०७९ मा पनि यही क्षेत्रबाट एमालेसँग गठबन्धन गरेर चुनाव लडेका यादव पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।
What you should know
राजविराज — २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी–२ बाट निर्वाचित भएका तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जनता समाजवादी पार्टी नेपाल) नेपालका अध्यक्ष उपेन्द्र यादवले २१ हजार ६ सय २० मत ल्याए । गत निर्वाचनमा यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)सँग गठबन्धन गरेर चुनाव लडेका थिए ।
०७९ मा पनि उनी यही क्षेत्रबाट नेकपा एमालेसँग गठबन्धन गरेर चुनाव लडेका थिए । तर, पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतसँग चुनाव हारे ।
गठबन्धन विनै निर्वाचित भएका राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९ सय ७९ मत मात्रै ल्याउन सके । यहाँबाट चुनाव हारेका यादव ०८० मा भएको उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवार बने ।
त्यहाँ जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको थियो । पार्टीको भागमा परेको उपराष्ट्रपतिमा रामसहायप्रसादलाई पठाएर चुनाव लडेका उपेन्द्रलाई तत्कालीन सत्तारुढ गठबन्धन कांग्रेस तथा तत्कालीन माओवादी केन्द्र, नेकपा एस, लोसपासहितका दलले साथ दिएको थियो ।
त्यहाँबाट जितेर संसद प्रवेश पाएका उपेन्द्र एकपटक फेरि सप्तरी फर्किएका छन् । यसपटक उनी सप्तरी–३ बाट उम्मेदवार छन् । गत निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनको समर्थनमा चुनाव लडेका कांग्रेसका दिनेशकुमार यादवले २६ हजार १ सय ६६ मत ल्याएर जितेका थिए । त्यो बेला जसपा नेपालले एमालेका उम्मेदवार ताराकान्त चौधरीलाई समर्थन दिएको थियो ।
चौधरीले २२ हजार ३ सय मत ल्याउँदा जनमत पार्टीका अनिश अन्सारीले १५ हजार १ सय १४ मत ल्याएका थिए । यहाँका समानुपातिक मत हेर्दा सबैभन्दा धेरै मत जनमत पार्टीले ल्याएको थियो । जनमतले १८ हजार ३ सय ४० ल्याउँदा कांग्रेसले १८ हजार २ सय ४९ मत पाएको थियो ।
जसपा नेपालको १० हजार १ सय ५३ मत ल्याएको थियो । जसपा नेपालसँग एकता गरेको लोसपाको पनि १ हजार ६ सय ४६ समानुपातिक मत जोड्दा ११ हजार ७ सय ९९ पुग्छ । एमालेले ९ हजार ५ सय ९४, नागरिक उन्मुक्ति पार्टीले ३ हजार १ सय ८३, माओवादीले १ हजार ७ सय ३६, नेकपा एसले १ हजार २ सय २२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सय ५५ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २ सय ९८ मत ल्याएको थियो ।
०७४ मा भने तत्कालीन राजपाबाट चन्द्रकान्त चौधरी निर्वाचित भएका थिए । त्यो बेला उपेन्द्र नेतृत्वकै संघीय समाजवादी फोरम र राजपाबीचमा गठबन्धन हुँदा चौधरीले २२ हजार ४ सय ८४ मत पाएका थिए । यसपटक चन्द्रकान्तकै छोरा अमरकान्त चौधरी पनि रास्वपाबाट चुनावी मैदानमा छन् भने गत निर्वाचनमा जसपा नेपालले समर्थन गरेका ताराकान्त पनि उम्मेदवार छन् । ताराकान्त पनि चन्द्रकान्तका भाइ नै हुन् । गत निर्वाचनमा चुनाव जितेका दिनेशकुमार यसपटक पनि उम्मेदवार छन् ।
जनमत पार्टीबाट सुरेन्द्रप्रसाद शर्मा, नेपाली कम्युनिस्ट पार्टीबाट अरुणकुमार साह, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट गजेन्द्रकुमार मण्डलसहित २२ जना उम्मेदवार छन् । कूल १ लाख ११ हजार ८ सय ७१ जना मतदाता रहेको यहाँ शम्भुनाथ र डक्नेश्वरी नगरपालिका तथा रूपनी र विष्णुपुर गाउँपालिकाका ४१ वटा वडा पर्दछ । तीमध्ये लोसपालाई पनि जोड्दा जसपा नेपालले सबैभन्दा धेरै १४ वटा वडामा जितेको छ । कांग्रेसले १२, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ र एमालेले ७ वटा वडा जितेको छ ।
स्थानीय तहअनुसार हेर्दा यहाँका २ वटामा जसपा नेपालले नेतृत्व गरिरहेका छन् भने २ वटामा एमाले र एउटामा नेकपाले नेतृत्व गरिरहेका छन् । वडागत जसपा नेपाल नै बलियो देखिए पनि यहाँका मतदाता भने कठौना–पातो–फत्तेपुर–कटैया, गाईघाट–शम्भुनाथ–बनैनिया, रुपनी–सिम्राहा सिंग्यौन–फकिरा–बरदाही सडक निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारीका साथै राजनीतिमा पनि पुस्तान्तरण चाहिररहँदा उपेन्द्रको लागि शक्ति परीक्षण सावित हुने अनुमान गरिएको छ ।
