सप्तरी–४ मा विरासत जोगाउने र भत्काउनेको रस्साकस्सी

पुरानाले आफ्नो पकड कायम राख्नका लागि दौडधुप गरिरहेका छन्  भने नयाँले त्यसलाई भत्काउने कसरत गरिरहेका छन् ।

फाल्गुन ८, २०८२

विद्यानन्द राम

The tug-of-war between preserving and destroying heritage in Saptari-4

What you should know

राजविराज — सप्तरी–४ मा यसपटक अघिल्लो निर्वाचनको विरासत जोगाउन र भत्काउनका लागि उम्मेदवारबीच रस्साकस्सी चलिरहेको छ । यहाँ राजनीतिक दल र स्वतन्त्रका गरी २७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

उनीहरु चुनावी नतिजा आफ्नो पोल्टामा पार्न घरदैलोसँगै सामाजिक सञ्जालमार्फत पनि मतदाताको मन जित्न व्यस्त देखिन्छन् । 

पुरानाले आफ्नो पकड कायम राख्नका लागि दौडधुप गरिरहेका छन्  भने नयाँले त्यसलाई भत्काउने कसरत गरिरहेका छन् । यहाँ २०७० देखि ०७९ सम्म लगातार ३ पटक कांग्रेसबाट निर्वाचित भएका तेजुलाल चौधरी यसपटक पनि चुनावी दौडमा छन् । चौथो पटक लडेका चौधरीलाई आफ्नो र कांग्रेसको विरासत जोगाउने दबाब छ । उनी विगतझैं यसपटक पनि मतदाताको समस्या सुन्ने र आश्वासन बाँड्दै घरदैलोमा गइरहेका छन् ।

दोस्रो संविधानसभामा निर्वाचित भएका चौधरी ०७४ मा २४ हजार १ सय १३ मत ल्याएर निर्वाचित भएका थिए। ०७९ मा पनि २३ हजार ४ सय ९१ मत ल्याएर जितेका चौधरीलाई सघाउँदै आएका सिताराम साह भने यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार छन् । 

साह ०७४ मा कांग्रेसबाटै ४ (१) मा प्रदेशसभा सदस्य र ०७९ मा खडक नगरपालिकामा नगर प्रमुख लडेका थिए । प्रदेशसभा सदस्यमा ११ हजार ३ सय ९५ मत ल्याएका साह प्रतिद्वन्दी रहे । ०७९ मा पनि नगरप्रमुख लड्दा साहले ३ हजार ४ सय ३६ मत पाएर तेस्रो स्थानमा रहे । यसपटक रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि लडेका साह पनि चुनावी नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् । 

यहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालकी उम्मेदवार डा.बबी सिंह पनि टोल–टोलमा पुगेर आफ्ना मतदातालाई आकर्षित गर्ने प्रयासमा छन् । ०७९ मा पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ९ सय ७७ मत ल्याएर प्रतिद्वन्द्वी रहेकाले पनि उनी नतिजा आफ्नो पोल्टामा पार्ने अपेक्षा गरिरहेकी छन् । सिंह पूर्वमन्त्री तथा पूर्वराष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवकी छोरीसमेत हुन् । 

०७९ मा जनमत पार्टीका सुकदेवप्रसाद साहले पनि १२ हजार ९ सय २५ मत पाएका थिए । यसपटक जनमतले जितेन्द्रप्रसाद साहलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट रुबीकुमारी कर्ण, नेकपा एमालेबाट गंगाप्रसाद चौधरी, राष्ट्र निर्माण नेपालबाट मो.जाकिर अली, नागरिक उन्मुक्ति पार्टी नेपालबाट रामाकान्त चौधरी, उज्यालो नेपाल पार्टीबाट विशोकुमार यादवलगायतका उम्मेदवार छन् ।

यस क्षेत्रमा खडक, बोदेबरसाइन र सुरुङ्गा नगरपालिका तथा बलान बिहुल गाउँपालिका गरी ४ वटा स्थानीय तहका ३८ वटा वडा पर्छन् । यहाँ एकीकृत भइसकेको तत्कालीन लोसपा नेपाललाई पनि जोड्दा १३ वटा वडामा जसपा नेपालले जितेको छ । वडागत मत हेर्दा जसपा नेपालले ८ हजार ७ सय ५२ मत पाएको छ । 

तत्कालीन माओवादी केन्द्र र नेकपा एस एकीकृत भएर बनेको नेकपाले १० वटा वडामा जितेको छ । नेकपाले यहाँ ६ हजार १ सय २९ मत पाएको छ । कांग्रेसले पनि १० वटा वडामा जितेको छ । कांग्रेसले वडामा ६ हजार ९ सय ७९ मत पाउँदा ३ वटा वडा जितेको एमालले १ हजार ८ सय २६ मत पाएको छ । 

कूल २ वटा वडा जितेको जनमतले १ हजार २ सय २४ मत पाएको छ । ०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत हेर्दा यहाँ सबैभन्दा बढी जनमत पार्टीले १५ हजार १ सय २३ पाएको छ । जसपा नेपालले ११ हजार ७ सय ७५ तथा त्यसमा तत्कालीन लोसपाको ७ सय १९ मत जोड्दा १२ हजार ४ सय ९४ पुग्छ । 

कांग्रेसले ९ हजार ९ सय २३, तत्कालीन माओवादी केन्द्रले २ हजार २ सय ६४ र त्यसमा तत्कालीन नेकपा एसको ६ हजार ३ सय ३८ मत जोड्दा ८ हजार ५ सय २, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ३ सय ४ मत पाएको छ । एमालेले ४ हजार ४ सय १६, बहुजन शक्ति पार्टीले २ हजार ४ सय १६, रास्वपाले १ हजार १ सय १० मत पाएको देखिन्छ । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully