पार्टीहरूबीचनै यस्ता झडपका अवस्था आउनसक्ने भन्दै उनले सुरक्षाकर्मीहरुलाई यसबारे तयारी गर्न समेत निर्देशन दिइन्।
What you should know
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गरेकी छिन्।
चुनावी माहोल बुझ्न शनिबार लुम्बिनी प्रदेशको रुपन्देही पुगेकी उनले दलहरूबीचमै विभिन्न बाहानामा झडप हुने कुराले सुरक्षाको वातावरण बिग्रिने भन्दै सजक बन्नुपर्नेमा जोड दिइन्।
‘जिल्ला जिल्लाको समस्याहरु पनि यहाँ देखियो,’ कार्कीले भनिन्, ‘तराईतिर दुई/तीन वटा पार्टीहरू अलि बढी सक्रिय र उनीहरु प्रभावकारी छन्। त्यो पार्टी बीचमा कसले जित्ने कसले हार्ने त्यो बीचमा केही खेल गर्न खोज्नु र त्यसै झडपको रुपमा परिणत हुनु, त्यो त हामीले अब एउटा आशंका गर्ने ठाउँ भयो ।’
पार्टीहरूबीचनै यस्ता झडपका अवस्था आउनसक्ने भन्दै उनले सुरक्षाकर्मीहरुलाई यसबारे तयारी गर्न समेत निर्देशन दिइन्। ‘नहुन पनि सक्छ, हुन पनि सक्छ तर यो कुरालाई तयारी त हुनुपर्यो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अब हिजो एउटाको पार्टीको अर्कोले झण्डा जलायो भन्ने यस्ता कुरा पनि आएको छ। यस्तो किसिमको आउन सक्छ। तयारी हुनुपर्ने हो।’
उनले केही पार्टीले चुनाव बहिस्कारको कुरा गरेको भए पनि तिनीहरू एकदमै कमजोर रहेको र चुनावमा हार्ने डरले बहिस्कारको कुरा गरेको उल्लेख गरिन्।
‘मैले अध्ययन गरेअनुसार त्यति एउटा, दुई, चार, पाँच जनाको एउटा समूह छ, त्यो चुनाव लड्न पनि सक्दैन र जनतासँग भिजेको पनि छैन,’ कार्कीले भनिन्, ‘सबैलाई त दोष लाउन मिल्दैन। कसै कसैले यसो एक्स्टर्सनबाट पैसासैसा पनि उठाउने, पार्टीको अस्तित्व पनि देखाउन निर्वाचन लड्दिन भन्दिए पछि पुगि गयो, केही गर्न परेन। पार्टी जीवित पनि रही रहन्छ, पैसा उठी पनि रहन्छ। यो खालको प्रवृति देखियो ।’
‘कसैले मैले यो व्यापार गरेको छु, यो उद्योग गरेको छु पार्टीबाट भन्यो त्यसैलाई देखाइदियो, त्यो खालको देखिएको छ। तर पनि यसमा सतर्क त हुनुपर्छ,’ उनले थपिन्।
त्यस्तै प्रधानमन्त्री कार्कीले होली पर्व आउँदै गरेको र हिमाली क्षेत्र खासगरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरिन्।
