लगभग आधा दशकपछि २०८२ मा नेपाल सरकारले जारी गरेको १०० रुपैयाँको नयाँ नोटमा राखिएको चुच्चे नक्सामाथि पनि भारतले विरोध जनाएको थियो । वैशाख २०७६ मा चीनसँगको व्यापार तथा पारवहनसम्बन्धी प्रोटोकल कार्यान्वयनबारे सम्झौता भयो, यो ओलीको राजनीतिक ‘करिअर’ को अर्को मोड हो । नेपालको विदेश व्यापारमा भारततर्फ सीमित निर्भरता तोड्ने अर्को कदम थियो त्यो । त्यस सम्झौताबाट नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्ने अवसर पायो, नेपालका थप नाका खोल्ने बाटो खुला भयो ।
एमाले र तत्कालीन माओवादीबीच ३ जेठ २०७५ मा एकीकरण भएको थियो तर एकता तीन वर्ष पनि टिकेन । विभाजनपछि पुष्पकमल दाहाललाई संकेत गर्दै ओलीले भनेका थिए, ‘हामीले पार्टी एकीकरण नगर्ने हो भने तत्काल सरकार ढाल्ने र फेरि देश अन्धकारतर्फ जाने स्थिति थियो । हामीले हाम्रा नीतिहरूको कार्यान्वयन गरेर सबल नीतिहरूको सहीपना प्रमाणित गर्न पनि नपाउने र देश विकासको हाम्रो क्षमता पनि हामीले प्रकट गर्न नपाउने स्थिति बन्थ्यो । त्यस स्थितिबाट जोगिएर देशलाई अगाडि बढाउन हामीले पार्टी एकीकरण गर्नु, एकता गर्नु, कम्युनिस्ट आन्दोलनलाई एकजुट बनाउनु र अगाडि बढ्नु आवश्यक थियो । हामीले त्यसै गर्यौं, तर...।’
कम्युनिस्ट पार्टीमा जुट्नु दुर्लभ भए पनि फुटको इतिहास पुरानै हो । जस्तो– २००६ मा कोलकाताको श्यामबजारमा जन्मिएको ‘नेपाल कम्युनिस्ट पार्टी’ मा दुई वर्षभित्रै आन्तरिक द्वन्द्व फैलिएको थियो । भिन्न वर्ग, जाति र अनुभव भएका नेता एकै छातामुनि गोलबद्ध त थिए, तर ती हिँड्न खोजेको राजमार्ग फरक थियो । प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाजसँग मिलेर ‘नेपाल प्रजातन्त्र संघ’ खोल्ने पुष्पलाल श्रेष्ठको विचार मनमोहन अधिकारीसँग मेल खाएन । मोहनविक्रम सिंह, मोहन वैद्यदेखि पुष्पकमल दाहाल र केपी शर्मा ओलीको फुटसम्मका अनेक कथा छन् ।
पार्टीमा दरार आएकै बेला वैशाख २०७८ मा ओली तेस्रो पटक प्रधानमन्त्री बने तर सर्वोच्च अदालतको फैसलापछि असारमा पदमुक्त भए । मंसिर २०७८ मा चितवनको दसौं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भए । र, २०८१ असार ३० मा चौथो पटक प्रधानमन्त्री बने । ओलीले बारबार दोहोर्याएका छन्, ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेका छौं । यो हाम्रो राष्ट्रिय आकांक्षा हो ।’
भूकम्पपछिको पुनर्निर्माणमा पनि ओलीलाई सदा याद गर्नुपर्नेछ । जस्तो– धरहरा, रानीपोखरी, वसन्तपुर दरबार क्षेत्र जस्ता ऐतिहासिक सम्पदाको पुनर्निर्माण । अमलेखगन्ज–भारत पेट्रोलियम पाइपलाइन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा (गौतम बुद्ध) विमानस्थल निर्माण, सडक सञ्जालको विस्तार र ठूला आयोजनाहरूमा विदेशी लगानी भित्र्याउने प्रयास उनको कार्यकाल सम्झिइनुपर्ने केही कारण हुन् । तर ती योजनाका सफलता/असफलतामाथि विमर्श भइरहनुपर्छ ।
०००
जेन–जी विद्रोहपछि एमालेको मंसिर अन्तिम साता (२७–२९) सम्पन्न एघारौं महाधिवेशनबाट ओली तेस्रो पटक नेतृत्वमा स्थापित भए, एमालेभित्रैको अर्को समूह (ईश्वर पोखरेल नेतृत्वको) ले नचाहँदा नचाहँदै पनि ।
जेन–जी विद्रोहपछि पनि ‘पुराना नेता फेर्ने’ खास बुँदालाई ख्याल नगरी एमालेको ठूलो पंक्तिले भनिरह्यो— देशलाई संकटबाट पार लगाउने एकै मात्रै नेता ओली हुन् । र, ओलीका कार्यकर्तालाई लागिरह्यो— ओलीकै सक्रियताले पार्टीले फेरि लय समात्नेछ ।
विश्लेषक गौतम भन्छन्, ‘उमेरहद र सामूहिक नेतृत्वको कुरा गर्ने ओली अहिले आफू शक्तिमा कसरी रहने भन्ने ध्याउन्नमा छन् र त्यही अनुकूल गतिविधि गर्छन् । ओलीको यही व्यक्ति र आत्मकेन्द्रित चरित्र एमालेलाई महँगो परेको छ ।’ओलीको ‘अहंकारी र आत्मकेन्द्रित’ शैलीका कारण उनको राजनीतिक साख लगभग माटोमै मिल्यो र सँगै एमाले राजनीतिक रूपमा चरम रक्षात्मक अवस्थामा धकेलियो भन्नेहरू प्रशस्तै छन् । एक दशकदेखि ओली नै छन्– एमालेको मुख्य नेतृत्वमा । यसबीच पार्टीका तर्फबाट सरकारको नेतृत्व पनि उनैले गरे । त्यस हिसाबले सरकारमा गएर गर्न नसकेको कमजोर ‘पर्फमेन्स’ को दोषी पनि उनै हुन् । बलियो संगठन र सञ्जाल भएको एमालेलाई राजनीतिक अनि सामाजिक मनोविज्ञानमा कमजोर पार्टीका रूपमा ‘डिमोसन’ गराउने पात्र पनि ओली नै हुन् ।
राजनीतिक विश्लेषक राजाराम गौतमलाई लाग्छ, ओलीकै कारण यो पार्टीभित्र दोस्रो वा तेस्रो पुस्ताका नेताहरू नेतृत्वमा आउन सक्ने अवस्था रहेन । ‘हुन त दोस्रो, तेस्रो पुस्ताले जोखिम नउठाएर अवसरवादी चरित्र देखाए । यद्यपि, नेतृत्व हुर्काउने कुरामा पनि ओली असफल भए । गुट र व्यक्ति–पूजा गर्ने समूह हुर्काए, नेतृत्व हुर्काउन सकेनन्,’ गौतम भन्छन्, ‘राजनीतिक रूपमा एमालेको खास बाटो मदन भण्डारीले कोरिदिएका थिए । मदनको जनताको बहुदलीय जनवादको आड र आवरणमा राजनीतिक उचाइमा पुगे पनि वैचारिक राजनीतिक हिसाबले त्यसको रक्षा गर्न सकेनन् । राजनीतिक रूपमा ओलीले पार्टीको, सरकारको नेतृत्वमा पुगेर जे जस्तो अवसर पाए, त्यसको सदुपयोग गर्न नसक्दा उनको पाँच दशक लामो राजनीतिक करिअर उत्तरार्द्धमा आइपुग्दा विवाद र प्रश्नहरूको घेराबन्दीमा छ ।’
नेपालका प्रायःजसो राजनीतिक दलमा विचार समूह छन् । कम्युनिस्टमा त झन् वैचारिक मतभिन्नता हुनासाथै वैचारिक गुट जन्मिन्छन् । एउटै पार्टीभत्र वैचारिक मतभेद भए पनि दुई लाइन संघर्ष भनेर यी पार्टीहरूमा विचार समूहबीचको अन्तर्विरोध चल्थ्यो । तर, एमालेमा वैचारिकभन्दा बढी व्यक्तिकेन्द्रित गुटहरू हाबी भएको राजनीतिक विश्लेषकहरूको मत छ ।
विश्लेषक गौतम भन्छन्, ‘उमेरहद र सामूहिक नेतृत्वको कुरा गर्ने ओली अहिले आफू शक्तिमा कसरी रहने भन्ने ध्याउन्नमा छन् र त्यही अनुकूल गतिविधि गर्छन् । ओलीको यही व्यक्ति र आत्मकेन्द्रित चरित्र एमालेलाई महँगो परेको छ ।’
ओली राजनीतिक वृत्तमा असाध्यै दह्रो अडान राख्न सक्ने र आफ्ना तर्क निर्भीकसँग पेस गर्ने नेता हुन् । जस्तो– कुनै बेला माओवादीको उदय हुँदा एमालेको सञ्जाल खुम्चिएर पिँधमै पुगेको थियो । पहिलो संविधानसभा चुनावपछि राजनीतिक रूपमा एमाले असाध्यै निरीह थियो । ती दिनमा माओवादीसँग लगातार भिड्ने/लड्ने एक निर्भीक राजनीतिक पात्र ओली नै थिए । ओली माओवादीको हिंसात्मक राजनीतिको प्रखर आलोचक भए । उनको आलोचक छविले कतिपय बेला राजनीतिक द्वन्द्व पनि बढायो । संविधान निर्माण र शान्ति प्रक्रियामा जटिलता पनि थप्यो ।
ओलीको त्यही आलोचक छविले नै एमालेलाई सांगठनिक रूपमा ब्युँताउने काम गरेको बुझाइ छ– राजाराम गौतमको । ‘ओलीको एन्टी–माओवादी मुभले एमाले ब्युँझायो,’ उनी भन्छन् । पछि ओलीले त्यही माओवादीसँग एकीकरण गरेर पार्टी बनाए । संविधान निर्माणमा भूमिका खेले, भारतीय नाकाबन्दीविरुद्ध डटे । यी विषयले उनको राजनीतिक व्यक्तित्व सकारात्मक बनेको थियो, उनी लोकप्रिय बन्दै थिए । ‘तर, सत्ता र शक्तिको असीमिति भोक, समकक्षीहरूलाई गन्नै नगन्ने, एकोहोरो अहमवादी शैलीले कम्युनिस्टहरू विभाजन भए । सुशासनको मुद्दा सम्बोधन गर्न सकेनन्, बरु भ्रष्टाचारका अनेक काण्डमा मुछिए,’ गौतम भन्छन् ।
र, अहिले तमाम मान्छेका आँखामा जेन–जी आन्दोलन दबाउने ‘खलनायक’ बनेका छन् ओली । ओलीको यो भूमिकाले सिंगो एमाले पंक्ति नै जनस्तरमा रक्षात्मक बनेको छ ।
०००
सम्भवतः व्यापक प्रशंसा र व्यापक आलोचना खेप्ने एक मात्रै नेताको नाम हो– केपी शर्मा ओली । प्रशंसकका आँखामा उनी ‘बा’ हुन् र आलोचकका आँखामा आफ्नै पार्टी कमजोर बनाउने र पार्टीको आन्तरिक लोकतन्त्र कमजोर ध्वस्त बनाउने एक पात्र । आलोचकहरू ओलीलाई भन्छन्, ‘इगोइस्ट, अहंकारी, आत्मकेन्द्रित ।’
राजनीतिक विश्लेषक झलक सुवेदीका आँखामा ओली हुन्– एक अथक् र सक्रिय राजनीतिकर्मी । ‘केपी ओलीको २०२८ र २०८२ को योग एक संयोग होला । ओलीको हकमा २०२८ लाई राजनीतिक उदय र २०८२ लाई ओरालो–यात्राको संयोग मान्न सकिएला । २०२८ मा उनले नेपालमा लामो समयदेखि स्थापित राज्यसत्तामाथि प्रश्न उठाएर आममान्छेको मुक्तिको आवाज बोलेका थिए, जसले उनलाई उदयको आधार दियो । झापा आन्दोलनबाट विकास भएको तत्कालीन माले र पछि एमालेको हजारौं मान्छेको ठूलो योगदानबाट ओलीको व्यक्तित्व विकास भयो । उनको आफ्नै चिन्तन–मनन र अध्ययन गर्ने शैलीले पनि उनलाई अन्य नेताहरूमध्ये माथि जान सहयोग गर्यो,’ सुवेदी भन्छन्, ‘जुन माओवादबाट प्रभावित भएर उनले हतियार उठाएका थिए २०२८ मा, त्यही माओवाद र माओवादी आन्दोलनमाथि प्रश्न उठाएर उनले लोकप्रियता हासिल गरे । भारतलाई प्रश्न गरे, सम्झौता गरे । फेरि प्रश्न गरे अनि फेरि सम्झौता गरे । यो उतारचढाव उनको जीवनमा देखिन्छ ।’
आफ्नै पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप उनलाई लाग्छ । सुवेदी भन्छन्, ‘आफ्नो शक्ति संरक्षणमा सबैलाई परिचालन गर्नुपर्ने र अरूलाई सम्हालेर नेता हुनुपर्ने थियो ।’
के फेरि राजनीतिमा ओलीको पुनरागमन सम्भव छ ? त्यो सम्भावना सुवेदी देख्दैनन् । भन्छन्, ‘अब उनको फेरि उदय हुन उनले आफ्नो पर्सनालिटीमा एन्टी–कम्युनिस्ट, एन्टी–डेमोक्र्याटिक अडान जहाँ–जहाँ राखेका थिए, त्यहाँबाट पछाडि फर्किनुपर्छ, जुन म सम्भव देख्दै देख्दिनँ । राजनीतिमा उनको उदय हुने सम्भावना अब कमसेकम छैन, उनको सम्मानजनक बहिर्गमन मात्रै सम्भव छ ।’
अब जेन–जी विद्रोहपछिको विशेष परिस्थितिमा हुँदै गरेको चुनावी–पृष्ठभूमिमा एमालेले कस्तो नतिजा ल्याउला ? अहिलेको अहम् प्रश्न हो यो । निर्वाचनमा कसले जित्छ वा हार्छ ? त्यस्तो वैज्ञानिक र निष्पक्ष सर्वेक्षण भएको छैन । तर, सन्दर्भहरू, ओलीको रक्षात्मक अवस्था, चिया पसलदेखि डिजिटल स्पेससम्मको अभिमतले भन्छ– एमालेका लागि यो चुनाव फलामको च्युरा सावित हुनेछ ।
धेरैले ‘ओलीले अब राजनीतिक अवकाश लिनुपर्छ’ भनिरहेको यो बेला उनका लागि यो कस्तो परीक्षण हो ?अब जनताको कठघरामा ओलीको परीक्षण हुनेछ । त्यस सन्दर्भमा उनले आफ्नो पार्टी पंक्तिलाई आफ्नो गुटको बलमा एकोहोर्याएर विधान संशोधन गरेरै नेतृत्वमा फेरि स्थापित गरेका छन् । नेतृत्वमा दोहोरिने उनको आकांक्षाको अनुमोदन आम जनस्तरबाट हुन्छ कि हुँदैन ? यो चुनावले नै तय गर्नेछ ।
राजाराम गौतमलाई लाग्छ— कदाचित ओलीले जिते भने केन्द्रीकृत नेतृत्वले पनि जनताको मन जित्दो रहेछ भनेर सन्देश जाला, होइन भने उनले पार्टीको आन्तरिक लोकतन्त्रमा जुन खेलबाड गरेका छन्, त्यसको तत्काल पूर्ति गर्न नसक्ने भरपाई एमालेले तिर्नेछ ।
जसरी एमालेका तत्कालीन महासचिव मदन भण्डारी थिए पार्टीका एक मियो, उसैगरी अहिले भण्डारीका विरासत बनेका छन्– ओली । भण्डारी भन्थे, ‘बलियो मियोमा धेरै गोरु घुम्छन् । त्यसैले पहिले मियो मजबुत बनाउनुपर्छ, अनि अरूलाई जोड्दै लग्नुपर्छ ।’ त्यही बचनकै कारण सायद एमालेको देशव्यापी सांगठनिक सञ्जाल थियो– गाउँ–गाउँमा, टोल–टोलमा ।
ओलीकै नेतृत्वमा पार्टीले चुनौतीहरू पार गर्दै नयाँ उचाइ छोएको थियो, अघिल्ला निर्वाचनमा । २०२८ र २०८२ को संयोगले ओलीको अबको राजनीतिक यात्राले रुमल्लिएको र उबडखाबड बाटोमाथि संकेत गर्छ ।
०००
लोकतन्त्रको चरमोत्कर्ष हो– फरक मत । तर, भनिन्छ– ओलीले पार्टीभित्रको लोकतन्त्र र फरक मत ध्वस्तै पारे । र, बागी प्रश्नलाई पार्टीमा टिक्नै दिएनन् । जस्तो– एमाले पार्टीभित्र पारदर्शिता र जवाफदेहिताको आवाज उठाउँदा अनि प्रश्न गर्दा ओलीले तत्कालीन स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई निलम्बनको निर्णय गरेका थिए । पाण्डे र तिम्सिनाले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङबाट पार्टीका लागि दानमा जग्गा लिने र भवन बनाउने विषयमा गम्भीर प्रश्न उठाएका थिए । उनीहरूलाई पुस २०८१ मा निलम्बन गरिएको थियो– पार्टी निर्णयप्रति सार्वजनिक रूपमा विरोध गरेको आरोपमा । र, ६ महिनापछि मात्रै त्यो निलम्बन फुकुवा भएको थियो ।
‘कमरेड ओलीलाई ऐतिहासिक अवसरहरू प्राप्त थियो, ती अवसरबाट पार्टी र राज्यलाई बलियो बनाउन सक्नुहुन्थ्यो, तर उहाँ चुक्नुभयो’, उषाकिरण तिम्सिना भन्छिन्, ‘उहाँ व्यक्तिगत इगो र बदलाको भावना लिएर पार्टीभित्र चल्नुभयो । आफू पोजिसनमा आउन अन्तरपार्टीको लोकतन्त्रको कुरा उठाउनुभयो । तर, पछि व्यक्तिकेन्द्रित भएर विधान बनाइयो, धेरै तजबिजी भयो । यसले व्यक्तिलाई बलियो बनायो, संगठन बलियो बनाएन । पार्टीले व्यक्ति चलाउनुपर्नेमा व्यक्तिले पार्टी चलाउनुभयो ।’
प्रश्नबाट उदाएका तर पार्टीभित्रै प्रश्नलाई स्थान नदिने ओली उत्तिकै शक्तिशाली मियो कहिलेसम्म बन्लान् ? के उनी नयाँ पुस्तालाई जोड्ने एक पुल बन्न सक्छन् ? आफ्नो सपना र संकल्पको यात्रामा उनी कति इमान्दार छन् ? अबको चुनावी नतिजाले नै ओलीको ‘पोलिटिकल करिअर’ र सम्पूर्ण एमाले पार्टीको राजनीतिक भविष्यको कथा भन्नेछ ।
